अझै चार गुणा बढ्ने अनुमान

|

चितवन : चालु आर्थिक वर्ष सकिन लाग्दै छ। विकासे खर्च गर्ने सरकारी कार्यालय र स्थानीय तहहरू पुँजीगत बजेट खर्च गर्ने दबाबमा छन्। वर्षभरि हुन नसकेका काम असार लागेपछि मात्रै गर्ने प्रवृत्ति छ।

असारमै दैनिक करोडौँ रुपैयाँ पुँजीगत बजेट निकासा हुने गर्छ। चालु बजेटलाई प्रशासनिक, तलब, भत्ता र पुँजीगत बजेटलाई विकास बजेटका रुपमा लिइन्छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय(कोलेनिका) चितवनका अनुसार असार लागेपछि संघ र प्रदेशतर्फ गरी दैनिक औसत १० करोड बढी पुँजीगत बजेट निकासा हुने गरेको छ। यो रकम अझै चार गुणासम्म बढ्ने कार्यालयको अनुमान छ।

कार्यालयले असार २० गते चालु खाता र असार २४ गतेसम्म पुँजीगत खाता बन्द गर्छ। 

संघतर्फ अहिले दैनिक चालु १४ करोड ३६ लाख र पुँजीगत ८ करोड ६९ लाख बढी निकासा भइरहेको कोलेनिका चितवनका सूचना अधिकारी कोष नियन्त्रक शरद भट्टराईले बताए। प्रदेशतर्फ दैनिक चालु ३४ लाख ५२ हजार र पुँजीगत एक करोड ८१ लाख ५९ हजार रुपैयाँ निकासा भएको छ।

‘केही दिनमा चालु निकासा घट्छ र पुँजीगत बढ्छ’, उनी भन्छन्, ‘दुई/चार दिनपछि काम हुँदै जान्छ, बिलहरू भटाभट आउँछ। असार २० गतेपछि पुँजीगत बजेटको निकासा चार गुणासम्म बढ्न सक्ने सम्भावना हुन्छ।’ असार २४ गतेपछि विशेष परिस्थितीमा मात्रै पुँजीगत निकासा हुने उनले बताए।

कार्यक्रम र बजेट संशोधन भएको, अख्तियारी ढिलो पाएको, स्रोतान्तर र रकमान्तर भएको र सम्झौता अवधि यही महिनाको अन्तिममा सकिने अवस्थामा मात्रै असार ३० गतेसम्म पुँजीगत निकासा दिइने उनको भनाइ छ। ‘..त्यो पुष्टि हुने कागजपत्र र बिलहरू जाँचेर मात्रै असार २४ पछि असार ३० सम्मको अवधिमा निकासा दिने हो’, उनले भने। असार ३१ गते आउने बिलमा कुनै भुक्तानी नहुने उनले बताए।

कोलेनिका चितवनका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म पुँजीगत खर्च संघतर्फ ५५.७२ र प्रदेशतर्फ ४७.२९ प्रतिशत भएको छ। यही अवधिमा चालु खर्च भने संघतर्फ ७९.४५ प्रतिशत र प्रदेशतर्फ ६४.८८ प्रतिशत भएको छ।

चालु आवमा चितवनका लागि संघतर्फ ४ अर्ब ८० करोड ९७ लाख ३० हजार र प्रदेशतर्फ २ अर्ब ३५ करोड ४९ लाख ४२ हजार रुपैयाँ पुँजीगत बजेट प्राप्त भएको थियो।

चालु आवको ११ महिना सकिँदा संघको २ अर्ब ६८ करोड ८० हजार र प्रदेशको १ अर्ब ११ करोड ३५ लाख ४० हजार रुपैयाँ मात्रै पुँजीगत खर्च भएको हो। विकास खर्च बढी गर्नैपर्ने मध्ये संघअन्तर्गत सडक डिभिजन भरतपुरले ५०.९३ प्रतिशत खर्च गरेको छ। सडकले चालु आवको लागि १ अर्ब ८७ करोड ३० लाख २० हजार पुँजीगत बजेट पाएकोमा जेठ मसान्तसम्म ९५ करोड ३९ लाख ९९ हजार रुपैयाँ खर्च गरेको जनाएको छ।

त्यसैगरी सघन शहरी तथा भवन निर्माण आयोजनाले ६९.०१ प्रतिशत पुँजीगत खर्च गरेको छ। आयोजनाले १ अर्ब १५ करोड ९२ लाख ८० हजार पुँजीगत बजेट पाएकोमा ८० करोड ७५ हजार रुपैयाँ खर्च गरेको हो। 

विकास खर्च बढी गर्ने प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले ५२.५२ प्रतिशत पुँजीगत खर्च गरेको छ। यसले चालु आवका लागि १ अर्ब २८ करोड ८५ लाख ६१ हजार रुपैयाँ पुँजीगत बजेट पाएको थियो। जेठ मसान्तसम्म ६७ करोड ६७ लाख ६१ हजार रुपैयाँ खर्च गरेको छ।

त्यस्तै, चालु आवमा २३ करोड ५ लाख पुँजीगत बजेट पाएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जेठ मसान्तसम्म १३ करोड ७७ लाख २० हजार (५९.७५ प्रतिशत) खर्च गरेको कोलेनिकाले जनाएको छ।

स्थानीय तहको विकास खर्च न्यून

चितवनका ७ वटै स्थानीय तहहरूले आगामी आव ०७८/७९ को बजेट प्रस्तुत गरिसकेका छन्। असारको पहिलो हप्तासम्म पनि यहाँका स्थानीय तहको विकास खर्च भने एकदमै न्यून देखिएको छ।

स्थानीय तहमा यतिबेला विकास निर्माणका कामहरू पनि धमाधम भइरहेका छन्। चालु आवमा विनियोजित पुँजीगत बजेट खर्च गर्न स्थानीय तहहरूलाई हम्मेहम्मे परेको छ। जिल्लाको एक मात्र महानगर भरतपुर महानगरपालिकाले चालु आव ०७७/७८ को असार पहिलो सातासम्म पुँजीगत ३९ प्रतिशत र चालु ६२.४ प्रतिशत खर्च गरेको छ।

भरतपुर महानगरले यस आवमा पुँजीगततर्फ २ अर्ब ९४ करोड २९ लाख ७८ हजार विनियोजन गरेकोमा असार पहिलो हप्तासम्म १ अर्ब १४ करोड १४ लाख ६८ हजार र चालुतर्फ १ अर्ब ८९ करोड ७३ लाख ५ हजार विनियोजन गरेकोमा १ अर्ब १८ करोड ४२ लाख ३३ हजार रुपैयाँ खर्च गरेको छ। 

माडी नगरपालिकाले यस आवको चालु शीर्षकमा ५६ करोड २२ लाख ९५ हजार विनियोजन गरेकोमा असार पहिलो हप्तासम्म ३८ करोड ७० लाख ३४ हजार १९२ अर्थात्  ६८.८३ प्रतिशत र पुँजीगत शीर्षकमा ४६ करोड १५ लाख २० हजार विनियोजन गरेकोमा ११ करोड ६१ लाख १० हजार ३७६ अर्थात् २५.१६ प्रतिशत मात्रै खर्च गरेको छ।

कालिका नगरपालिकाले जेठ मसान्तसम्म पुँजीगत तर्फ ७२ करोड ६० लाखमध्ये ३० करोड ९७ लाख अर्थात् ४२.६६ प्रतिशत र चालुतर्फ ४० करोड ७२ लाखमध्ये २८ करोड ६३ लाख अर्थात् ७०.३१ प्रतिशत खर्च गरेको छ। 

खैरहनी नगरपालिकाले चालुको आवको जेठ मसान्तसम्म पुँजीगततर्फ ५१.२२ प्रतिशत र चालुतर्फ ५० प्रतिशत खर्च भएको नगरपालिकाका लेखा अधिकृत केशव हुमागाईले बताए।

पुँजीगत बजेटको लागि अनुमान गरिएको भन्दा प्रदेश र केन्द्रबाट कम बजेट आएकाले चालु भन्दा पुँजीगत केहि बढी देखिएको उनले बताए।

रत्ननगर नगरपालिकाले जेठ मसान्तसम्म पुँजीगततर्फ ४४.८८ प्रतिशत र चालुतर्फ ६८.५६ प्रतिशत खर्च गरेको छ। राप्ती नगरपालिकाले चालु आवको जेठ मसान्तसम्म पुँजीगत ४९.०४ प्रतिशत र चालु ६४ प्रतिशत खर्च गरेको नगरपालिकाका सूचना अधिकारी मुक्ति पौडेलले बताए। 

इच्छाकामना गाउँपालिकाले असार दोस्रो सातासम्म ४२.४६ प्रतिशत पुँजीगत र ५६.५३ प्रतिशत चालु खर्च गरेको छ। गाउँपालिकाले चालु बजेट ३८ करोड ७९ लाख ५४ हजार मध्ये २१ करोड ९३ लाख १९ हजार र पुँजीगत बजेट २७ करोड ८० लाख ६१ हजारमध्ये ११ करोड ८० लाख ७० हजार रुपैयाँ खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.