|
फाइल फोटो

काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी‚ कन्काई, कमला नदीमा पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने सम्भावना रहेको जनाएको छ।

कोशी ब्यारेजमा शनिबार बिहान ८ बजे २ लाख २२ हजार ७७५ क्युसेक पानीको बहाव मापन गरिएको छ। यो यस वर्षकै उच्च हो। पानीको बहाव उच्च भयसँगै खतराको जनाउ दिने झन्डा राखिनुको साथै रातो बत्ती बालिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। अहिले ब्यारेजको ५६ ढोकामध्ये २९ ढोका खुला गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती, पूर्वी राप्तीलगायतमा नदी तथा खोलामा पानीको बहाब बढ्दो हुने र खतरा तह आसपास रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

शनिबार बिहानको मापन अनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाप सामान्य रहेको छ। नारायणी र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहे पनि अहिले बहाव सतर्कता तहभन्दा तल रहेको छ। नारायणीका सहायक नदी मर्स्याङ्दी, बिमलनगर र पूर्वी राप्ती, रजैयामा जलसतहले सतर्कता तह पार गरेको तर घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ। 

यस्तै‚ कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने महाशाखाले जनाएको छ। भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशीलगायत कोशीका सहायक नदीहरु तथा नारायणी र यसका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ। पश्चिम राप्ती, बबईमा बहाब सामान्य रहने, कनकाई र कमला जलाधारका स-सना सहायक नदीहरुमा बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने तथा बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरुमा मध्यम देखि भारी वर्षा भई बहाब बढ्ने र खतरा तह आसपास रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ, भोजपुर र ताप्लेजुङ भई बग्ने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव आई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेको छ। यी जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

यस्तै‚ प्रदेश २ का बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको काठमाडौं, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा भएर बग्ने नदी तथा खोलामा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्गजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर, लुम्बिनी प्रदेशको रुपन्देही, परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, भई बग्ने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव आई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेको छ। यी जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.