सरकारको बदमासीले विद्यार्थीको भविष्य अन्‍योल

|

काठमाडौं : कोभिड-१९ का कारण यतिखेर प्राय देशभर विद्यालयका पठनपाठन बन्द छन्। २०७६ सालबाटै कोरोनाले शैक्षिक क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

यस वर्षको नयाँ शैक्षिक सत्र असार १ गतेबाट सुरु भइसकेको छ। सरकारले वैकल्पिक विधिबाट पढाइ सुचारु गर्न भनेको छ।

तर, विकट जिल्लाहरूमा न नयाँ पाठ्यपुस्तक पुगेको छ न त वैकल्पिक माध्यमबाटै पढाइ हुने सम्भावना छ। यो समस्या अहिले मात्रै होइन, बर्सेनि हुँदै आएको छ। तर,सरकारले यी समस्याको अझै अन्त्य गर्न सकेको छैन।

नयाँ शैक्षिक सत्र सुरु भएको १६ दिन बित्दा पनि पाठ्यपुस्तक हुम्ला, जुम्ला, डोल्पालगायत विकट जिल्लामा पुग्न सकेको छैन। जुम्लाको चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरा देवी न्यौपानेले नगरपालिकामा अझै नयाँ पाठ्यपुस्तक नआएकाले पुस्तक वितरण नगरिएको बताइन्।

उनले थाहाखबरसँग भनिन्,‘पहिलाका वर्षहरूमा पनि समयमा पुस्तक आएन, यस वर्ष पनि पुस्तक पाएका छैनौँ।’ उनले पुस्तक छिटो ल्याउनका लागि पहल भने नगरपालिकाले गरिरहेको बताइन्।

उनका अनुसार नगरपालिकाभित्र प्रावि, मावि र एक क्याम्पस गरी १९ वटा सामुदायिक विद्यालय रहेका छन्। कोरोना संक्रमण बढेकाले पठनपाठन हुन सकेको छैन। प्रविधिको पहुँच नपुगेकाले अनलाइन कक्षा पनि सञ्चालन नभएको उनले जानकारी दिइन्।

हुम्लाको ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले पनि नयाँ पुस्तक नआएकाले हुम्लाका विद्यालयहरूमा वितरण गर्न नसकिएको बताए। उनले भने,‘पुस्तक आएको छैन,असारभित्रमा आइपुग्ला भन्ने आशा छ।’

उनका अनुसार यस्ता समस्या अहिले मात्रै होइन धेरै वर्षदेखि यहाँका विद्यार्थी र विद्यालयहरूले भोग्दै आएका छन्। समयमै पुस्तक नआउँदा पढ्नबाट विद्यार्थी बञ्चित हुन पुगेका छन्। तत्काल पाठ्यपुस्तक पठाउन केन्द्र सरकारलाई उनको माग छ। उनका अनुसार गाउँपालिकाभित्र १८ वटा सामुदायिक विद्यालय रहेका छन्।

नयाँ पाठ्यपुस्तक डोल्पा जिल्लामा पनि पुग्न सकेको छैन। डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका नगर उपप्रमुख चन्दा कुमारी बुढाले भनिन्,‘खै अहिलेसम्म पुस्तक आएको जानकारी छैन, आएपछि वितरण गर्छौं।’ उनका अनुसार नगरपालिकाभित्र प्रावि र मावि गरी ३२ वटा विद्यालय छन्।

सरकारको सधैँ बदमासी

नेपाल अविभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी सरकार बदमासीपनले बर्सेनि समयमा सम्बन्धित ठाउँमा नयाँ पाठ्यपुस्तक नपुगेको बताउँछन्।

‘सरकारको बदमासी र हेलचेक्रयाइँले समयमा नयाँ पाठ्यपुस्तक पुग्न सकेको छैन,विकट जिल्लाको त कुरै छाडौँ काठमाडौं उपत्यकाभित्रका कतिपय स्कुलले समेत पुस्तक नपाएको अनुगमनमा पाएका छौँ’ उनले भने।

पुगेको पाठ्यपुस्तक पनि सरकारले पुरानो पठाउने गरेको उनी सुनाउँछन्। पाठ्यपुस्तक अनुगमन समितिका सदस्यसमेत रहेका भण्डारीले भने,‘चुच्चे नक्सा नभएको पुरानो पुस्तक वितरण गरिएको छ, तर सरकारले कारबाही गर्न सकेको छैन,जसकारण विद्यार्थीको भविष्य बिग्रिनुका साथै मानसिक समस्या भएको छ।’

जनक शिक्षा भन्छ : सबै जिल्लामा पुस्तक पठाइसकेका छौँ

यता,सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका महासचिव चित्रकुमार आचार्यले सबै जिल्लामा नयाँ पाठ्यपुस्तक पठाइसकेको दाबी गरे। कहीँकतै बाढी-पहिरोले गर्दा पुस्तक सम्बन्धित ठाउँमा पुग्न नसकेको हुन सक्ने तर्क उनले गरे।

उनले भने, ‘पुस्तक छाप्ने र सम्बन्धित ठाउँमा नयाँ पुस्तक पुर्‍याउने हाम्रै काम हो, पुस्तक छापेर पनि पठाइसकेका छौँ,बाढी-पहिरोले रोकिएको हो कि, त्यस्तो हो भने बुझेर ती ठाउँमा पुस्तक पुर्‍याउँछौँ।

उनले कर्णाली प्रदेशको लागि पाठ्यपुस्तक सुर्खेत जिल्लाको जनक शिक्षा प्रादेशिक कार्यालयमा पठाइसकिएको जानकारी दिए। उनका अनुसार यस वर्ष करिब एक करोड ७० लाख थान नयाँ पाठ्यपुस्तक छापिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.