|

जनकपुरधाम : चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर यातना दिएका धनुषाको शहीदनगर नगरपालिका–४ ननुपट्टी बस्ने १५ वर्षीय बालक रविशंकर कुमार पण्डितका परिवारले न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजूरीमा दिएको छ।

पण्डितलाई असार १२ गते इलाका प्रहरी कार्यालय यदुकोहाले हिरासतमा लिएर यातना दिएको भन्दै न्यायको लागि परिवारले आयोगमा उजुरी दिएको हो। पीडित पक्षले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमासमेत उजूरी दिएको छ।

इलाका प्रहरी कार्यालय यदुकोहाको हिरासतमा गरिएको कुटपिटका कारण बालक बेहोस भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरिएको पीडितका काका बिन्देश्वर पण्डितले जानकारी दिए।

चोरीको घटना बारे सोधपुछ गर्न भनेर इलाका प्रहरी कार्यालय यदुकोहामा लगेर प्रहरीले पाइपले कुटपिट गरेको पीडित पक्षको आरोप छ।

यदुकोहाका मनिष गुप्ताको घरमा दैनिक रुपमा दूध पुर्‍याउने गरेकोमा असार १२ गते समेत दूध पुर्‍याएर आएको तर दिउँसो १२ बजे प्रहरीले चोरी घटनाबारे बुझ्नुपर्ने भन्दै आफू घर नभएको बेला छोरालाई इलाका प्रहरी कार्यालयमा लगेर कुटपिट गरेको पीडितका बुबा शत्रुधन पण्डितले जनाए।

प्रहरीको कुटाइबाट बालकको दुबै पैताला, हातको औँला, गोडाको औँला सुन्निएको र तिघ्रामा पाइपको निलडाम देखिएको छ। इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक संवित भण्डारीले चोरी भएको घरको सिसिटिभी फूटेजको आधारमा सोधपुछ गरिएपनि कसैले बालकलाई कुटपिट नगरेको दाबी गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.