सीमामा आइसोलेसन र होल्डिङ सेन्टर, ७७ वटै जिल्लाबाट स्याम्पल कलेक्सन गरिने

|

काठमाडौं : नेपालमा कोरोना भाइरसको 'डेल्टा प्लस' भेरियन्ट पुष्टि भइसकेको छ।

यो भेरियन्ट फैलँदै गए  तेस्रो लहर आउने विज्ञहरूले चेतावनी दिएका छन्। नयाँ भेरियन्ट पुष्टि भए पनि हाल निषेधाज्ञा खुकुलो बनाइँदै लगिएको छ। संक्रमणदर भने खासै घट्न सकेको छैन। आगामी दुई महिनामा संक्रमण उच्च तहमा पुग्ने र तेस्रो लहर सुरु हुने विज्ञहरूले बताइरहँदा यसको रोकथाममा जुटेको सरकारले जनाएको छ।

​तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुन सक्ने भन्दै सरकारले सोहीअनुसार तयारी थालेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए। 

तेस्रो लहरसँग जुध्न मन्त्रालयले नेपाल पेडियाट्रिक सोसाइटीसँग मिलेर संक्रमित बालबालिकाको उपचारमा खटिने चिकित्सकलाई तालिम दिन सुरु गरिएको समेत उनले बताए।

‘तेस्रो लहरमा बालबालिका प्रभावित हुन सक्ने पूर्वानुमानका साथ उनीहरूको उपचार हुने खालका ४ सय भेन्टिलेटर स्थापना गरिँदै छन्। अन्य आइसोलेसन सेन्टरको स्थापना गर्ने कार्य पनि बढेको छ', पाैडेलले जानकारी दिए। 

यस्तै बालबालिकाका लागि देशभर ५०० बढी आइसोलेसन शय्या निर्माण गर्ने र यसका लागि बैंक तथा वित्तीय संस्थाहरूल‍े सहयोग गर्नुका साथै विभिन्न क्षेत्रसँग छलफल भइरहेको पनि उनले बताए।  

यस्तै सीमामा १ हजार जना अट्ने आइसोलेसनसहित १० वटा होल्डिङ सेन्टरसमेत सेनाले हाल बनाइरहेको उनले बताए। कोभिडविरुद्धको दोस्रो डोजको खोप लगाउनेको संख्या कुल जनसंख्याको करिब २ प्रतिशत मात्र भएकाले पनि बालबालिकासहित अन्य उमेर समूह महामारीको जोखिममा छन्। 

यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सोमबार बसेको बैठकमा पनि कोरोना संक्रमणको तेस्रो चरणको रोकथामको तयारी, व्यवस्थापनका लागि कसले के गर्ने भन्नेबारे छलफल भएको डा पौडेलले जानकारी दिए।

हाल संक्रमणदर स्थिर अर्थात् २० प्रतिशतभन्दा कम नभएको हुँदा जोखिम अझै रहेको उनको भनाइ छ। अस्पतालहरूमा भएका बिरामीको भार कम मात्र भएको तर जोखिम कम नभएको उनले बताए। जसले गर्दा अझै कडा रुपमा जनस्वास्थ्य मापदण्ड पालना गर्नु पनि उनले सुझाए। विश्व स्वास्थ्य संगठनले पनि पाँच प्रतिशतभन्दा धेरै संक्रमणदरलाई जोखिमपूर्ण बताउँदै आएको छ।

'सेरो प्रिवेल्सन' सर्वेबाट समुदायमा संक्रमणबारे अध्ययन गरिँदै

यस अघि ९ जनामा 'डेल्टा प्लस' भेरियन्ट पुष्टि भए पनि हालसम्म समुदायमा पुगेको छ छैन भन्ने पुष्टि भएको छैन। त्यसको लागि पनि सरकारले अध्ययन गर्ने  प्रवक्ता डा पौडेलको भनाइ छ। 

डेल्टा प्लस भेरियन्ट कति संक्रामक हुन्छ? र हाम्रोमा कति फैलिएको छ भनेर 'सेरो प्रिवेल्सन' सर्वे गर्न लागेको उनले बताए। हाल देशको ७७ जिल्लाका विभिन्न ठाउँबाट १३ हजार ७ सयको स्याम्पल संकलन गरेर त्यसको अध्ययन गर्न सुरु गरिएको उनले बताए।

पाैडेलले भने, ‘हालसम्म हाम्रोमा डेल्टा प्लस भेरियन्ट कत्तिको संक्रामक छ/छैन पुष्टि भएको छैन, त्यसको प्रभाव समुदायमा पुगेको छ/छैन भनी अध्ययनका लागि सेरो प्रिवेल्सन सर्वे सुरु गरिएको छ, यसले हाम्रा लागि तेस्रो लहरसँग लड्ने तयारीलाई पनि ठूलो सहयोग गर्छ।'

नेपालमा भाइरसको जिन सिक्वेन्सिङ सुविधा नभएका कारण यसको पहिचानका लागि डब्लुएचओको नेपाल कार्यालय तथा दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित डब्लुएचओ आइडेन्टिफाइड सेन्टर फर एक्सिलेन्स जेनोनमिक, इन्स्टिच्युट अफ जेनोमिक एण्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी) मा पठाइएको थियो। जसबाट नेपालमा पनि डेल्टा प्लस भेरियन्ट भेटिएको पुष्टि भएको थियो।

इपिडिमियोलोजिष्टको टिमले तेस्रो चरणको सम्भावना, जोखिममा पर्ने सक्ने समूह, गर्नुपर्ने तयारीका विषयमा वैज्ञानिक ढंगले विश्लेषण गरिरहेको पाैडेलले बताए। उनले जुलाइपछि पनि संक्रमण दर कसरी बढ्छ भन्ने विषयमा पनि अध्ययन भइरहेको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.