आफन्तबाटै हेला, आफ्नै घरमा बास नपाएको पीडा

|

काभ्रे : देशमा कोरोना भाइरसको दोस्रो लहर चलिरहेको छ। यसको नियन्त्रण तथा रोकथामको लागि भन्दै अन्य जिल्लामा झैँ काभ्रेमा पनि निषेधाज्ञा जारी छ। अत्यावश्यक सेवाबाहेक सबै बन्द छ।

निषेधाज्ञाको कारण पेसाबाट बञ्चित धेरै पेसा र व्यवसायीसमेत मर्कामा परेका छन् भने अपाङ्गहरुलाई दिन झनै कष्टकर छ। त्यसमा पनि सहाराविहीन तथा आफ्नै मिहिनेतबाट बाच्नु पर्ने, दुवै आँखा देख्न नसक्ने मानिसको दिनचर्या कस्तो होला?  यही अवस्था भोग्दै बाध्य छन् काभ्रे बनेपाका दृष्टिविहीन कृष्णमान तामाङ।

बनेपाको लायुक नजिकैको नेत्रहीन संघको अफिससँगै जोडिएको पुरानो घरको एक कोठामा निराश भेटिएको तामाङको एउटै कामना छ,  निषेधाज्ञा छिट्टै खुलोस् र काममा फर्किन पाइयोस्। बनेपाको फुटपाथमा नाङ्ले पसल राखेर गुजारा चलाउँदै आएका उनी निषेधाज्ञासँगै कोठामा थुनिएका छन्। कोरोना निषेधाज्ञाले आफू मारमा परेको बताउने उनले गहभरी आँशु कापेको स्वरमा दृष्टिविहीन जीवनका अनेक मर्मिक पीडा र भोगाइहरू सुनाए।

मनको पीडा मनमै रह्यो

हजुर, बाँड्ने कोही भएन

दिलको घाउ दिलमै पाक्यो

मलम लगाउन कोही आएन

चोट र खोटको यो जीवनले

दुखा खानु खाएँ, पाउनु कष्ट पाएँ।

यी भावनाले इंकित गर्छन् कृष्णमानको जिन्दगीलाई। उनले बाँच्नकै लागि बाल्यकालदेखि गरेको संघर्ष सुन्दा मन रसाउँथ्यो। अनि उनको आँट र साहस देख्दा गर्भ लाग्थो। पीडामय जीवन जिउन कसलाई रहर लाग्छ र? तैपनि संसार हेर्ने दुवै आँखा गुमाउनु परेका उनी पीडा, दुःख, कष्टकर जीवन जिउन र भोग्न विवश छन्।

वि.स. २०१३ सालमा काभ्रेको चौरीदेउराली गाउँपालिका–८ घिसिङटोलमा गरिब किसान परिवारमा जन्मिएका रहेछन् कृष्णमान। उनको ५ वर्षको उमेरमै एउटा त्रुटिले दुष्टि गुमेछ। उनलाई आफन्तले सुनाएनुसार अशिक्षाको कारण दादुराको जडीबुडी औषधि आँखामा हाल्दा निको हुनुको साटो दुवै आँखाको ज्योति गुमाउन पुगेका रहेछन्।

आँखाको ज्योति गुमाएपछि बेसहारा बन्न पुगेका कृष्णामान उज्यालो देख्ने सपनामा ०३५ सालमा काठमाडौंको तिलगंगा अस्पताल पुग्यो। तर डा. सन्दुग रोइतको टोलीले आँखाको मोतिबिन्दु फुटेकाले उपचार सम्भव नहुने बताएपछि उनको संसार हेर्ने चाहनाले बिट मायो। उनी विगत ६० वर्षदेखि कष्टकर दृष्टिविहीन जीवन बिताइरहेका छन्। उमेरले ६५ वर्षमा टेकेको तामाङ जति रोए, कराए पनि एक पेटलाई सन्तुष्ट पार्नकै लागि कठोर संघर्ष गर्न बाध्य छन्।

उमेर ढल्किँदै गर्दा सधैँ हिड्ने बाटो पनि भुल्ने बताउने तामाङ चिसो भुइँमा बसेर सामान बेच्नु रहर नभई बाध्यता भएको सुनाउँछन्। ‘बेलुका ७ बजे सुतेर बिहान ४ बजे उठी पसल राख्न फुटपाथमा पुग्थे। यहीबाट कमाइएको ३-४ सय रुपैयाँले गुजारा चलिरहेकै थियो,’ मलीन स्वरमा उनले भने, ‘तर निषेधाज्ञाले गाँसको स्रोत नै बन्द गरिदियो। गरिखाने पेशा बन्द भएपछि कति दिन त भोक–भोकै बिताएको छु।’

कृष्णमान राहत खोज्न कतै जान सक्दैनन्। राहत बाँड्नेले कोठामा नै पुर्‍याउन आउने चामल, दालले छाक टार्दै आएको उनको भनाइ छ। दृष्टिविहीन भत्ता ४-४ महिनामा आए पनि त्यसले मात्रै दैनिक गुजार चलाउन गाह्रो भएको उनी बताउँछन्। ‘यो बन्द खुलेता अलिअलि समान बचेर पनि छाक टार्थे। खोल्दैनन् बढाइरहेको मात्र सुन्छु,’ उनले भने, रोगले भन्दा भोकले मरिएला जस्तो छ।’

वास्तवमै उनी बस्ने कोठामा राहत बाँड्नेले दिएको दुई-चार किलो चमाल,  दाल,  नुन,  तेलबाहेक केही छैन। अनि कोठाको एक कुना दाउराको चुलो, खाना र तरकारी पकाउने केही थान भाँडा। निषेधाज्ञाले उनको फुटपाथमा नाङ्ले पसल चलाएर छाक टार्ने बाटो नै बन्द भएको छ।

राजीव र हेममायाको पनि उस्तै हालत

त्यस्तै दृष्टीविहीनद्वय पनौती र्‍यालेको राजीव तामाङ र उदयपुर स्थायी घर भई बनेपाको नालामा बस्दै आएकी हेम माया थापा (स्वाष्तिका)को अवस्था पनि कृष्णमानको भन्दा फरक छैन। उनीहरू भन्छन् ‘हामी जस्तो गरिब र दृष्टिविहीनलाई जहाँ गए पनि बिहान बेलुकाको टाक टार्न धौ–धौ हुँदो रहेछ।’

साथी भनेकै मोबाइल

दृष्टिविहीन तामाङको समय कटाउने साथी मोइबाल भएको छ। तामाङ दिनमा बाहिर निस्किन तथा बोल्ने कोही नहुँदा र रातमा निद्रा नलाग्दा मोबाइल खेल्दै समय कटाउने गरेको बताउँछन्। उनलाई अरूले गरेको फोन उठाउन मात्र आउँछ। कसैलाई फोन गर्नु परेमा सहयोगीको साथ लिन्छन्। ‘मेरो कोही साथी छ भने त्यो मोबाइल हो,’ उनले भने, ‘यही मोबाइल खेलाउँछु बस्छु कसैले फोन गर्ने होइन।’

त्यस्तै, उनले मोबाइललाई घडीको रुपमा प्रयोग गर्छन्। मोबाइललाई भ्वाइसमा राखेकाले घण्टा–घण्टामा आवाज दिने हुँदा त्यहीबाट समय थाहा पाउने गर्छन्। उनलाई एक मोबाइल पसलले त्यसरी सेटिङ मिलाइदिएको हो।

 आफ्नै घरमा बास पाइन

तामाङले दृष्टिविहीन भएकै कारण आफ्नै घरमा समेत बास पाएनन्। आफन्तबाटै हेला परेपछि आमा कान्छी तामाङले तिमाल गाउँपालिकाको सर्स्युङखर्कस्थित् चुखाबेसीमा रहेको मामाको घरमा लगेर राखेका थिए।

बाल्यकाल मामा घरमा बिताएका उनले मामाकै होटल चलाउन थाले। मामा माइजू अशक्त हुँदै गएको र दृष्टिविहीनलाई कतै काम नपाउने भएकाले आफूलाई होटेलको सम्पूर्ण जिम्मेवारी दिएको बताउँछन्। उनले ०४५ सालमा मामाको होटल चलाएर बसेको बेला बुबा बितेको खबर पाएपछि जीवनमा एक्लो महसुस भएको बताए।

त्यसपछि सबै विरानो लाग्‍न थाले भने मामा घरमा पनि बस्न मन लागेन। मामा घर छोडेर धुलिखेलमा होटल राख्न आइपुगेका बताउने उनीले काठमाडौंको शहीद गेट, कपन हुँदै केही दशकदेखि बनेपाको फुटपाथमा नाङ्ले पसल राखेर जीवनयापन गर्दै आएको सुनाए। ‘मामा घर हुँदै बाल बच्चाको आसले तीन वटी श्रीमती विवाह गरे,’ उनले भने, ‘उनीहरूमध्ये माहिलीको कोखबाट छोरा सुवास जन्मिए। छोराको विवाह पनि भइसक्‍यो तर साथमा छैन।’

सौतेनी आमाले सुकुमबासी बनाइदिए

दृष्टिविहीन तामाङले सौतेनी आमासँगै सिडियो,  राजनीतिक व्यक्ति र केही आफन्त मिलेर  १९ रोपनी ११ आना जग्गा जमिन जालझेल गरी खाएर आफूलाई सकुम्बासी बनाएको बताए। होटलको सबै कमाई सौतेनी आमासँग मुद्दा लड्दा सकिएको उनको भनाइ छ। बुबाआमाको मृत्युपछि सौतेनी आमाले भूमीहीन बनाइएका उनी आफ्नो सम्पत्ति फिर्ता गर्न अहिले पनि विभिन्न निकाय धाइरहेका छन्।

उनलाई गाउँमा जान रोक लगाएको छ। तैपनि आफू जोखिम मोलेरै बेला–बेला सौतेनीआमाले खाएको जग्गामा पाइला टेक्न गाउँ पुग्ने गरेको बताए। ‘जग्गा फिर्ता पाए घरमै गएर बस्ने सोच छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.