|

सुर्खेत : गत असार ११ गते दिउँसो २ बजेपछि सुरु भएर १५ मिनेटमै स्थगित कर्णाली प्रदेशसभा बैठक आज (आइतबार) पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको छ। 

असार ११ गते (शुक्रबार) जस्तै आज पनि प्रदेशसभा बैठकको कार्यसूचीमा प्रवेश गर्न नै नदिएर रोष्ट्रममै करिब ४ मिनेट उभिएर एमालेले बैठक अवरुद्ध गरेको हो। 

कर्णाली प्रदेशको गत जेठ २४ गतेबाट वर्षे अधिवेशन सुरु भएयता 'फ्लोर क्रस' गर्ने कर्णाली चार सांसद बैठकमा सहभागी भएका थिएनन्। तर गत असार १ गते फ्लोर क्रस गर्ने एक सांसद प्रकाश ज्वाला बैठकमा सहभागी भएका थिए।

आज भने एक महिनाका लागि निलम्बन गरिएका दुई जना मन्त्री प्रदेश सभाको बैठकमा सहभागी भएका थिए। ती मन्त्रीहरू बैठकमा सहभागी भएको भन्दै एमालेले आठौँ अधिवेशनको १३ औँ बैठक पनि अवरुद्ध गरको हो।

त्यस्तै कर्णाली प्रदेश सरकारमा सहभागी एमालेबाट दुई मन्त्री भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री आजको बैठकमा सहभागी भएका हुन्।

उक्त सरकारमा रहेका एमालेका दुवै जना मन्त्री आजको बैठकमा सत्ता पक्षको सिटमा बसेका थिए। एमाले संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै रोष्ट्रममा उठेर सभामुखले रुलिङ गरेअनुरुप व्यवस्थाको आसन व्यवस्था नभएको प्रति आपत्तिसमेत जनाए।

उनले भने,‘प्रदेशसभामा निर्दलीय व्यवस्था कायम गर्न खोजिएको छ। संवैधानिक व्यवस्थाविपरीत, सर्वोच्च अदालतको फैसलाविपरीत स्वयं सभामुखले सभालाई जानकारी दिनुभएको व्यवस्थाविरुद्ध बढ्ने प्रयत्न गरिएको छ।’

'सभाभित्रको शासन व्यवस्था भनिदिने कुरा हो कि कायम गर्ने कुरा हो?', उनले प्रश्नसमेत गरे। भने, 'एमालेभित्र कति भाग पर्छ त्यो बोक्न तयार भएको भन्दै उनले जिम्मेवारीले कानुन मान्नुपर्दैन भने धेरै केही कुरा भन्नु छैन,' संविधानविपरीत चल्ने कुराको समर्थन गर्न नसकिने कँडेलले बताए। 

कँडेलले रोष्ट्रममै उभिएर करिब २० मिनेटभन्दा धेरै बोलेका थिए। उनले बोलेपछि एमालेका सहभागी सबै सांसद रोष्ट्रममै उभिएपछि सभामुख राजबहादुर शाहीले प्रतिपक्षलाई पटकपटक बसेर सदन चलाउने सहयोग गरिदिन आग्रह गरेका थिए। तर सभामुखकको भनाइलाई एमालेले अटेरी गर्दै प्रदेश सभा नै अवरुद्ध पारेको हो।

सभामुखले प्रतिपक्षले राखेको विषय संवेदनशील विषय भएको र उक्त विषय एमाले दलको आफ्नै भएकाले सभाको विषय नबनाउन भनेर आग्रह गरे। तर, एमालेले अटेरी गरिरह्यो।

एमालेले सभामुखले भनेको नमान्ने र सभाको मर्यादा पालनाको उल्लंघन गर्दै आएको छ। यसले गर्दा कर्णालीमा एमालेबीच किचलो दिनप्रति दिन बढ्दै गएको प्रस्ट देखिएको छ।

प्रदेशसभामा बैठक एमालेले अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले असार १८ गते (शुक्रबार) दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.