'गुट अन्त्यका लागि नेतृत्व लिन चाहन्छु'

|

काठमाडाैं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कसैलाई छोड्नका लागि र कुनै स्वार्थ समूहसँगको सौदाबाजीका लागि आफूले सभापतिमा उम्मेदवारी घोषणा नगरेको स्पष्ट पारेका छन्।

न्युज एजेन्सी नेपालसँग बिहीबार कुरा गर्दै उपसभापति निधिले आफ्नो उम्मेदवारी कसैलाई छोड्नका लागि नभएको बताएका हुन्। पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा सभापति उम्मेदवारमा सहमति जुटाउन छलफल र परामर्शलाई तीव्रता दिएका निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षणका लागि र पार्टीभित्रको गुटउपगुटको अन्त्यका लागि आफूले पार्टीको नेतृत्व लिन चाहेको बताए।

पार्टीले गर्न बाँकी रहेका कामहरूलाई आफ्नो अगुवाइमा सम्पन्न गर्ने गरी १३ औ महाधिवेशनका पदाधिकारीले सहयोग गरून् भन्ने आफ्नो चाहना रहेको उपसभापति निधिले बताए।

उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको 'रुख' छापलाई जिताउनु नै आफ्नो प्रमुख उद्देश्य र कर्तव्य रहेको स्पष्ट पारे। नेपाली कांग्रेस वैचारिक र सांगठनिक रुपमा प्रस्ट र सक्षम हुँदै एकढिक्का भएर नेपाली जनतामाझ जान आवश्यक भएको भन्दै उनले त्यसपछि वर्तमान अवस्थामा देखिएका विविध क्षेत्रका विकृति हटाएर जनताको अपेक्षाअनुरुप शासन सत्ता सञ्चालनको वातावरण बनाउन आवश्यक रहेको र त्यसको नेतृत्व गर्न आफूले चाहेको स्पष्ट पारे।

भने, 'जनताले जिताएर जसलाई पठाइदियो प्रयोगशालाबाट देखिसकियो। उनीहरूले त्यो जिम्मेवारी पूरा गर्न सकेनन्। अब त्यो जिम्मेवारी नेपाली कांग्रेसको हो। त्यसकारण नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षण गर्नु, त्यसको स्वामित्व लिनु, त्यसलाई अझै सम्बर्द्धन गर्दै लगेर सफल कार्यान्वयन गरेर जनता र देशको हितमा कार्यासञ्चालन गर्नु आवश्यक छ।'

उक्त आवश्यकता पूरा गर्न आफूले सभापतिको उम्मेदवारी दिएको, छोड्नका लागि कोही अरुसँग सम्झौता गर्नका लागि वा स्वार्थ समूह केही पनि नभएको उनले प्रस्ट्याए। 

उनले सत्तापक्ष र सरकारको वर्तमान शासन सञ्चालन प्रणाली र संविधानप्रति पनि इमानदार नरहेको प्रणालीको रक्षा र प्रवर्द्धनका लागि कांग्रेस सशक्त भएर अबढ्नुपर्ने आवश्यकता औंल्याए। 

प्रस्तुत छ नेता निधिसँग न्युज एजेन्सी नेपालले गरेको अन्तर्वार्ता  

महाधिवेशनकेन्द्रित गतिविधि कसरी अघि बढेका छन् ?

नेपाली कांग्रेसको महाधिवेशन धेरै पहिले हुनुपर्ने  हो। ढिलो भए पनि भदौ १६,१७ र १८ गतेका लागि तोकेका छौं। महाधिवेशन हामीले गर्नैपर्ने हुन्छ। कोरोनाले गर्दा धेरै अवरोध आइरहेको छ।

जिल्ला जिल्लामा जानुपर्ने धेरै सार्थीहरूसँग भेट गर्न सकिरहेको छैन। कोरोनाको कारणले मैले गर्न सकिरहेको छैन। धेरै साथीहरूले गर्न सकिरहनुभएको छैन। त्यसको बाबजुद मैले टेलिफोन गरेर ७७ वटै जिल्ला सभापतिहरू, १ सय ६५ संसदीय निर्वाचन क्षेत्र सभापति, पुरानो २ सय ४० जना महाधिवेशन प्रतिनिधिहरूलाई तथा संगठनका नेताहरू सबैसँग मैले फोनबाट म उम्मेदवारी दिन चाहन्छु।

तपाईंहरूको सहयोग चाहिन्छ भनेको छु। त्योभन्दा अगाडि पार्टी सभापति शेरबहादुर देउवाज्युलाई नै भनेको थिएँ। रामचन्द्र पौडेलजी, सिटौलाजी, प्रकाशमानजी, शशांकजीलगायत सबैलाई र केन्द्रीय समितिको साथीहरूलाई मैले सरसल्लाह गरेकै हुँ। प्रायः सबैले मेरो उम्मेदवारीलाई सकारात्मक दृष्टिकोणले लिनुभएको थियो। छ पनि।

केही दिनअघि भएको तीन शीर्ष नेताको भेटबारे चासो बढेको छ। त्यहाँ विमलेन्द्रनिधिले अर्को एउटा समूह खडा गर्नुभयो भन्ने पनि छ। त्यो भेट आफैंमा सामूहिक सौदाबाजीमा लागेको हो कि? अर्को एउटा स्वार्थ समूहका लागि हो कि? पार्टीभित्र अर्को एउटा गुट जन्मँदै छ कि भन्ने शंका छ नि?

नेपालको राजनीतिमा विश्लेषण मात्रै होइन, अतिविश्लेषण गर्ने बानी छ। फेसन पनि छ। स्वार्थ समूह पनि होइन। अर्को नयाँ गुट पनि होइन। केही पनि होइन। म पनि नेपाली कांग्रेसको दलीय राजनीतिमा, संगठनात्मक राजनीतिमा आजदेखि छैन। त्योभन्दा पहिला म विद्यार्थी संगठनमा थिएँ। लोकतान्त्रिक आन्दोलनको प्रक्रियामा (दरबारमा) हामी जेल गएका थियौं। म पनि जेल गएको थिएँ। त्यसकारणले मैले नेपाली कांग्रेसको नेतृत्वको लागि जब आफुलाई प्रस्तुत गर्दछु, त्यसमा स्वभाविक हुन्छ शेरबहादुरजी, रामचन्द्रजी, सिटौलाजीसँग पनि भेट्ने। प्रकाशमान जी, शशांकजीसँग पनि भेट्ने। प्रकाशमानजी पनि आजै राजनीतिमा लाग्नुभएको होइन। प्रकाशमानजी त  पूर्वउपसभापति पूर्वमहामन्त्री भइसकेको मान्छे हो। योभन्दा पहिला पनि भेटघाट गरेकै हो।

शशांकजी राजनीतिमा ढिलो आए पनि उहाँ त निर्वाचित महामन्त्री हो नि। नवलपरासीबाट त तीन पटक निर्वाचित सांसद हुनुहुन्छ। त्यसकारण म आफूलाई सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गरिरहँदा म पहिला सर्वसम्मति बन्न  कोशिस गर्छु। सबैको तर्फबाट निर्विरोध सभापति बन्नु भन्ने चाहना हुनु स्वाभाविक हो नि त। त्यसको लागि म घरमै बसेर हुन्छ र? मैले सबैसँग भेट्नुपर्छ।

मैले प्रकाशमानजी र शशांकजीसँग मात्रै भेटेको भए एउटा कुरा हो। शेरबहादुरजीसँग भेटेको छु। रामचन्द्र जीसँग भेटेको छु। सिटौलाजीसँग भेटेको छु। प्रकाशमान जी र शशांकजीसँग पनि भेट्दा लञ्च मिटिङचाहिँ भयो। पहिले पहिले डिनर मिटिङ हुन्थ्यो। अहिले पनि भएका छन्। तपाईंहरूको ध्यान त्यतापट्टि गएन। अहिले प्रकाशमानजी, शशांकजी र म राजनीतिमा पदाधिकारी भइसकेका हौं। नया प्रवेश गरेको होइन। हामी हैसियतमा छौ। हैसियत भन्नाले एउटा भूमिकामा जिम्मेवारीमा छौ। हामी जिम्मेवारीमा भएकाले सामूहिक रुपमा भूमिका निर्वाह गर्न सक्छौं कि र सामूहिक रुपमा नेपाली कांग्रेसलाई राष्ट्रिय राजनीतिको सन्दर्भमा युनाइटेड रुपमा प्रस्तुत गर्न सकिन्छ कि? त्यो प्रयास गर्नु त हाम्रो कर्तव्य पनि त हो नि त। त्यसै अर्थमा लिनुपर्दछ। यो कुनै नयाँ गुट निर्माण गर्नको लागि पनि होइन बरु गुटहरूको राजनीति भत्काउन सबैलाई समेटेर हामी हिँड्नुपर्छ है भन्नका लागि हो।

सभापतिको उम्मेदवार भएपछि प्रकाशमानजीको घरमा नै गएँ। दुई पटक भेटेँ। म सभापतिको उम्मेदवार हुन्छु, तपाईंको सहयोग चाहियो। भन्नुपरो नि त एक्लै आफैंले त जितिँदैन नि त। त्यस्तै शशांकजी को घरमा पनि गएँ। अरु नेताको घरमा पनि गएँ। उहाँहरू पनि उम्मेदवार भनेर आफूले प्रस्तुत गर्नुभएको छ। त्यसकारण उम्मेदवारहरूबीचमा छलफल हुनु त सामान्य कुरा हो नि।

नेपाली कांग्रेस र देशको राजनीतिबारे साझा धारणा बनाउन सकियोस् भनेर हामीले केन्द्रीय समितिका अन्य सदस्यहरूसँग पनि छलफल गर्दै छौं।

कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रक्रिया जहिले पनि जटिल हुन्छ। हिजो पनि थियो आज पनि। कुनै न कुनै परिबन्दमा नेतृत्वमा आउन युवा पंक्तिलाई रोकिने गरिन्छ। के यो महाधिवेशनले यस परिबन्‍दलाई तोडेर नेतृत्व हस्तान्तरण गर्न सक्छ?

म तपाईंको प्रश्नको आशय र सिद्धान्तसँग सहमत छैन। नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणमा जहिले पनि जटिल छ भन्ने होइन। नेपाली कांग्रेस पार्टी नै यस्तो पार्टी हो, डेमोक्रेसीमा के भनिन्छ भने नि 'स्मुथ ट्रान्सफर' अफ लिडरसिप भनेको देखिन्छ। नेपाली कांग्रेसमा स्मुथ ट्रान्सफर अफ लिडरसिप देखिन्छ। यो डेमोक्रेसीको ब्युटी हो। यो निर्वाचन प्रणालीबाट भइरहेको छ।

बिपी कोइरालाको समयमा पनि निर्वाचन हुन्थ्यो। त्यसपछि त डेमोक्रेसी नै रहेन। जब डेमोक्रेसी रिस्टोर भयो नेपालमा, त्यसपछि गिरिजाप्रसाद कोइरालाजीले चुनाव लड्नुभयो र जित्नुभयो। शुशील पनि चुनाव लड्नुभयो, जित्नुभयो। शेरबहादुर चुनाव लड्नुभयो, जित्नुभयो। नेतृत्व प्रणालीबाट नेतृत्वको हस्तान्तरण गर्ने पार्टी यदि नेपालमा कोही छ भने  त्यो नेपाली कांग्रेस पार्टी हो।

नेपालमा मात्रै होइन भारतमा पनि देखिनँ मैले। त्यसकारण नेपाली कांग्रेसमा जहिले पनि नेतृत्व हस्तान्तरण प्रक्रिया जटिल हुन्छ भन्नेमा म सहमत छैन। नेपाली कांग्रेसको केन्द्रीय सभापति वा पदाधिकारीहरूको निर्वाचन ४/५ हजार महाधिवेशन प्रतिनिधिले गर्दछन्। त्यो प्रतिनिधिहरू टीका लगाएर आएको होइन। निर्वाचन प्रणालीबाट तल्लो निकायबाट वडाबाट, वडाबाट पालिकामा, पालिकाबाट क्षेत्र र क्षेत्रबाट केन्द्रमा आउँछन्। यसमा कसैले कसैलाई रोक्न सक्क्तैनन्। जसले मतदाताको भोट पाउँछ, त्यो निर्वाचित हुन्छ। 

महाधिवेशन प्रतिनिधिहरूमाथि निर्भर रहन्छ। महाधिवेशन प्रतिनिधिहरूलाई कसरी प्रभावित गर्ने, आफ्नो पक्षमा कसरी पार्ने भन्ने कुरा उम्मेदवारमा भर पर्छ। कसैले कसैलाई नलड् भन्दैन नि त

कसैले जानी जानी फलानोको समर्थन पाइनँ भने म जित्न सक्दिनँ भनेर सोचेर आफैं उम्मेदवार नहुनु एउटा कुरा हो। तर उम्मेदवार हुनका लागि कसैले कसैलाई रोक्दैन नेपाली कांंग्रेसमा। रोकेको पनि छैन। रोक्दैन पनि।

मैले प्रक्रियाभन्दा पनि विधिको कुरा सोधेको थिएँ। वर्तमान सभापति हिजो गिरिजाप्रसाद लडेको, सुशीलसँग पनि लड्नुभयो अहिले आफैं पनि चासो देखाउँदै हुनुहुन्छ। मैले यस अर्थमा जटिल भो कि भनेको।

निर्वाचन प्रणाली संसारमा लोकतन्त्रका लागि सबैभन्दा उत्तम उपकरण हो। निर्वाचन प्रणालीको पनि अवगुणहरू छन्। तर वेष्ट मोडलमध्ये सबैभन्दा वेष्ट मोडल भनेको निर्वाचन प्रणाली नै हो। हाम्रा राजनीतिक शास्त्रीहरूले पढाउनुभएको पनि त्यही हो र लेख्नुभएको पनि त्यही हो। नेपाली कांग्रेसको निर्वाचनको सम्बन्धमा पार्टी सभापति देउवाजीले  लड्छु भनिसकेपछि नलड्नुस् भनेर अनुरोध गर्नु एउटा कुरा हो। अधिकार त हो नि उहाँले। हामीले के भन्छौं भनेदेखि देउवा, रामचन्द्र , सिटौला नलड्दिए हुन्थ्यो। १३ औ महाधिवेशनका कोही पनि नलड्दिए हुन्थ्यो भन्ने लागेको छ। लागेर मात्रै त भएन नि त। लड्छु भनेपछि नलड्नु है भन्न त मिल्दैन। त्यसकारण राजनीति नै जटिल हुन्छ। राजनीतिक चिज नै, क्षेत्र नै जटिल चिज हो। निर्वाचन प्रणाली पनि जटिल हो। निर्वाचन प्रणालीलाई सम्पन्न गर्न, सम्पादन गर्न जुन स्वाभाविक जटिलताहरू छन्, त्यो जटिलताहरू त हामीले व्यहोर्नुपर्छ।

लामो समय पार्टी सभापति देउवाको विश्वास पात्रको रुपमा भरोसा पनि दिनुभयो। उहाँलाई नै प्रतिस्पर्धीको रुपमा देख्दा भेट्दा अलिकति असहज त हुन्छ होला। यस्तो अवस्था आउँदा विमलेन्द्र निधिले देउवालाई छोड्छन् भन्ने पनि छ नि।

महत्वपूर्ण निर्णय मैले हचुवा र हतारमा लिन्नँ। मैले सभापतिमा लड्छु भनेको छोड्नका लागि होइन। मैले सभापतिमा उम्मेदवारी दिएको मुल उद्देश्य देउवा, पाैडेल १३ औं महाधिवेशनका उम्मेदवार हुन्। उहाँहरूले देश र जनताका लागि जति काम गर्नुपर्ने थियो, गरिसक्नुभएको छ।

उहाँहरूले फरक भूमिकामा अरु पनि काम गर्न बाँकी छ। उहाँहरूको सक्रियता हामीले अपेक्षा गरेका छौ|। पार्टीको कार्यकारणीको रुपमा उहाँहरूले गर्न बाँकी रहेका कामहरू मेरो अगुवाइमा होस् भन्ने चाहना हो।

प्रमुख रुपमा प्रतिनिधिसभाको निर्वाचन हो। प्रतिनिधिसभाको निर्वाचन जहिले हुन्छ, त्यसमा नेपाली कांग्रेसको रुख छापलाई जिताउनु आवश्यक छ। नेपाली कांग्रेसको सदस्यको हैसियतले मेरो कर्तव्य त्यो हो।

मैले पहिलेभन्दा बढी जिम्मेवार भएर कांग्रेसलाई आगामी निर्वाचनमा जिताउनुपर्दछ। जनता र मतदाताबीच नेपाली कांग्रेसलाई यसरी तयार गरौं, आम मतदातालाई लागोस् नेपाली कांग्रेस एक भएर आएको छ। कांग्रेस ताजा भएर आएको छ।

कांग्रेस वैचारिक रुपमा पनि प्रस्ट भएर आएको छ, सांगठनिक रुपमा पनि प्रस्ट छ। यो देशमा अहिले भाँडभैलो भइरहेको छ। राजनीतिक, व्यवसायिक, सामाजिक, अन्तराष्ट्रिय सम्बन्ध, उद्योग व्यवसायको क्षेत्रमा भाँडभैलो छ।

नेपालमा धेरैको बलिदान भएर दुई वटा संविधानसभाको निर्वाचनमार्फत देशमा राज्यको पुनर्संरचना गरेका छौं। रुपान्तरण गरेका छौं। संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशीता, धर्मनिरपेक्षता, यी सब निर्वाचन प्रणाली यो अहिलेको हामीले ल्याएको नयाँ प्रणालीको प्रमुख तत्वहरूको रुपमा छ। हामीले संविधान जारी गर्‍याैं। गएको तीन वर्षदेखि के देख्दै छौं भने सत्तापक्ष र सरकारको प्रणालीप्रति र संविधानप्रति पनि इमानदारिता छैन।

हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको रक्षा र सफल कार्यान्वयन गर्नु अहिले कुनै पनि राजनीतिक दलको जिम्मेवारी हो। अरु राजनीतिक दलले त्यो जिम्मेवारी निर्वाह गर्न सकेनन्। जनताले जिताएर जसलाई पठाइदियो प्रयोगशालाबाट देखिसकियो उनीहरूले त्यो जिम्मेवारी पूरा गर्न सकेनन्। अब त्यो जिम्मेवारी कांग्रेसको हो।

त्यसकारण कांग्रेसले १४ औ महाधिवेशनबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षण गर्नु, त्यसको स्वामित्व लिनु, त्यसलाई अझै सम्बर्द्धन गर्दै लगेर सफल कार्यान्वयन गरेर जनता र देशको हितमा कार्यसञ्चालन गर्नु आवश्यक छ। त्यो आवश्यकता पूरा गर्न म कांग्रेसको सभापतिको उम्मेवारको रुपमा प्रस्तुत गरेको छु। त्यसकारण छोड्नका लागि कोही अरुसँग सम्झौता गर्न वा तपाईंले भनेजस्तो स्वार्थ समूह केही पनि होइन। मेरो एक मात्रै उद्देश्य त्यही हो। त्यसैका लागि मात्रै हो मेरो उम्मेदवारी।

 हामीले सभापतिमा निधिको औपचारिक उम्मेदवारी त्यसमा पनि समूहगत उम्मेदवारीको जानकारी कहिले पाउँछौ?

पहिला हामी सबै महाधिवेशन प्रतिनिधि भएर आउनुपर्‍यो। कांग्रेसको उम्मेदवार र मतदाता बन्नका लागि महाधिवेशन प्रतिनिधि बन्नैपर्छ। महाधिवेशन प्रतिनिधि चयन भइसकेपछि मात्रै टिम बनाउने हो। मेरो टिमको उपसभापति, महामन्त्री को हुने भन्ने अनौपचारिक छलफल मैले पनि गरिरहेको छु। बाहिर ल्याएको छैन। ल्याउनु जरुरी पनि छैन। उपयुक्त समय आएपछि ल्याउँछु।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.