|

सुर्खेत : सुर्खेतमा व्यावसायिक किसानलाई आधुनिक कृषि उपकरण तथा औजार वितरण गरिएको छ। सुर्खेतको लेकवेशी–४ दशरथपुरमा व्यावसायिक कृषकहरूलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले लेकवेशी नगरपालिका–४ दशरथपुरका कृषकहरूलाई व्यावसायिक खेती गर्नका लागि मिनिटेलर प्रदान गरेकी हुन्।

सांसदको प्रत्यक्ष निगरानी तथा सिफारिसमा लागू हुने कार्यक्रम भएकोले मन्त्री नेपालीले आफ्नो क्षेत्रको कार्यक्रम यहाँ सञ्‍चालन गर्न सिफारिस गरेको बताइन्।

कृषकलाई सामग्री हस्तास्तरण गर्दै मन्त्री नेपालीले विपन्न समुदायको जीवनस्तर बदल्नका लागि सरकारले दलित तथा अति विपन्न समुदायका परिवारका लागि लक्षित वर्ग विशेष कार्यक्रम सञ्‍चान समेत गरेको जानकारी दिइन्।

कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्न प्रदेश सरकार लागेको बताउँदै मन्त्री नेपालीले अनुदानलाई सदुपयोग गर्न आग्रह गरिन्। सरकारी अनुदान लिएर काम नगर्ने तथा अनुदानलाई दुरुपयोग गर्ने गरेको पाइएमा कारबाही पनि गरिने पनि नेपालीले बताइन्।

सरकारको अनुदानलाई सदुपयोग गरेर आफ्नो लगानी बढाई आत्मनिर्भर बन्न कृषकहरुलाई आग्रह गरिन्।

दलित तथा अति विपन्नलाई कृषि औजार

त्यस्तै, कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७-०७८ को वार्षिक विकास कार्यक्रमअनुसार कर्णाली प्रदेशसभाका सदस्यहरुको प्रत्यक्ष निगरानी हुने गरी दलित अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत कृषि औजार वितरण गरिएको कृषि विकास निर्देशनालयका प्रमुख चित्रवहादुर रोकायाले बताए।

रोकायाका अनुसार प्रदेश सरकारको ७५ प्रतिशत र समुदायको २५ प्रतिशत लगानी हुने कार्यक्रम सञ्‍चालन गरिएको थियो। उक्त कार्यक्रमबाट दशरथपुरमा ७ हर्स पावरको १३ वटा मिनि टेलर, एक वटा रोटाभेटर तथा ५० हजारबराबरको तरकारीको बिउ वितरण गरिएको छ।

समुदायमा बसोबास गर्ने दलित तथा अति विपन्न परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्‍चालन गरिएको हो। यस  कार्यक्रमअन्तर्गत सम्बन्धित प्रदेश सांसदको सिफारिसमा सिञ्‍चाइ संरचना निर्माण, तरकारी खेतीका लागि प्लाष्टिक टनेल निर्माण, जमिन जोत्नका प्रयोग हुने मिनिटेलर तथा तरकारी खेती गर्नका लागि बजेटलाई कार्यान्वयन गरिएको कृषि विकास निर्देशनालयले जनाएको छ।

सुर्खेतका सांसदको एक करोड रकम कृषिमा खर्च

त्यस्तै, कृषि विकास निर्देशनालयका कार्यक्रम फोकल कृषि अधिकृत यामवहादुर रानाका अनुसार दलित तथा अति विपन्न समुदायका घरपरिवारका लागि कृषितर्फ सुर्खेतबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० जना प्रदेश सांसदको १० लाखका दरले एक करोड रकम कृषिमा खर्च गर्ने गरी विनियोजन भई आएको बताए।

कार्यक्रम सञ्‍चालन कार्यविधिको उद्देश्यअनुसार सांसदको सिफारिसमा सिञ्‍चाइ संरचना निर्माण तीनवटा, तरकारी खेतीका लागि पलाष्टिक टनेल निर्माण पाँच वटा, जमिन जोत्नका प्रयोग हुने मिनिटेलर तथा तरकारी खेतीका लागि एउटा कार्यक्रम संचालन गरिएको अधिकृत रानाले बताए।

कृषि अधिकृत रानाका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–५, लेखवेशी नगरपालिका–४, वीरेन्द्रनगर नगरपालिका–२, ४ र १३, बराहताल गाउँपालिका–६, ७ र १०, सिम्ता गाउँपालिका–७ र गुर्भाकोट नगरपालिका–५ वडाहरु छनोट भई कार्यक्रम कार्यान्वयन भइरहेको मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्षको बजेटमा प्रदेशसभाका प्रतिसांसदका लागि कृषि मन्त्रालयले कृषि मा १० लाख र पशुसेवातर्फ १० लाख विनियोजन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.