|

धनकुटा : असारलाई मानो रोपेर मुरी फलाउने महिना भनिन्छ। किसानहरु असारमा धान रोप्न व्यस्त हुने गर्दछन। कृषि प्रधान मुलुक भएकाले अहिले देशका विभिन्न भू–भागमा रोपाइँको चटारो छ। 

तर, रोपाइँको अर्को पाटो असारे भाका बेठी भने लोप हुँदै गइरहेको छ। हिलो खेलेर घन्काइने असारे भाका र नौमती बजाई भोज खुवाएर गरिने रोपाइँको नेपाली समाजमा छुट्टै स्थान छ। कृषिमा आधुनिकीकरण भएर वा किसानहरु केवल खेतीपातीको मात्रै भर पर्न छोडेकाले हो, यो लोक संस्कृति हराउँदै गएको छ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो। नेपालमा कुल गार्हस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ। कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ।

हराउँदै असारे भाका र बेठी

नयाँ पुस्ताले असारे भाका आक्कल झुक्कल सुने पनि बेठी भन्ने थाहा पाएका छैनन्। बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ। ग्रामीण भेगका गाउँबस्तीमा नौमती बाजा बजाएर भोज दिई गरिने रोपाइँ नै बेठी हो। यही बेला बाउसे र रोपाहारहरुले असारे भाका गाउँदै धान रोपन्छन्। तर, पछिल्लो समय बेठी र असारे भाका गाउँदै रोपाइँ गर्ने परम्परा स्मृतिमा सीमित हुँदै जान थालेको छ।

पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न संरक्षण गर्ने प्रयास भएको पाइँदैन। तर, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले यस वर्ष नगरपालिकाको बजेटमा संस्कृति संरक्षणमा केही बजेट विनियोजन गरेकाले नगरपालिकाले यस्तो संस्कृति संरक्षणमा ध्यान दिने बताउँछन्।

पश्चिमा संस्कृतिको प्रभाव भित्रिएसँगै असारे भाका र बेठी लोप हुने अवस्थामा पुगेको धनकुटा नगरपालिका–२ भीरगाउँका रामकाजी बस्नेतको बुझाइ छ। ‘युवाहरुमा संस्कृति संरक्षणको विषयमा ध्यानै छैन,’ उनले भने, ‘आधुनिक पारा र वैदेशिक रोजगार मोह बाहेक युवा पुस्ता लाग्न सकेनन्।’ 

परम्परादेखिनै असार १५ को बेठी लगाई राजा माहाराजाहरु समेत रोपाइँमा सहभागी हुने भन्ने भनाइ छ। रोपाइँका बेला थकाइ मार्दै गाइने असारे गीत पछिल्लो पुस्ताले ग्रहण नगर्नाले लोप भएको महालक्ष्मी–४ का लेखनाथ पौडेलले बताउँछन्।

पहिलाको समयमा डोकोमा दही, केरा, चिउरा, काक्रा, आँपलगायत खानेकुरा बेंशीको खेतमा लगर बेठी लगाएको सम्झनामा मात्र रहेको धनकुटा–२ का ताराबहादुर थापा बताउँछन्। यस्तै, खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका सुन्न छाडेको उनले बताए। रोपाहारहरुले असारे भाकामा माया प्रेमका कुरा र वर्षभरिको दुखेसो पनि पोखिने गरे पनि अहिले त्यस्तो सुन्न छाडेको ८१ वर्षीया गंगामाया बरालले बताइन्।

असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ। यो विभिन्न भेगअनुसार फरक–फरक छ। असारेलाई पूर्वी भेगमा ‘रसिया’ भनिन्छ। 

के हो बेठी?

देशमा भूमिसम्बन्धी जिम्मावाल व्यवस्था कायम रहुञ्जेलसम्म जिम्मावालको सान र रवाफको पर्याय बन्दै आएको बेठी परम्परा २०२१ सालमा लागू भएको भूमिसुधार कार्यक्रमपछि गाउँ समाजमा सामाजिक प्रतिष्ठाका रूपमा हुनेखाने वा गाउँका धनीमानी वा मुखियाहरुकै प्रतिष्ठा वृद्धिको माध्यमका रूपमा चल्दै आएको पाइन्छ।

नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, जोतेको हिलो माटोलाई लेदो बनाउन दाँदे लाउने, हिलो सम्याउने बाउसे, कोही पानीको मात्रा मिलाउने, कोही ब्याडमा बीउ काढ्ने, कसैले गरागरामा बीउका मुठा ओसारिदिने, रोपाहारले आपसमा उछिन र पाछिन गर्दै लहर मिलाएर बीउ रोपेको दृश्य निकै रोमाञ्चक हुने गरेको थापाले सम्झना गरे। सिमेभूमेको पूजा, ठूलो गरामा धान धेरै फलोस् भन्ने कामनासहित भकारी बाँधेर नाचसहित आपसमा हिलो छ्यापाछ्याप गर्दा दिनभरिको सबै थकान मेटिने गरेको उनको भनाइ छ। 

रोपाइँ सकेपछि भोज खाने चलन रहेकाले यसलाई किसानले पर्वका रुपमा मनाउन थालेको पाइन्छ। बेठीको दिन आफ्ना चेलीबेटीलाई समेत बोलाएर रोपाइँ गर्ने चलन रहेको थियो। नौमती बाजा, दर्जनौँ हल गोरु, सयौँ रोपाहार र बाउसेहरुले एकै दिन रोपाइँ गरेर उनीहरुले यसलाई पर्वका रुपमा मनाउने गरेका थिए।

अरुबेला गरिएको रोपाइँमा खेताला पर्म र बोलाइएकाहरुलाई पैसा दिनुपर्ने भए पनि बेठीमा आएकाहरुको पर्म तिर्नु पर्दैन। तर, रोपाइँ सकिएपछि माटोको टीका र धानको बीउको फूल लगाएर रोपाहार र चेलीबेटीलाई दक्षिणा दिने चलन रहेको थियो। बेठी परम्परा विगतमा जुन हिसाबले थालनी गरिए पनि लोपोन्मुख संस्कृति भएकाले यसको संरक्षण गर्नु किसानको मात्र नभएर सरकारको समेत कर्तव्य भएको सरोकारवालाको भनाइ छ।

सामाजिक परिवर्तनको लहर वा मानिसहरुको दृष्टिकोण र बानी व्यवहारमा आएको परिवर्तनले बेठी परम्पराको अस्तित्व लोप हुन पुगेको छ।  आजभोलि गाउँघरतिर पहिलेको जस्तो खेतीपातीको काममा आकर्षण छैन। पछिल्लो समय ग्रामीण भेगका युवापुस्ता शहर केन्द्रित श्रम, वैदेशिक रोजगारी र कृषि कार्यमा अपेक्षित ज्याला नपाइने भएकाले खेतीपाती छाड्ने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.