अन्तत: प्रहरीले लियो उजुरी , छोराको भिडियोबाट खुल्यो रहस्य

|

जनकपुरधाम : महोत्तरीमा २५ दिनदेखि बेपत्ता महिलाको शव हत्या गाडिएको अवस्थामा फेला परेको छ। 

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ बस्ने मुकेश ठाकुरकी श्रीमती २६ वर्षीया सुजिता ठाकुरको शव खेतमा गाडिएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको हो।

लामो समयदेखि बेपत्ता सुजिताको दाइजोकै कारणले परिवारले हत्या गरेर शव गायब गरेको माइती पक्षले आरोप लगाउँदै आएको थियो। यद्यपि घर पक्षले सुजिता अर्कै केटासँग भागेको बताउँदै आएको थियो।

प्रहरीले खोजी गर्ने क्रममा घरदेखि करिब एक किलोमिटर दूरीमा रहेको ठाकुर परिवारको खेतमा गाडेको शव निकालिएको हो। केही वर्षअघि पनि सुजितालाई परिवारजनले हत्या गर्ने प्रयास गरेका स्थानीयले बताएका छन्। 

सुजिता हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान् मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई नियन्त्रणमा लिएको छ भने ससुरा पतिराम भने अझै फरार रहेका प्रहरीले जनाएको छ। सुजिताका ९ वर्षकी छोरी ५ वर्षका छोरा छन्। 

यसरी पत्ता लाग्यो हत्याको रहस्य

महोत्तरी भमरपुराकी सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन्। घर पक्षले सुजिता कोही अर्कै केटासँग भागेको बताउँदै आएका थिए। तर माइत पक्षले सुजिताको हत्या परिवारले गरेर लास गायब पारेको आरोप लगाउँदै आएको थियो। 

सुजिताका बुवा कामेश्वर पाण्डेले छोरी बेपत्ता भएको र हत्या आशंका गर्दै खोजिदिन भन्दै उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेको बताए। बुवा कामेश्वरले भने, ‘प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि महिला सेलमा निवेदन दिएर आएँ।’ उनले तर प्रहरीले चासो लिएर अनुसन्धान नगरेको गुनासो गरे।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको सुजिताका भाइ जितेन्द्र पाण्डेले सामाजिक संजालमार्फत यस घटना उजागर गर्दै घर पक्षले नै दिदीको हत्या गरी आफ्नै खेतमा गाडेको आरोप लगाए। सुजिताका पाँच वर्षीय छोराको एउटा भिडियो पनि सार्वजनिक गरियो। त्यो भिडियोमा ती बालकले आमाको हत्या हजुरबुवा, बुवा र काकाले गरेको बताएका छन्। 

प्रहरीले सुजिताको खोजतलासमा कुनै चासो नदिएपछि साउदीबाट नै भाइ जितेन्द्रले जनकपुरका चर्चित सामाजिक अभियन्ता सरोज रायलाई सहयोगका लागि आग्रह गरेका थिए।

सरोज राय त्यही अभियन्ता हुन्, जसले साउदीमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई ब्लडमनि व्यवस्थापन गरी नेपाल फर्काउन सफल भएका थिए। 

अभियन्ता रायले घटनाबारे थप बुझ्न शुक्रबार सुजिताका माइती रतौली गाउँ पुगेका थिए। उनले सुजिताका बुवा कामेश्वर, आमा र दुई कान्छा भाइ आकाश र शिवमलाई भेटेर घटनाबारे जानकारी लिएका थिए।

त्यसपछि शनिबार अभियन्ता रायले प्रदेश न. २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेका थिए। यस घटनाबारे ध्यानाकर्षण गराए। अभियन्ता रायले यस घटनाको उठान गरेपछि प्रहरी पनि खोजी गर्न बाध्य भएको थियो। शनिबार केही प्रहरी आएर पीडित पक्षले लगाएको बताए अनुसार सुजिताको शव गाडेको ठाउँको निरीक्षण गरेको थियो। 

अभियन्ता रायको भनाइअनुसार यो जघन्य अपराधको मामिला हो, एकदम ओपन केस हो। 'यति प्रमाण भएर पनि दोषीलाई सजाय भएन भने प्रहरी प्रशासनबाट सबैको विश्वास उठ्नेछ। यदि जिल्ला प्रहरीले निष्पक्ष अनुसन्धान गरेन भन्ने हामी अन्य निकायसमक्ष जान्छौं, तर यस घटनालाई ढाकछोप गर्न दिँदैनौँ,' रायले भने।

घटनाबारे सुजिताको बुवा कामेश्वर पाण्डेले दिएको जानकारी उनकै भाषामा जस्ताको त्यस्तै

घटना २५ दिन पहिला जेष्ठ २० गते हो। बिहान करिब आठ बजे सुजिताले मलाई फोन गरेर कस्तो घरमा बिहे गराइदिएको भनेर रिस पोखेकी थिइन्। फोनमा कुरा भइरहँदा पछाडिबाट झगडाको पनि आवाज आइराखेको थियो। केही बेरपछि सुजिताको देवर रुपेश ठाकुरले पनि फोन गरेर मलाई तुरुन्त भमरपुरा आउन भन्यो।

म जाने तरखर मै थिएँ कि फेरि रुपेशको फोन आयो र उनले आउनु पर्दैन झगडा शान्त भयो भन्यो। त्यस दिन सुजितासँग भेट्न हामी कोही गएनौं। भोलिपल्ट सुजिताको मोबाइलमा पटक पटक फोन गर्दा स्विच अफ भनि रह्यो। पछि देवर रुपेशको मोबाइलमा फोन गर्दा पनि उनले उठाएनन्। आधी घण्टापछि रुपेशले आफैं फोन गरेर सुजीताले कोठामा ताल्चा लगाई घर छोडेर भागेको जानकारी दियो।

तर रातिसम्म पनि छोरीसँग कुरा नभएपछि अर्को दिन बिहान आठ बजे सुजिताको हामी बुढा बुढी (सुजिताको बुवा र आमा) भमरपुरा पुग्याैं। रतौलीबाट भमरपुरा मोटर बाटो नजिकै भएकोले दश मिनेटमा पुग्याैं। सुजिताको कोठामा लागेको ताल्चा फोड्न लगाएँ। सुजिताको कपडादेखि सबै समान यथावत थियो। दराजमा गरगहना पनि यथावत् देखें अनि मलाई मनमा शंका जन्मिन थाल्यो। तर घरपक्षले लगातार सुजिता घर छोडेर अर्कै केटासँग भागेको मात्र भनिराखे।

दश वर्ष पहिला सुजिताको बिहे पतिराम ठाकुरको जेठा छोरा मुकेशसँग भएको थियो। यस अगाडि करिब १४–१५ महिना पहिले सुजितालाई ससुरा, सासू, श्रीमान् र देवर सबैजना मिलेर कुटपिट गर्दा सुजिताको आँखामा चोट लागेको थियो। उपचारपछि जलेश्वर अस्पतालमा गराएर प्रहरीमा समेतमा उनले निवेदनसमेत दिएकी थिइन्। पछि श्रीमान् र देवरले आइन्दा कुटपिट नगर्ने लिखित शर्त गरेर प्रहरीले छोडेको थियो।

सुजिताका बुवा कामेश्वर पाण्डे थप्छन्-

त्यहीबीचमा सुजिताको चिनजान कतारमा कार्यरत पिपरा गाउँपालिका अलिपट्टी निवासी विजय मुखियासँग सामाजिक संजालमार्फत भएको थियो। बीचबीचमा विजयसँग सुजिताको कुराकानी फोनमार्फत भइरहन्थ्यो। चार–पाँच महिना पहिला विजय कतारबाट गाउँ फर्केका थिए। सुजिता आफ्नो माइती आउँदा विजयसँग एकपल्ट भेटघाट पनि भएको थियो।

घटनाको एक दिन अगाडि मात्र सुजिता आफ्नी आमासँग जनकपुर किनमेल गर्न गएकी थिइन् तर घरमा कुनै पनि विवादबारे चर्चा गरिनन्।

बारम्बार घर पक्षले विजयसँग भागेको आरोप लगाएपछि सुजिताको बुवाले नै प्रहरीमा निवेदन दिएर विजयलाई पक्राउ गर्न लगाए तर दिनभरिको सोधपुछ पछि विजयलाई सात दिनसम्म गाउँ नछोड्ने सर्तमा रिहा गरिएको थियो। त्यसपछि माइती पक्षको शंका झन् गहिरो हुन् थालेको थियो। 

घटना भएकै दिन सुजिताका ९ वर्षीय छोरी आँचल र ५ वर्षीय छोरा रौनक दुवैलाई घर पक्षले जनकपुर बस्दै आएका फुपू अन्जु ठाकुर कहाँ पठाइदिएका थिए। र अर्को दिन फेरि फर्काएर ल्याएका थिए। घटनाको केही दिनपछि सुजिताको छोरा रौनक रतौली आएका थिए।

सुजिताको आमा र छोरा रौनकले आपसमा कुरा गरेको एक भिडियो भाइ जितेन्द्रले सार्वजनिक गरे। जसमा रौनकले आमालाई मारेको, जिउमा टेप बाँधेर घाँटी रेटेको, शवलाई फ्रिजमा राखेको पोल खोलेका छन्।

यो भिडियो जितेन्द्रले फेसबुकमा राखेपछि ससुराली पक्षमा चिसो पस्न सुरु भयो।

त्यही बीचमा कसैले फोनबाट सुजिताका बुवालाई जानकारी गराएका थिए। घरपक्षले आफ्नो खेतमा ७–८ फिट गहिरो खाल्डो खनेको थियो, जो अहिले माटोले पुरेर माथिबाट घाँसले छोपिएको छ। सुजिताको शव त्यहीँ गाडिएको थियो। 

यता सुजिताका भाइ जितेन्द्रले लगातार सामाजिक संजालमा सबै कुरा पोस्ट गरिराखेका थिए। जसबाट ससुराली पक्ष पनि त्रसित भइसकेका थिए।

त्यसपछि सुजिताका ससुरा पतिरामले कुरा मिलाउन कामेश्वरलाई बारम्बार दवाब दिन थाले। जाने गइसक्यो, अब नाति–नातिनीको जीवन बनाउनुस भनेर कामेश्वरलाई मनाउन पतिरामले पटकपटक प्रयास गरेका सुजिताका बुवा पाण्डे बताउँछन्।

त्यही बीचमा जितेन्द्र र रुपेशबीच फोनमा कुराकानी भयो। जसमा जितेन्द्रले दिदीको अन्तिम संस्कार जसरी पनि गर्नुपर्छ। त्यसैले शवलाई गाडेको ठाउँबाट निकाल्न रुपेशलाई अनुरोध गरेका र रुपेशले यस्तो अवस्थामा शवलाई निकाले झन् बबाल हुन्छ भन्दै गरेको सुन्न पाइन्छ।

दिदीको हत्या नै भएको प्रमाणहरू अगाडि आउन थालेपछि जितेन्द्रले साउदीबाट नै बुवालाई दिदीका ससुरा पतिरामलाई कुनै दबाबमा नआई प्रहरीमा मुद्दा दर्ता गर्न बारम्बार भनेका थिए। 

असार ७ गते माइतपक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन गएका पनि थिए। तर एसपीले दर्ता गर्न मानेनन्, हार मानेर महिला सेलमा निवेदन दिएर फर्के। जबकि एसपीलाई सबै प्रमाण वारे जानकारी गराउँदा पनि चासोको साथ अनुसन्धान नभएको आरोप पीडित पक्षको रहेको छ।

यसैबीच सुजिता ठाकुरको हत्या भएको भनिएको विषयमा मधेसी आयोगले समेत चासो लियो। आयोग अध्यक्ष डा. विजयकुमार दत्तले आयोगमा दर्ता भएको उजुरीका विषयमा आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

अध्यक्ष दत्तले घटनाका विषयमा महोत्तरीका प्रहरी प्रमुखलाई टेलिफोन सम्पर्क गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन निर्देशन दिए।

आयोगले पनि आफ्नो तर्फबाट कारबाहीका प्रक्रिया अगाडि बढाइएको जानकारी अध्यक्ष दत्तले दिए। घटनालाई मधेसी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरी अगाडि बढ्ने उनले बताए।

आयोगले यस्ता घटनाका सम्बन्धमा नजिकको प्रहरी चौकी वा आयोगको हेल्पलाइन ११५२ वा टोल फ्री १६६००११६१८५ मा सम्पर्क गरी उजुरी टिपाउन आयोगले निरन्तर आग्रह गर्दै आएको छ।

अनि बल्ल प्रहरीले शव गाडिएको ठाउँको उत्खनन गरे। 

यसरी विभिन्न ठाउँबाट प्रहरीलाई दबाब र घटनाबारे प्रमाणहरू बाहिर आउन थालेपछि प्रहरीले आज आइतबार बल्ल शव गाडिएको ठाउँको उत्खनन गरेर शव फेला पारेको छ।

सुजितादेवी ठाकुरको शव माइती पक्षको सहयोगमा प्रहरीले फेला पारेको हो। केही गाउँकै मानिसले खेतमा खाल्डो खनिएको देखेपछि शव गाडिएको हुन सक्ने आशंका गरेको उनले बताए। उनले आफ्नो छोरीको शव गाडेर माथिबाट धानको बिउ राखेको बताए।

माइती पक्षकै जिद्दीपछि प्रहरीले शव गाडिएको शंकास्पद ठाउँमा खनेर हेर्दा फेला परेको हो।

खेतमा करिब ६ फिट खाल्डो खनेर शव गाडिएको अवस्थामा फेला परेको छ। शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ। तर थप जाँचका लागि शव अन्यत्र पठाउन सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए। 

यो पनि पढ्नुहोस्

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.