|
फाइल फोटो

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्नका लागि कार्यक्रम अघि सारेको छ। नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो।

नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन्।

 नगरपालिका क्षेत्रमा पहाडी समुदायसँगै थारू समुदायको बसोवास छ। ‘पहाडी (डोट्याली) समुदायका लोक संस्कृतिका रूपमा रहेका सगुन, फाग, धुमारी, देउडा, राना थारू समुदायको होरी, चौधरी डगौरा समुदायको सखिया, माघीलगायत नृत्यसँगै प्रस्तुत गरिने लोकभाकाको मौलिकपन हराउँदै जान थालेपछि जगेर्ना गर्नका लागि नीति तथा कार्यक्रमै कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता गरेका छौं’ नगर प्रमुख दिलबहादुर ऐरले भने, ‘यसलाई कार्यान्वयन गर्छौं।’

पहाडी समुदायले शुभकार्यमा गाउने सुगन गीत, सामूहिक रुपमा गाउने लोकलय फाग हराउँदै जान थालेका छन्। परम्परागत कालदेखि मांगलिक कार्यक्रमहरुमा गाइने गीत पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण नगर्दा हराउँदै जान थालेको छ।

‘नयाँ पिढीले पुराना मौलिकता बोकेका गीतहरू सिक्ने उत्सुकता नदेखाउँदा हराउने अवस्थामा पुगेका छन्’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशन सिंह थापाले भने, ‘यिनै कुराहरुलाई मध्यनजर गर्दै जगेर्ना गर्नका लागि आउँदो आवमा कार्यक्रम सञ्चलनका लागि योजना बनाएका छौं।’

फागमा धार्मिक,पौराणिक, ऐतिहासिक तथा सामाजिक विषयवस्तु पाइन्छ। यसमा विशेष गरी देवी देवताको महिमा वर्णन गरिएको हुन्छ। देउडा यहाँका समुदायको मुख्य लोक संस्कृति संग जोडिएको भाका हो।

 देउडा गीतमा विभिन्न पक्षहरूलाई समावेश गरी गीत गायन गरिन्छ। जीवनमा आउने सुख दुःखका अनुभूति र मिलन बिछोडका पक्षसँगै राजनीतक व्यंग र समाजमा भएका नकारात्मक कुराहरूविरुद्ध चेतना छर्ने माध्यम  देउडा हो।

हाल यसको मौलिकपन हराउने क्रमसँगै विकृत रुपमा प्रस्तुत हुन थालेपछ यसलाई पुरानै अबस्थमा फर्काउनका लागि कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको छ।

‘राना थारु समुदाय विशिष्ट जातिका रुपमा रहेकाले पनि यस समुदायले गाउने परम्परागत लोक भाकाहरुको संरक्षण गर्न जरुरी छ’  वडा नं ६ का वडा अध्यक्ष जगता रानाले भने, ‘लोक संस्कृति नै राना समुदायको पहिचान हो। त्यसैले लोक भाकासँगै अर्को पहिचान बोकेको पहिरनलाई समेत जोगाउन जरुरी छ।’

 सजना, झमरा, माँगर, ढमार, डफ,सुर्खेल, लगनी, सजनी, उडासी, सिगरु, सखिया, मघौटा, अस्टिम्की गीत, पचरा, मैना, ढक्हेर गीत, विडेसियालगायत ऋतु गीत, पर्व गीत, स्तुति गीत, प्रहर–प्रहरमा गाइने विभिन्न सन्दर्भका गीतहरू मध्ये थोरै मात्र थारू समुदायको जनजिब्रोमा छन्।

‘परम्परागत यी लोकभाकाहरुलाई जीवन्त राख्नका लागि लिपिवद्ध गरिनु जरुरी छ’ वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘थोरै गीतहरु मात्रै हाल प्रचलनमा छन्। धेरै गीतहरुको मौलिकपन खस्कीदै जान थालेको छ। पुरानै स्वरूपमा ती गीतहरुको संरक्षण हुन जरुरी छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.