|

इलाम : ५० दशकको अन्त्यतिर एथ्लेट बन्ने पाइला चाल्दै गर्दा इलामको माई नगरपालिका–१० लुम्बक (साविक चिसापानी) की प्रमिला रिजालको सपना विभागमा खेलाडीको रुपमा जागिर खाएर आमालाई सुख दिने थियो।

९ वर्षको उमेरमा नै बाबु गुमाएकी उनले आफु र दाजुहरूलाई हुर्काउन आमाले गरेको संघर्ष नजिकैबाट अनुभूत गरेकी थिइन्। तर उनले सोचेकी थिइनन्, चिसापानीको डाँडाकाडाँको दौडानले जागिर मात्र हैन, एउटा बेग्लै पहिचान समेत दिन्छ भनेर।

उनको परिश्रम, स्कुलमा गुरुहरूले दिएको हौसला र परिवारको मायाले विभागीय टोली शसस्त्र प्रहरीको एपिएफमा जागिर मात्र खाइनन् हरेक एथ्लेटको सपना ओलम्पिक खेलमा नेपालको प्रतिनिधित्व समेत गर्ने अवसर पाइन्। 

ओलम्पिक यात्रा

प्रमिलाले वाइल्ड कार्डमार्फत सन् २०१२ को लन्डन ओलम्पिकमा सहभागिता जनाइन्। ‘हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ। तर सबैको सपना पूरा हुँदैन। सपना देख्ने हजारौ नेपाली खेलाडीमध्ये भाग्यमानी सावित बने। लन्डन ओलम्पिकमा सहभागि भएर रेकर्ड सुधार गर्ने सपना थियो त्योचाहिँ पूरा भएन। तर पनि खुशी नै छु।’

९ वर्ष अघिको त्यो सहभागिता सम्झिँदा उनी अझै रोमाञ्चित हुन्छिन्। ‘चन्द्र सूर्य अंकित देशको झण्डा लन्डनको ओलम्पिक रंगशालामा लहराउँदा गर्वले छाति फुलेको थियो। नेपाली प्रति देखाएको सद्भाव देखेर प्रशिक्षण दौरान बोकेको चोट समेत बिर्सिएँ। हजारौं दर्शकका माझमा दौडन पाएको त्यो अवसर शब्दमा कसरी बयान गरौं। यहाँ हामी दौडदा हेर्ने कोही हुँदैन थिए ओलम्पिकमा नेपाल... नेपाल भन्दै दिएको समर्थन अझै पनि याद छ।’

प्रमिला र अन्य खेलाडी ओलम्पिक सुरु हुनु महिना दिनअघिदेखि नै बेलायतको केन्टमा प्रशिक्षण लिइरहेका थिए। नेसनल रेकर्ड ब्रेक गर्नेमा ढुक्क थिइन् प्रमिला। थप पीडा हुन नदिन वार्मअप ग्राउन्डमै फिजियोथेरापी र हल्का मसाज गरेर उनले अभ्यास कायमै राखेकी थिइन्।

तर, पीडा बढ्दै गएपछि उनी चिकित्सककोमा गइन्। पिठ्युँ दुख्ने समस्या बढेपछि चिकित्सकहरूले उनलाई नदौडने सल्लाह पनि दिएका थिए। तथापि उनकै जिद्दीका कारण चिकित्सकले इन्जेक्सन लगाएर दौडन सक्ने प्रयास थाले।

‘एउटा सपनाको वास्तविकता सावित हुँदै थियो कसरी गुमाउने सक्थे ? दौडँदै गर्दा मरें भने देशका लागि मर्छु भनेर 'पेनकिलर' इन्जेक्सन लगाएर पनि दौडिएँ।’ प्रमिलाले त्यो क्षण सम्झिइन्, ‘एकदम पीडा भइरहेको थियो आमाको अनुहार सम्झिएँ, हामीलाई हुर्काउन गरेको संघर्ष सम्झिएँ देश सम्झिएँ अनि आत्मबल दह्रो बनाए। र ट्रयाकमा दौडिए।’

चोटका बीचमा पनि ‘स्प्रिन्ट क्विन’ प्रमिलाले आफ्नो केही अंश सपना पूरा गरिन्। पेनकिलर इन्जेक्सन लिएर १०० मिटर दौडमा उत्रेकी उनले आफ्नै रेकर्डसमेत सुधार गर्न सकिनन्। १३.३३ सेकेन्डमा दौड पूरा गरेकी उनले १२.६ को आफ्नै रेकर्ड तोड्नसमेत असफल भइन्। जसरी लन्डन ओलम्पिकको पूर्वसन्ध्यामा चोट बोकेर लक्ष्य पूरा गर्न सकिनन् त्यस्तै मार्मिक छ इलामको एउटा विकट गाउँबाट सपनाको सहर लण्डनसम्म पुग्न गरेको संघर्ष। 

अभावबीच पहिलो पाइला

गरिब परिवारमा जन्मिएकी उनको लागि त्यसबेला खेलकुदमा लाग्नु आफैंमा चुनौती थियो। एक त घरको कमजोर आर्थिक अवस्था र अर्कोतर्फ बुबाले छोरीलाई नपढाउने निर्णयका बीच पनि आमाको साथ पाइन्।

आमाकै कारण ६ वर्षको उमेरमा अध्ययनका लागि फुपूको घर धुलाबारी गइन्। ९ वर्षको उमेरमा बाबु गुमाइन्। बाबु गुमाउँदाको त्यो दुःखद क्षण अझै काँडा बनेर उनको मनमा बिझाइरहेको छ।

‘दानाबारीको सित्तली बजारमा खोलाको बगर छेउमा हजुरबुबाले जग्गा किन्नुभएको रहेछ। विकट गाउँबाट सुविधाको खोजीमा हाम्रो परिवार बजार छेउमा सरेको थियो। त्यहाँ घर बनाउन बलो काट्न जानुभएको बुबा रुखले किचेर बित्नुभयो।’

दानाबारीमा घर बनाउन सम्भव नभएपछि छोराछोरी सहित आमा पुनः लुम्बक फर्किइन्। यता फुपूको घरबाट समेत पढाउन नसक्ने भएपछि प्रमिलासँग लुम्बक फर्कनुको विकल्प रहेन।

घर फर्किएर अध्ययन गर्दै गर्दा स्थानीय हिमालय प्राविमा फुलपातिमा हुने दौड प्रतियोगितामा उनी प्रथम भइन्। त्यसभन्दा अघि उनी नदौडिएकी पनि हैनन्। धुलाबारीको लालपानी स्कुलमा भएको दौडमा दोश्रो भएकी थिइन्। तर पुरस्कार पाइनन्।

‘अरुभन्दा अगाडि नै फिनिस लाइन पार त गरेको थिएँ तर पुरस्कार पाइनँ। पछि बुझ्दा अर्कैको ट्रयाकमा छिरेर लाइन पार गरेको रहेछु,’ उनी त्यो घटना सम्झेर मुस्कुराइन्।

छोरीलाई पढाएर ठूलो मान्छे बनाउन आमाको सपना साकार गर्न शान्तिपुरको एक जना शिक्षककै घरमा काम सघाउँदै पढ्न पाउने भएपछि त्यहाँ पनि गइन्। तर छिमेकी र आफन्तको कारण पुनः घर फर्किनुप¥यो।

‘आमाले मेरो भविष्यलाई हेरेर पठाउनुभएको थियो, तर 'छोरी बेचेर खाई माइलीले' भन्दै आफन्तबाट नै दबाब आएपछि घर नै फर्किएँ,’ २५ वर्ष अघिको त्यो घटना अझै सम्झन्छिन्, ‘ यदि आमालाई दबाब नआएको हुँदो त म आफूलाई ओलम्पियन प्रमिला रिजाल भनेर चिनाउन सायद पाउँदैन थिएँ होला।’

घरभन्दा भौगोलिक रुपमा टाढा रहेको सोमबारे बजार नजिकैको जनता माविमा पढ्न जाँदा दौडिएको क्षण प्रमिलाको मस्तिष्कमा अहिले पनि ताँजै छ,‘ स्कुल जाँदा सरले किताब बोकिदिनुहुन्थ्यो र लौ दौड भनेर दौडाउनुहुन्थ्यो। बाल्यकालको त्यही अभ्यासले जानी नजानी एथ्लेट बने।’

प्रमिलाले विगत सम्झिइन्, ‘ पहाडको विकट गाउँमा दौडने खालको मैदान हुँदैन्थ्यो, सरले यसले त बेस्सरी दौडन सक्छे भनेर हौस्याएकै भरमा उकालो ओरालो ज्यान फालेर दौडन्थें। सर आइनुपुगुन्जेल अँधेरी खोला छेउमा तासेर बनाएको ठाउँमा लङ्जम्प हान्थें।’ एसएलसीको परीक्षाभन्दा अघि जिल्लामा भएको वीरेन्द्र शिल्डमा लगातार उनले ३ पटक प्रथम स्थान हासिल गरिन्।

२०५६ सालमा काठमाडाैंमा भएको जुनियर च्याम्पियनसिपको सहभागिताको कथासमेत उनको स्मरणमा अझै ताजा छ। गाउँको डाँडाकाडाँमा दौडिएर निखारिएको उनको लागि रबर ट्रयाकमा दौडनु आफैंमा चुनौती थियो, ‘रबरको ट्रयाकमा छोटो कट्टु र काँडावाला जुत्ता लगाएर दौडनुपर्ने रहेछ, मसँग जुत्ता पनि थिएन खाली खुट्टा नै दौड पूरा गरें। उपाधि त जित्न सकिनँ, तर गुरुहरूको मनचाहिँ जितेको रहेछु,’ उनी भन्छिन्। 

जागिर पाउने आशमा काठमाडाैं यात्रा

एसएलसीपछिको कलेज अध्ययन ताका उनको खेल क्षेत्रबाट केही टाढा भइन्। तर प्रमिलाको खेलप्रतिको लगाव देखेर जिल्ला प्रशिक्षक रोहित भट्टराईले फेरि फर्काएर एथ्लेटिकमा नै ल्याए।

१९८४ को साग खेलमा नेपालको प्रतिनिधित्व गरिसकेका रोहित आफैं पनि विभागबाट एथ्लेटिक खेलेका कारण आर्मी र पुलिसमा जागिर पाइने आश देखाएपछि खेलकुदबाट आमालाई सुखमा राख्ने सपना बुन्न थालिन्।

विदेशमा रहेको कान्छो दाजुले ५ हजार पठाएपछि गन्तव्य काठमाडाैं बन्यो। त्यहाँ फुपूको छोरा कृष्ण अविरल (साहित्यकार) को परिवारसँग बस्न थालिन्। तर विभागबाट खेल्ने पाउने नपाउने निश्चित थिएन। दैनिकजसो विभागीय खेलाडीसँग प्रशिक्षणमा जान भने छाडिनन्।

‘जागिर हुन्छ भनेर त आइयो तर विभागमा आबद्ध हुन मेडल हुनुपर्ने रहेछ। मसँग राष्ट्रियस्तरका कुनै पनि मेडल थिएनन्,’ प्रमिलाले सम्झिइन्।

२०६२ सालमा क्षेत्रीय खेलका लागि इलाम फर्किइन्। पूर्वाञ्चल क्षेत्रीय खेलमा १ सय मिटर, २ सय मिटर, रिले दौड र लङ्जम्पमा स्वर्ण जित्दै राष्ट्रिय प्रतियोगिताको लागि छनोट भइन्। तर राष्ट्रिय प्रतियोगितामा ४ वटै विधामा चौथो स्थान मात्र हासिल गरिन्। त्यहाँ उनलाई नरबहादुर शाहीले प्रशिक्षण दिएका थिए।​

एथ्लेटिकमा एकछत्र राज

प्रतियोगिता दौरान नै विभागीय टोली एपिएफमा जागिर खुलेपछि नागरिकताको भरमा आबद्ध भइन्। ‘काठमाडाैंमा हुँदै गर्दा सियिनर दाइहरूसँग प्रशिक्षण गर्थें। उहाँहरूले मेरो क्षमता पहिचान गरेर नागरिकताको भरमा नै जागिरको लागि सिफारिस गरिदिनुभयो,’ प्रमिलाले सम्झिइन्।

२०६२ सालमा खेलाडीकै रुपमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबमा आबद्ध भएपछि खेल खेल्ने वातावरण पाएकी प्रमिलाले २०६४ सालबाट लगातार ५ वर्ष राष्ट्रिय प्रतियोगितामा च्याम्पियन छवि बनाइन्।

प्रशिक्षक सुशिल नरसिंह राणाले प्रमिलाको क्षमतालाई प्रष्फुटित हुने अवसर दिए। फलस्वरुप २०६५ सालमा पाँचौ राष्ट्रिय खेलकुदमा ३ स्वर्ण र ३ रजत प्राप्त गरिन्।

४ सय मिटर दौडमा १.०६ सेकेन्डको कीर्तिमान राखिन्। छोटो दूरीमा ‘स्प्रिन्ट क्विन’ को उपमा पाएकी उनले ३ वर्षपछि छैटौं राष्ट्रिय खेलकुदमा आफ्नै रेकर्ड सुधार गर्दै १ मिनेट १ सेकेन्डमा दौड पूरा गरिन्।

तुलनात्मक रुपमा उमेर ढल्किएपछि एथ्लेटिकमा प्रवेश गरेकी उनले ४ स्वर्ण र १ रजत प्राप्त गरिन्।  सोही प्रदर्शसनले उनको लन्डन यात्रालाई सहज बनायो।

२०६५ सालमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्टस् अवार्डमा लोकप्रिय खेलाडी र महिला वर्ष खेलाडीको लागि मनोनयनमा परिन्।

३ वर्षलगत्तै महिला वर्ष खेलाडीमा पुनः मनोनयनमा परे पनि अवार्ड जित्न सकिनन्। सफल एथ्लेटको परिचय बनाउँदै २०६६ देखि लगातार ३ वर्ष एपिएफको उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुने अवसरसमेत पाइन्।

राष्ट्रियस्तरमा ६ वर्षको अवधिमा २ दर्जनभन्दा बढी स्वर्ण र आधा दर्जन रजत पदक प्राप्त गरेकी प्रमिलाले अन्तर्राष्ट्रिय स्तरमा भने मेडल लगाउने अवसर पाइनन्।

२००९ मा चीनमा १८ औं एसियाली च्याम्पियनसिपमा २ सय र ४ सय मिटरमा सहभागिता जनाइन्।  ११ औ दक्षिण एसियाली खेलकुद (साग) २०१० को छनौटमा ४ सय मिटरमा छैटौं राष्ट्रिय खेलकुदमा आफैंले राखेको रेकर्ड सुधार गर्दै ५९.१९ सेकेण्डमा झारिन्। साग गेममा हिट चरण पार गरे पनि मेडल लगाउने अवसर पाइनन्।

इन्ज्युरीले छोटिएको खेलाडी करियर

ओलम्पिकपछि इन्ज्युरीका कारण खेलाडी करियरलाई भने नचाहँदा नचाहँदै पनि छोट्याउनुपर्ने बाध्यतामक अवस्थामा पुगिन्। डाक्टरले ६ महिना खेलमा सहभागि हुन नसक्ने बताएपछि शान्ति मिसनको लागि लाइब्रेरिया पुगिन्।

त्यहाँबाट फर्किएर पुनरागमनको प्रयास गर्दै १ सय र ४ सय मिटर रिलेमा सहभागी बन्दै स्वर्ण पदक जित्न सफल भइन्। तर ह्रयामिस्ट्रङ इन्ज्युरी बल्झिएपछि खेलाडी करियर छाडेर प्रशिक्षक बन्ने निर्णयमा पुगिन्।

सन् २०१६ मा भारतको पटियाला स्थित नेशनल इन्स्टिच्युट अफ स्पोर्ट्स (एनआईसी) बाट डिप्लोमा गर्दै अहिले एपिएफ क्लबमा एथ्लेटिक प्रशिक्षकको रुपमा कार्यरत छिन्।

त्यहाँ उनी महिला र पुरुष एथ्लेटलाई नै  प्रशिक्षण दिन्छिन्।  उनी सम्मिलित प्रशिक्षकहरूको प्रयासमा गोपीचन्द्र पार्की अहिले टोकियो ओलम्पिकका लागि छनोट भएका छन्।

‘अधुरो सपना प्रशिक्षकको रुपमा पूरा गर्ने प्रयत्नमा छु। हाम्रै प्रशिक्षणमा गोपी (गोपी चन्द्र पार्की) ओलम्पिकको लागि छनोट भएको हो,’ उनले भनिन्, ‘यस्तै सम्भावना भएका खेलाडीहरू निखारेर एथ्लेटिकको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउने रहर छ।’

खेलाडी भनेर गर्व गर्ने वातावरण होस्

सरकार र खेल सम्बद्ध संस्थासँग खेलाडी भनेर गर्व महसुस हुने वातावरण बनाउन प्रमिलाको माग छ। देशको नाम चिनाउन जिवन समर्पित गर्ने खेलाडीहरू उपेक्षाको सिकारमा परेको उनको तर्क छ।

​‘देशको गहना भन्छन् खै त खेल्न छाडेपछि त कसैले वास्ता पनि गर्दैनन् देशका लागि योगदान दिने खेलाडीको महत्व खै बुझेको? ओलम्पियन भएकै कारण हामीले मासिक ३ हजार ४ सय भत्ता पाउँछौं तर अझै कति खेलाडी खेलेर बाँच्न सक्ने अवस्थाका छैनन्’, खेलाडीको महत्व नबुझ्दा खेलकुद क्षेत्रमा पलायन बढ्दै गएको तर्क गर्छिन् उनी, ‘सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेकी जमैकाकी सेली–अन्ना फ्रासेस अझै पनि खेलाडीको रुपमा टोकियोमा सहभागी हुँदै छिन्। लन्डनमा हामीसँगै प्रशिक्षण गरेकी उनी चौथो ओलम्पिक खेल्दैछिन् खै हाम्रो खेलाडीको लगातार सहभागिता ?’ उनले प्रश्न गरिन्। 

‘खेल्न सकुन्जेल मिडियाले पनि खोजी गर्दोरहेछ खेल्न छाडेपछि कहाँ छन् के गर्दैछन् कसैले चासो पनि नराख्दो रहेछ,’ समाचारका कटिङहरू देखाउँदै उनले भनिन्।

खेलाडीको मुद्धामा सरकार गम्भीर बन्न सके खेलकुद क्षेत्रमा पलायन रोकिने बताउँदै आफ्ना कुराहरूको बिट मारिन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.