|

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी पनि बढेको छ। कांग्रेसका सबै जसो शीर्षस्थ नेताहरु सभापति बन्ने दौडमा छन्।सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिलगायत आठ शीर्ष नेताहरु सभापति बन्ने दौडमा छन्।

यद्यपि‚ युवापुस्ताले पनि पार्टीको नेतृत्व गर्नुपर्ने चर्चा चलिरहेको छ। तर‚ त्यसको अगुवाइ गर्ने हिम्मत कसले गर्ला भन्ने आम कार्यकर्तामा चासो र चर्चाको विषय बनेको छ। कांग्रेसको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न नेतृत्व हिचकिचाइरहेको छ। युवा नेताहरु आफ्नो चर्चा चलाएर पिता पुस्ताको छत्र छायाँ मात्रै खोजिरहेका देखिन्छन्। 

यसै पृष्ठभूमिमा एकजना केन्द्रीय सदस्य कल्याण गुरुङले चौधौं महाधिवेशनमा केन्द्रीय सभापति पदमा प्रतिस्पर्धा गर्ने उद्घोष गरेका छन्। कतिपयलाई गुरुङको यो घोषणा बार्गेनिङको टुल पनि भनेका छन्। तर‚ गुरुङ भने आफ्नो मिसनबाट पछि नहट्ने र यसबाट कुनै तलमाथि नगर्ने बताउँछन्। रेडियो थाहासञ्चारसँग कुरा गर्दै गुरुङले आफूले कुनै हालतमा पनि उम्मेदवारी फिर्ता नलिने बताएका छन्। चौधौं महाधिवेशनमा गुरुङको उम्मेदवारीबारे गरिएको कुराकानीको सम्पादित अंश : 

नयाँ महाधिवेशन प्रतिनिधिमा आश

म नेपाली कांग्रेसको सभापतिमा अन्तिम समयसम्म लड्छु। अहिले सबै उम्मेदवारहरू उम्मेदवारीको चरणमा हुनुहुन्छ। पार्टीको तल्लो तहका अधिवेशन हुन बाँकी छन्। वडा तहदेखि क्षेत्रीय तहसम्मको अधिवेशन हुँदा हाम्रो प्रतिनिधिसभा क्षेत्रको अधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुने प्रावधान रहेको छ। त्यसैले महाधिवेशन प्रतिनिधिको चुनाव हुनुपर्छ।

चुनाव भइसकेपछि मात्र 'रियल सिन' बाहिर आउँछ। अहिले सरसर्ती हेर्ने हो भने कांग्रेसको चौधौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूको संख्या हामीले विधान तहबाट बढाएका छौं। पहिले १२ जना हुन्थे भने अहिले २५ जना हरेक निर्वाचन क्षेत्रबाट आउने व्यवस्था छ। यसले के देखाउँछ भने कांग्रेसको १३औं महाधिवेशनको भन्दा चौधौंँ महाधिवेशनमा नयाँ महाधिवेशन प्रतिनिधिहरूको संख्या ५० प्रतिशतभन्दा बढी हुन्छ। 

चौधौं महाधिवेशमा भाग लिन आउने नयाँ प्रतिनिधिहरुले १३औं महाधिवेशनमा भाग लिनु भएको थिएन। नयाँ प्रतिनिधिहरू परिवर्तनको मनस्थिति देखिन्छ। उहाँहरूको चाहना सामान्य मान्छेले पार्टीको नेतृत्व गरोस्। देशको नेतृत्व गरोस्। त्यसैले मलाई के विश्वास छ भने महाधिवेशन प्रतिनिधिहरूले मलाई भोट हाल्नुभयो भने म निर्वाचित हुन सक्छु। 

नयाँ व्यक्तिले कांग्रेसलाई सुदृढ बनाउन सक्छ

अहिलेसम्म कस्तो देखिन्छ भने परम्परागत रूपमा जो व्यक्तिहरू ठूलो पदमा वा सत्तामा निरन्तर बसिरहनुभयो‚ उहाँहरूले ठूलो पदको दावा गर्ने कुरा स्वभाविक पनि देखिने।  तर‚ अन्य व्यक्तिहरू जसले अवसर नै पाएनन्। अवसर नपाएका व्यक्तिले कुनै पदको दावा गर्दा अस्वभाविक देखिने रहेछ।

उसलाई शंकाका रूपमा हेर्ने, भोलि यो निरन्तर रहन्छ कि रहँदैन भन्ने हेर्ने मनस्थिति देखिन्छ। हिजो संगठनको पदमा देखिने व्यक्तिमात्र होइन, पदमा नरहेका सामान्य व्यक्तिले संगठनको नेतृत्व लिन सक्छ। संगठनको नेतृत्व गरेर अझ लोकप्रिय बनाउन सक्छ। सुदृढ, विश्वासको केन्द्रबिन्दु बनाउन सक्छ र आउँदो निर्वाचनमा सबैभन्दा बढी सिट ल्याएर सरकार निर्माणको दिशातर्फ अगाडि बढाएर जनताको  सेवा गर्ने अवसर दिलाउन सक्छ भन्ने एउटा सन्देश दिन पनि जरुरी छ। 

मतदाता परिवर्तन चाहन्छन्

देशको नेतृत्व गर्नका लागि मन्त्री भइरहनुपर्ने वा मन्त्रीभन्दा माथिको पदमा बसिरहनु पर्ने भन्ने होइन। कुनै पदमा नबसेका व्यक्तिले पनि नेतृत्व गर्न सक्छन्। सामान्य व्यक्तिले नेतृत्व गर्दा समृद्ध नेपाल बन्न सक्छ। 

अहिलेसम्म हेर्दा लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ। संविधानत: नेपालमा ५-५ वर्षमा निर्वाचन हुन्छ भने कुनै देशमा ४ वर्षमा निर्वाचन हुन्छ त कतै २ वर्षमा निर्वाचन हुन्छ। आवधिक निर्वाचनको व्यवस्था किन गरेको भने अघिल्लो पटक निर्वाचनमा मतदाताले जसलाई मत हाले पछिल्लो पटक मतदाताले तिनै व्यक्ति वा दललाई मत हाल्छ भन्ने हुँदैन। मतदाताको मनस्थितिमा परिवर्तन हुन सक्छ। १३औं महाधिवेशनमा आम प्रतिनिधिहरूले ज-जसलाई निर्वाचित गर्नुभयो चौधौं महाधिवेशनमा पनि उहाँहरू नै निर्वाचित हुनुहुन्छ भन्ने सुनिश्चित गर्न सकिँदैन। किनभने उहाँहरूले नेतृत्वको मूल्यांकन गरिरहनुभएको हुन्छ।

म के देखिरहेको छु भने गत महाधिवेशनमा निर्वाचित हुनुभएका पदाधिकारी र सदस्यहरूले यदि राम्रो काम गर्नुभएको छ भने चाधौं महाधिवेशनमा उहाँहरूलाई पुरस्कृत गर्नुपर्छ। यदि काम चित्तबुझ्दो छैन भने त्यसलाई कसरी सुधार गरेर अगाडि बढ्नुपर्छ। 

युवाहरू सभापति लडेको कांग्रेसको इतिहास

अहिले कांग्रेसमा मात्र होइन नेपालका राजनीतिक दलमा पनि युवापुस्ताहरु कसैले मुख्य पदमा आफ्नो उम्मेदवारी दिएका छैनन्। कांग्रेसमा युवापुस्ता कसैले पनि सभापति कुनै उच्च नेतृत्वमा दावेदारी दिएका छैनन्। यद्यपि‚ केही वर्षअगाडिका महाधिवेशन हेर्ने हो भने अहिले नेतृत्वमा रहेका व्यक्तिले त्यसबेला शीर्षस्थ पदमा दावा गर्नुभएको थियो। त्यसबेला उहाँहरूको उमेर अहिले हाम्रो उमेरभन्दा कम थियो।

कांग्रेसमा हेर्नुभयो भने ३३ वर्षको उमेरमा बीपी कोइराला कार्यवाहक पार्टी सभापति हुनुभयो। ३६ वर्षको उमेरमा मातृकाप्रसाद कोइराला सभापति हुनुभयो। ३९ वर्षको उमेरमा बीपी सभापति हुनुभयो। ४० वर्षमा गणेशमान सिंह चुनाव लड्नुभयो। ४४ वर्षको उमेरमा सुवर्ण शमसेर सभापतिमा निर्वाचित हुनुभयो। अहिलेको स्थिति हेर्ने हो भने वर्तमान सभापति शेरबहादुर देउवा र वर्तमान वरिष्ठ नेता रामचन्द्र पौडेल त हाम्रो उमेरमा प्रधानमन्त्री र  सभामुख भइसक्नुभएको थियो। 

युवाहरूले चुनाव लडेका इतिहास कांग्रेसमा रहेका छ। दुई चार पटकदेखि महाधिवेशनमा एक किसिमको क्रम चलेको छ। यो क्रमलाई भंग गर्ने आवश्यकता छ। त्यो क्रम भंगताको लागि त्यो परिवर्तनका लागि मैले उम्मेदवारी दिने घोषणा गरेको छु। 

यथास्थिति वा परिवर्तन

अहिले दुईवटा अवस्था छ। एउटा अवस्था परिवर्तन हो। अर्को यथास्थितिबाट चल्ने अवस्था हुन्छ। यथास्थिति अहिले जुन देखिरहेको सजिलो बाटो हो। यथास्थितिमा रहिरहेको सत्तासँग यदि परिवर्तन चाहने हो भने यथास्थितिसँग संघर्ष गर्नुपर्छ। चाहे त्यो दल होस् या देशको होस्। 

त्यसैले पार्टीभित्रको महाधिवेशनमा यथास्थितिमा रहेको सत्ता या संघर्ष गरेर मात्र परिवर्तन आउन सक्छ। त्यसैले परिवर्तनका लागि गर्ने संघर्ष एउटा हुन्छ। अर्को अवसरका लागि गर्ने  संघर्ष हुन्छ। 

यदि नारा चाहिँ परिवर्तनको दिने अनि मेरो अवसर चाहिँ कहाँ  सुरक्षित हुन्छ भनेर पदीय अवसरको सुरक्षाको लागि परिवर्तनको एजेण्डा छोड्नुभयो भने मतदाताले भोट हाल्दैनन्। तर, अवसरलाई छोडेर परिवर्तनको एजेन्डालाई लिएर अगाडी बढ्ने पनि हुनुहुन्छ। पार्टीलाई महान् पार्टी बनाउनु छ भन्ने दृढ आत्मविश्वास राख्यो भने मतदाताले मत हाल्नुहुन्छ। यथास्थितिलाई स्विकार गर्ने या परिवर्तनलाई स्विकार गर्ने हो। अहिले मतदाताले परिवर्तन चाहन्छन्। 

विगतमा युवाका नारा

विगतका दिनमा केही व्यक्तिले  परिवर्तन, युवा तथा नयाँ पुस्ताको नारा दिएर ठगेका छन्। आफूले अवसर पाउने बित्तिकै सुटुक्क आफ्ना राजनीतिक भविष्य र नातेदारलाई  सुनिश्चित गर्न चुप लागेर बसे। तिनको कारणले अहिले पदका लागि मात्र उम्मेदवार दिएका हुन् कि भन्ने आशंका बढेको हो। कुनै पनि व्यक्तिले कुनै पनि पदको उम्मेदवारी दिँदा आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न बार्गेनिङ टुल्स बनाउनु हुँदैन। 

देशभर घुम्दा पाएका पाँच तथ्य

म देशभर घुम्दा मैले देखेका महाधिवेशन प्रतिनिधिहरू हेर्दा पाँचवटा तथ्य बुझ्ने मौका पाएँ। पहिलो राजनीतिक न्याय, दोस्रो राजनीतिक सुरक्षा, तेस्रो भनेको राजनीतिक अवसर हो। कांग्रेसमा लागेपछि समान र न्यायोचित तरिकाले वितरण हुनुपर्छ। एउटा व्यक्तिले सधैँभरि राजनितिक अवसर पाइरहने, एउटा परिवारले सधैं अवसर पाइरहने तर वर्षौंदेखि पार्टीमा काम गरिरहेका व्यक्तिले कुनै पनि अवसर नपाउने र उनीहरू अन्यायको सिकार भइरहने प्रवृति हट्नुपर्छ। 

चौथो भनेको सुदृढ नेपाली कांग्रेस हुनुपर्छ। पार्टीको सिद्धान्त र आदर्शलाई कायम गर्न सामान्य व्यक्ति नेतृत्वमा पुग्नुपर्छ। पाँचौं भनेको कांग्रेसलाई आउँदो चुनावमा कसरी जिताउने भन्ने हो। कांग्रेसलाई जिताएर जनताको जनभावना कसरी पुरा गर्ने भन्ने छ। निष्कर्षमा भन्दा देशभर घुम्दा देश र पार्टीको नेतृत्व सामान्य व्यक्तिले गर्नुपर्छ भन्ने मैले बुझेको छु। परिवर्तनको पक्षमा म उभिएको छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.