|

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप समयमा उपलव्ध गराउन नसक्दा बैदेशिक रोजगारीमा जाने कामदार समस्यामा परेका छन्।

एकातिर सरकारले खोप उपलव्ध गराउन सकेको छैन भने,अर्कातिर खोप नलगाएकालाई एयरलायन्सले चर्काे शुल्क असुल्दै आएका छन्। सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई खोप लगाउन नसक्दा नेपालले पाउने वैदेशिक रोजगारीको कोटा गुम्ने सम्भावना देखिएको बैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजात कुमार श्रेष्ठले बताए।

नेपालले समयमा खोप खरिद गर्न नसक्दा र विदेशमा श्रम गर्ने कामदारलाई प्राथमिकतामा नराख्दा नियमित रुपमा पाउने कोटा गुम्ने र समयमा नेपाली कामदार जान नपाउने भएका हुन्। 

गत चैतमा बिदामा नेपाल फर्किएका  नुवाकोटका ३२ वर्षीय रमेश श्रेष्ठले साउदी जानका लागि चर्काे मुल्य तिर्नुपरेको गुनासाे गरे। कोभिड विरुद्धको खोप नलगाएकाले होटल क्वारेन्टाइन खर्चसमेत भन्दै एक लाख ५८ हजारभन्दा बढी रकम लिएकाे उनले सुनाए। टिकटका लागि ७५ हजार र होटल क्वारेन्टाइनका लागि ८३ हजार चार सय ८५ रूपैयाँ बुझाएको श्रेष्ठले बताए। बैदेशिक रोजगारीमा जानेका लागि खोपका  व्यवस्था  गर्न नसक्दा कामदारले चर्काे मुल्य तिर्नुपरेको छ।  

विश्वका कतिपय देशहरुले कोभिड विरुद्धको खोप लगाएर ढुक्कले बसेका छन्। भने कतिपय देशहरुले खोपलाई  निरन्तरता दिइरहेका छन्। यता नेपालमा भने कोरोना सुरु भएको एक वर्ष वितिसक्दा पनि खोप कुन देशले अनुदान देला भन्दै आस गरेर बस्नु पर्ने अबस्था छ। सरकारले खोपको व्यवस्था गर्न नसक्दा चर्काे मुल्य तिरेर जानुपर्ने अबस्था आएको श्रेष्ठको भनाइ छ। 

कुवेत, युएई, कतार, र साउदीले खोप लाएका श्रमिक मात्रै लैजाने घोषणा गरिसकेका छन्। कतारले खोप नलगाएकालाई क्वारेन्टाइन व्यवस्था गरेको छ, तर शुल्क चर्को छ। १४ दिन क्वारेन्टाइन बस्न एउटा श्रमिकले २५ सयदेखि तीन हजार कतारी रियाल (९७ हजारभन्दा बढी नेपाली रूपैयाँ) तिर्नुपर्ने व्यवस्था गरेको महासचिव श्रेष्ठले बताए। 

यसअघि सरकारले कोभिड विरुद्धको खोप उमेर समूहलाई लक्षित गरेर लगाएकाले धेरै मानिस खोप पाउनबाट वञ्चित भएका छन्। फ्रन्टलाइनमा काम गर्ने, स्वास्थ्यकर्मी,ज्येष्ठ नागरिक र अन्य पेसाका मानिसलाई खोप लगाइ सकिएको छ। 

यसरी बैदेशिक रोजगारीमा जानेका लागि सरकारले खोपको व्यवस्था गर्न नसक्दा समस्या भएको हो। वैदेशिक रोजगारले मुलुकको अर्थतन्त्र धानेको हुनाले रोजगारमा जानेलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने  युवाहरुको भनाइ छ। 

नेपाली कामदार रहेका मुलुकले खोप नलगाएका कामदारलाई नलैजाने जानकारी लिखित रूपमा नआएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले बताए। खोप खरिदको प्रक्रियामा रहेकाले हाललाई समस्या देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.