|

काठमाडौं : सरकारले पछिल्लो समयबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको छ। गत मंगलबारबाट निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट सञ्चालनमा आएका छन् भने सबैखाले व्यपार व्यवसाय बारअनुसार खोल्न दिइएको छ।

तर विद्यालय सञ्चालन गर्नेबारे केही निर्णय भएकाे छैन। वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएसँगै सबै शैक्षिक पठनपाठन बन्द भएको छ। पठनपाठन बन्द भएको करिब दुई महिना भएको छ।

भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्ने सम्भावना नभएपछि सरकारले वैकल्पिक विधिबाट विद्यालयहरूलाई पढाइ सुचारु राख्नु भनेको छ। तर यसको प्रभावकारिता देखिएको छैन।

झनै दुर्गम क्षेत्रमा वैकल्पिक विधिबाट पढाइ सञ्चालन हुन सकेको छैन। त्यसो त विद्यार्थी कहिलेबाट विद्यालय सञ्चालनमा आउने भनी आशा लिएर बसिरहेका छन्।

‘संक्रमण घट्दै गए साउनबाट सञ्चालन गर्दा उचित होला’

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी कोरोना संक्रमण घट्दै गए साउनबाट स्कुल सञ्चालन गर्दा उपयुक्त हुने ठान्छन्। 

भने, ‘स्वास्थ्य मन्त्रालयले एउटा नीति बनाएको छ, कुनै पनि जिल्लामा पाँच सयजना भन्दा बढी सक्रिय संक्रमित भएको अवस्थामा खतरा हुने भनेको छ, त्यसैले भौतिक रूपमा तुरुन्तै राजधानीलगायत देशका शहरी क्षेत्रमा भौतिक रूपमा तत्काल खोल्न गाह्रो हुन्छ, संक्रमित घट्दै गएमा साउन महिना लागेपछि विचार गर्न सकिएला।’

विद्यालय​ सञ्चालनबारे मन्त्रालय यसो भन्छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विद्यालय सञ्चालन विषयमा अन्योल छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रालयले नभई यो निर्णय कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले लिएपछि मात्रै भन्न सकिने बताए।

उनले भने, ‘विद्यालय सञ्चालनबारे हामी भन्न सक्दैनौँ, सिसिएमसीले निर्णय गरेपछि मात्रै उपत्यकाभित्र कहिलेबाट विद्यालय खुल्छ भनी जानकारी हुन्छ।’ उपत्यकामा मात्र नभई अहिले कतिपय बाहिर जिल्लामा पनि निषेधाज्ञा जारी छ।

हिमाली जिल्लालगायत बाहिरका हकमा जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिएमसी) ले निर्णय लिनुपर्ने बताए। ‘बाहिर जिल्लामा डिसिएमसी र स्थानीय तहले छलफल गरी जोखिम कम भएमा विद्यालय सञ्चालन गर्न सक्छन, यो निर्णय गर्ने जिम्मा उनीहरूलाई छ,’ शर्माले भने।

वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ। सोही दिनबाट सरकारले देशभर भर्ना अभियान पनि सञ्चालन गरेको छ। ‘अहिले पनि पठनपाठन बन्द छैन,’ प्रवक्ता शर्माले भने, ‘तत्कालका लागि वैकल्पिक माध्यमबाट सिकाइ सुचारु गरिएको छ।’

उनले अहिलेसम्म कति नयाँ विद्यार्थी भर्ना भए भन्ने जानकारी भने भर्ना अभियान सञ्चालन भएको एक महिनापछि मात्रै मन्त्रालयमा तथ्यांक आउने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.