|

काठमाडौं : सरकारले गत १५ गतेबाट काठमाडौंं उपत्यकाभित्र जोरबिजोर प्रणालीबाट २५ सिट माथिका सार्वजनिक सवारीसाधन चल्न दिएको छ। यस अघि भने निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट चल्दै आएका थिए।

तर अहिले सडकमा जोरको दिन बिजोर र बिजोरको दिनमा पनि जोर नम्बरका सवारीसाधन चल्न थालेका छन्। सवारीसाधन चाप बढेपछि ट्राफिक जाम हुने गरेको छ। 

पछिल्लो समय चेकिङमा कडाई गरिएको छैन। जसकारण सबै नम्बरका सवारीसाधन सडकमा गुडिरहेका छन्। ट्राफिक प्रहरीले चेकजाँच गरेकाे देखिँदैन।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जोरबिजोर प्रणालीलाई उल्लंघन गर्न नमिल्ने बताए। उनले भने,‘उपत्यकामा निषेधाज्ञा जारी छ,जोरबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्न दिइएको छ,थप कडाई गर्न प्रहरीलाई अब जानकारी गराउँछौँ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले अत्यावश्यकका सवारी साधनलाई भने जोरबिजोर प्रणाली लागू नहुने बताउँछन्। ‘जोरबिजोर प्रणालीलाई कडाई गरिरहेका छौँ,अत्यावश्यक पत्रकार,पेट्रोलियम पदार्थ, बैंक तथा वित्तिय सस्थाका गाडी र सरकारी गाडीमा जोरबिजोर लागु हुँदैन, त्यसैले ती सवारीसाधन गुडेकाे देखिएको हो।’

तर यात्रुबाहक बस पनि निषेधाज्ञा उल्लङ्घन गरी चलेका छन्। सडकमा सवारीसाधन धेरै गुडेकाले चेकिङ गर्न पनि समस्या भएको भट्टराई बताउँछन्। ‘सवारीसाधन चेकिङ गर्दा जाम भइहाल्छ,त्यसैले धेरै समस्या भएको छ,’उनले भने।

उनका अनुसार जोरबिजोर लागू नभएको बेला उपत्यकाभित्रका ८२ ठाउँमा सवारी चेकिङ पोइन्ट राखिएको थियो। अहिले भने २४ ठाउँमा चेकिङ पोइन्ट राखिएको छ।

ट्राफिक प्रहरीले शुक्रबार ११ बजेसम्ममा जोर बिजोर तथा निषेधाज्ञा उल्लङ्घन गर्ने ७७ सवारीसाधनलाई उपत्यकाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। जसमा ५८ ओटा दुई पाङ्ग्रे, १६ ओटा चार पाङ्ग्रे र ३ ओटा अन्य सवारीसाधन रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.