|

धनकुटा : पाख्रीबास नगरपालिकाको बजेटका विषयमा भएको सरकारी र विपक्षी दलको विवाद झन् पेचिलो बन्दै गएको छ। गत असार १० गते बजेट प्रस्तुत गर्ने क्रममा ओली पक्षीय नेकपा एमाले (सरकारी पक्ष) र विपक्षी चार दलबीच विवाद हुँदा तोडफोड भएको थियो। 

सरकारी पक्षले हात छोडेपछि तोडफोड भएकाले त्यसको जिम्मा उनीहरुले नै लिनुपर्ने विपक्षीले बताउँदै आएका छन्। सरकारी पक्षले आफूहरुले हातपात नगरेको र नगरसभा चलिरहेका बेला हुलहुज्जत गरी सभा हलमा प्रवेश गरेर तोडफोड गरेकाले त्यसको जिम्मा विपक्षीले लिनुपर्ने उनीहरुको भनाइ छ।

नेकपा एमाले (ओली पक्ष) र विपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी–केन्द्र), नेकपा एमाले (माधव समूह) र जनता समाजवादी पार्टीबीच बजेटका विषयमा विवाद हुँदा ४० वटा कुर्सी, दुईवटा टेबल र चारवटा झ्यालमा क्षति पुगेको छ। तोडफोडबाट एक लाख ६७ हजार रुपैयाँको क्षति भएको बताउँदै आएका नगर प्रमुख वृषबहादुर राईले अहिले पाँच लाख बराबरको क्षति भएको बताउन थालेका छन्।
 
नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी जम्मा ५२ सिट रहेकोमा तत्कालिन एमालेले सबै सिट जितेको थियो। हाल एमाले दुई समूहमा विभाजन भएपछि वडा नम्बर ४ का वडाध्यक्ष सोभित निरौला नेपाल समूहमा लागेका छन्। बाँकी ५१ जनप्रतिनिधि ओली पक्षमा छन्। निरौलाले आफ्नो वडाध्यक्ष रहेको वडामा ज्येष्ठ वडा सदस्यको संयोजकत्वमा योजना छनोट गरिएको थाहा पाएपछि विरोधमा उत्रिएको बताए। स्थानीय तह सञ्चालन ऐनमा वडाध्यक्षको मृत्यु भएको खण्डमा मात्रै ज्येष्ठ सदस्यले अध्यक्षता गर्न पाउने व्यवस्था रहेकोले फरक विचार राखेकै कारणले आफू मरेको देखाउन खोजेको निरौलाको आरोप छ।

दुवै पक्षद्वारा प्रहरीमा किटानी जाहेरी

तोडफोडपछि दोषीलाइ कारबाहीको माग गर्दै दुवै पक्षले प्रहरीमा उजुरी दिएका छन्। नगर प्रमुख वृषबहादुर राई, उपप्रमुख देवकला पौडेल (तिम्सिना), नेकपा एमाले (ओली पक्ष) का पाख्रीबास नगर अध्यक्ष शान्तिराम गौतम, सचिव सीताराम राईलगायतले तोडफोडमा संलग्न १५ जनाविरुद्ध किटानी जाहेरी दिएर कारबाहीको माग गरेका छन्। 

नगर सभामा पस्न अधिकार नै नभएका व्यक्ति प्रवेश गरेर तोडफोडमा उत्रिएपछि बाध्य भएर कानुनी बाटो अपनाएको नगर प्रमुख राईले बताए। उनले यस्ता घटनालाई दोहोरिन नदिन घटनामा संलग्नमाथि कानुनी कारबाही हुनुपर्ने बताए। नगर प्रमुख राईले बजेटमा कसैलाई विभेद नगरिएको र उनीहरुको मागको सम्बोधन गर्ने वचन दिए पनि तोडफोड भएको बताए।

यता विपक्षी दलले पनि शान्तिपूर्ण रुपमा माग राख्न जाने क्रममा जनप्रतिनिधि नै हातपातमा उत्रिएको बताउँदै घटनामा संलग्न जनप्रतिनिधिमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन्। विपक्षी दलले ६ जनाविरुद्ध प्रहरीमा उजुरी दिएको जनाएको छ। लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलनमा मार्फत आफ्ना माग राख्न पाउने कानुनी अधिकारलाई जनप्रतिनिधीले कुन्ठित गर्न खोजेको नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताए। जनताले माग राख्ने क्रममा जनप्रतिनिधि नै हातपातमा उत्रेपछि प्रतिकार गर्दा तोडफोड भएको बताए। 

नगरपालिकाले घटना भएको बेला उपस्थित नभएको व्यक्तिमाथि पनि उजुरी हालेको विपक्षी दलको दाबी छ। नेकपा माओवादी केन्द्र नगर कमिटी सचिव बलराम खड्काले नगरपालिकाले १५ जना विरुद्ध उजुरी हालेको जानकारी पाइएको बताए। ‘१ जना शिक्षकको विरुद्धमा पनि उजुरी हालेको रहेछ,’ उनले भने, ‘ती शिक्षक त्यो दिन उपस्थित थिएनन्। नगरपालिकाले प्रतिशोध साध्न खोजेको स्पष्ट हुन्छ।’

सबै वडाका योजना छलफल नगरी वडाध्यक्षहरुले आफू खुसी योजना छनोट गरेकाले ज्ञापनपत्र बुझाउन जाँदा जनप्रतिनिधीबाट अवरोध भएको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मुक्ति बजगाईले बताए। शान्तिपूर्ण रुपमा आन्दोलन गर्न जाँदा वडा सदस्यले हातपात गरेपछि आन्दोलनकारी आक्रोशित भएर स्थिति अनियन्त्रित हुँदा तोडफोड भएको उनको भनाइ छ। 

आवश्यक कानुनी कारबाही गर्छौं : प्रशासन

जिल्ला प्रहरी कार्यालय धनकुटाले भने घटना भएको र उजुरीअनुसार कानुनी कारबाहीको बाटोमा अघि बढ्ने जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैसवालले सरकारी पक्षबाट केही व्यक्तिको विषयमा उजुरी परेको र त्यसमा आवश्यक कानुनी कारबाही अघि बढ्ने जानकारी दिए। उनले को कसका विरुद्ध उजुरी परेको त्यो नाम आफूले नहेरेको भएर याद नभएको बताउँदै हेरेपनि खुलाउन नमिल्ने बताए।

यस्तै, धनकुटाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले पनि कानुन बमोजिम अघि बढ्ने बताए। उनले उजुरीमा छलफल गरेर मिलाई पाउँ भन्ने भएमा सोहीअनुसार छलफल गराउने र कारबाही गरी पाउँ भन्ने उजुरी आएमा कानुन बमोजिम अघि बढ्ने जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.