|

काठमाडौं : आइतबार त्रिभुवन विश्वविद्यालय परिसरमा कोही विद्यार्थीको हातमा 'विश्वविद्यालयलाई ज्ञान उत्पादनको थलो बनाऊ, व्यापारको थलो होइन' भन्ने प्लाकार्ड थियो त कुनैको छातीमा टाँसिएको थियो, ‘त्रिविमा एमफिल, पीएचडी नियमित र नि:शुल्क गर।’

संयुक्त विद्यार्थी संगठन र एमफिलका विद्यार्थीले प्लेकार्ड बोक्दै विरोध प्रदर्शन गर्नुको कारण थियो- त्रिविले एमफिलको शुल्क बढाउनु। त्रिविले शिक्षामा व्यापार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिए। त्रिवि कार्यालयबाट नारा लगाउँदै उपकुलपतिको कार्यालयसम्म गएर विरोध प्रदर्शन गरे।  

एमफिल पढ्न लागेका विद्यार्थी सरु रिजालले गरिब विद्यार्थीले यति धेरै शुल्क तिरेर पढ्न नसक्ने भन्दै तत्काल नि:शुल्क पढ्ने वातावरण मिलाउन माग गरिन्। भनिन्,‘जनताका छोराछोरीले सर्वसुलभ पढ्न पाउनुपर्छ भन्ने हाम्रो माग हो, नहुन्जेलसम्म आन्दोलन जारी राख्छौँ, भर्ना हुन्नौँ।’

उनका अनुसार शुल्कबारे उपकुलपति कार्यालयमा उनीहरुले बुझेका थिए। तर त्रिविले शिक्षकलाई तलब दिन नसकेकाले शुल्क बढाएको जानकारी दिएको उनले सुनाइन्।

‘कुनै कोर्समा परिमार्जन छैन, नयाँ कार्यक्रम पनि छैन,’ उनले भनिन, ‘यति ठूलो विश्वविद्यालयले तलब दिन नसक्नु भन्ने कुरा लज्जास्पद छ।’

उनका अनुसार अहिले त्रिविले एमफिल तीन सेमेष्टरका लागि प्रतिविद्यार्थी एक लाख ८५ हजार शुल्क तोकेको छ। यस अघिसम्म एक लाख ३५ हजार शुल्क तोकिएको थियो। ‘एकैचोटि ५० हजार शुल्क बढ्यो, हामीजस्तो गरिबहरुले कसरी पढ्ने? पढ्न पाउने हाम्रो नि अधिकार छैन सरकार?,’आक्रोशित हुँदै रिजालले भनिन्।

एमफिल र पीएचडी हासिल गर्न कम शुल्क निर्धारण गर्नुपर्ने त्रिविमा पीएचडी अध्ययनरत रामप्रसाद बराल माग गर्छन्। ‘यति धेरै पैसा तिरेर खाडी मुलुक छिर्ने?,विश्वविद्यालयले कस्तो शिक्षा बनाउन खाेजेको?,भएको जग्गा जमिन बेच्दै लाखौं शिक्षामा खर्च गर्‍याैं, खै हामीले के ज्ञान पायौँ, १० बजेदेखि ४ बजेसम्म सकारी शिक्षकको ड्युटी छ, यो समयमा उहाँहरुले पढाउनुभएको हो, कसरी पैसा लाग्छ?,’उनले भने।

एमफिल र पीएचडी नि:शुल्क हुनुपर्ने उनको माग छ। भने, ‘विकसित देशहरुमा फ्री छ, तर यहाँ पैसा लिइरहेको छ, जग्गाजमिन बच्दै पढ्याैँ, तर खै कसले जागिर दियो?’ सरकारले नेपालमै जागिरको पनि सुनिश्चिता गर्नुपर्ने उनको माग छ।

विद्यार्थी नेता संघर्ष दाहालले शुल्क वृद्धि गरेर गरिब विद्यार्थीको ढाड सेक्ने काम गरेको बताए। भने, ‘त्रिविले गरिब विद्यार्थीलाई प्रवेश निषेध गर्नेगरी शिक्षा दिन लागेको छ,यस्तो हुन्न,सबै वर्गकालाई पढ्न पाउने वातावरण मिल्नुपर्छ, नि:शुल्क नगरे अझै कडा आन्दोलनमा उत्रिने छौँँ।’

उनका अनुसार एमफिल काेर्स ३५ जनाले पढ्न पाउँछन्। पाँच जनाले पीएचडी र बाँकी एमफिल पढ्न पाउँछन्। यसका लागि भर्ना हुने समय असार २२ गते सम्म छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.