|

जनकपुरधाम : विपक्षी पाँच दलका विद्यार्थी संगठनका नेता–कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार जनकपुरधाममा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।

प्रतिनिधिसभा विघटन गरेर देशलाई बर्बाद गर्न लागेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध  प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

संयुक्त विद्यार्थी संगठनमा आबद्ध नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियु धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायत संगठनका नेता–कार्यकर्ताले रेल्वे स्टेसनबाट सुरु गरेको विरोध प्रदर्शन भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएर समापन गरिएको थियो।

जनक चोकमै उनीहरूले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए।

संयुक्त विद्यार्थी संगठनको अगुवाइमा निस्केको विरोध र्‍यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी गरेका थिए। ‘केपी–विद्या तेरो पाराले, दुःख पायो साराले’, ‘अब त अति भो, राष्ट्रलाई क्षति भो’, ‘प्रतिगमनकारी मुर्दावाद, मनमानी चल्दैन’जस्ता नारा लगाएका थिए।

नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले संगठनको पूर्वनिर्धारित कार्यक्रमअनुसार जनपद र सशस्त्र प्रहरीको कडा सुरक्षाबीच प्रदर्शनका गरिएको बताए।

यता, संयुक्त विद्यार्थी संगठनले घोषणा गरेको विरोध प्रदर्शनको प्रतिकार गर्ने चेतावनी दिएका ओली निकटका राष्ट्रिय युवा संघको कार्यकर्ताहरूको आजको विरोध प्रदर्शनमा उपस्थिति देखिएन।

प्रधानमन्त्री ओलीको कडा आलोचना गरेको भन्दै ओली समूहका राष्ट्रिय युवा संघ धनुषाका कार्यकर्ताहरूले विरोध प्रदर्शनको प्रतिकार गर्ने चेतावनी दिँदै आएका थिए। 

आज देशभरका विभिन्न सहरमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै विपक्षी दलका संगठनहरूले पुत्ला दहन गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.