|

काठमाडौं : गण्डकी प्रदेश सरकार गठन भएको १५ दिनपछि विनाविभागीय मन्त्रीलाई दिने जिम्मेवारी टुंगो लागेको छ। 

नेकपा एमालेबाहेक सबै पार्टी मिलेर बनेको सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूले सपथ लिएकै दिन चारजनालाई विनाविभागीय मन्त्री बनाएका थिए।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका नेपालीले विश्वासको मत लिने बेला जसपालाई अर्थमन्त्री दिने सहमति गरेका थिए। तर अहिले सहमति कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेपछि उनले जसपाका मन्त्री हरिशरण आचार्यलाई उर्जा मन्त्रालय थमाएका छन्। 

यसमा आचार्य सन्तुष्ट छैनन्। उनी भन्छन् ‘मुख्यमन्त्रीले आफैंले गरेको लिखित सहमति कार्यान्वयन गर्न सक्नुभएन, हामीले चित्त बुझायौँ।’ आचार्यले आफूहरुलाई जुन मन्त्रालय दिन सकिन्छ त्यहि दिनुस् भन्दा मुख्यमन्त्रीले उर्जा मन्त्रालय दिन सकिने बताएको उल्लेख गरे।

‘हामी एउटा राजनीतिक मिसनका लागि आएका हौं। पद र प्रतिष्ठाका लागि आएका होइनौं। उनले थाहाखबरसँग भने, ‘हामी जनताको सेवा गर्न आएका हौँ। जहाँ बसेर जनताको सेवा अलि बढि गर्न सकिन्छ भन्या थियौँ, त्यो खालको वातावरण बन्न सकेन यसैमा चित्त बुझायौँ।’

परिस्थिती र घटनाक्रमले आफूलाई चित्त बुझाउने ठाँउमा पुर्याएको उनको भनाइ छ। उनले आफ्नो दलको भागमा २ वटा मन्त्रालय परेको उल्लेख गर्दै एउटाको कार्यविभाजन हुन बाँकी रहेको बताए।

गण्डकी प्रदेशमा जसपाको दुई जनामात्रै सांसद हुन्। सरकार बनाउन महत्वपूर्ण भूमिका हुने भएपछि जसपाले दुवै सांसदलाई मन्त्री बनाउनुपर्ने शर्त राखेको थियो। 
मुख्यमन्त्रीले मन्त्रीहरुलाई गरेको कार्यविभाजनको औपचारिक घोषणा आइतबार गर्ने तयारी गरेका छन्। 

उनले सरकारका प्रवक्ता रहेका मन्त्री कुमार खड्कालाई सामाजिक विकास मन्त्रालय, माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र स्वतन्त्र प्रदेशसभा सदस्य राजिव गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेका हुन्। 
 

माओवादी केन्द्रकी अधिकारी भन्छिन् : आधिकारिक जानकारी छैन

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएकी अधिकारीले आफुलाई मन्त्रालयको जिम्मेवारी दिइएको बारे आधिकारिक जानकारी नभएको बताईन्।

उनले सञ्चार माध्यमबाट सुचना पाएको उल्लेख गरिन्। यद्यपी उनले मन्त्रीपरिषद् विस्तारसम्बन्धी सबै निर्णयहरु भइनसकेको बताईन्। उनले अहिले आफुलाई तोकिएको मन्त्रालयको जिम्मेवारी पनि पक्का पक्की नभएको बताईन्।

'अहिले यो पनि फिक्स भएको छैन। मैले पदबहाली गरेको छैन्। पत्रपत्रिकामा त आएको छ। अहिले डिसिजन भएको छैन।' उनले थाहाखबरसँग भनिन्। अधिकारीले आफुले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताईन्। 

राजीव गुरुङलाई पुरानै जिम्मेवारी

सरकार बनाउन निर्णायक भूमिका खेलेका दीपक मनाङ्गे भनिने राजीव गुरुङले पनि यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी पेश गरेका थिए। तर उनलाई निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार हुँदा कै मन्त्रीको जिम्मेवारी तोकिएको छ।

नयाँ सरकार गठनका लागि गुरुङलाई अन्य चार दलहरूले आफ्नो गठबन्धनमा सामेल गर्न जरुरी ठानेपछि रोजेकै मन्त्रालय दिने निर्णय गरेका थिए ।

राजीवले अर्थ, भौतिक र गृह तीनमध्ये जुनसुकै मन्त्रालय पाए आफू गठबन्धनमा आउने बताएका थिए। अन्ततः गठबन्धनका दलहरूले मनाङ्गेलाई भौतिक मन्त्रालय दिने मौखिक सहमति गरेपछि मनाङ्गेले विपक्षी गठबन्धनलाई समर्थन गरेका थिए।

तर हाललाई उनले खेलकुद मन्त्रालय नै पाएका छन्। आफूलाई भौतिक र अर्थ मन्त्रालयको जिम्मेवारी नदिए मुख्यमन्त्री दिनुपर्ने तर्क उनले यसअघि नै गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.