|

हेटौंडा : लगातारको वर्षाले मकवानपुरको विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको समस्या भएको छ।  

बुधबारदेखिको लगातारको वर्षाले हेटौंडा उपमहानगरपालिका–५ को करिव २०० घर डुबानमा परेका छन्। वडा अध्यक्ष राजेश बानियाँको अनुसार लट्टिनाथ, सिँचाइ टोल र  राईटोलका घर डुबानमा परेका छन्। शुक्रबार राति परेको भीषण वर्षापछि आएको घर डुबानमा परेको हो।

घरमा डुबानमा परेपछ िकेही स्थानीय अन्य टोलको घरमा गएर बसेका र केही माथिल्लो तलामा बसिरहेको वडाध्यक्ष बानियाँले बताए। डुवानमा परेको पानी कटाउने काम भइरहेको र थप पानी परे ठूलो जोखिम निम्तने सक्ने उनको भनाइ छ। 

यस्तै, थाहा नगरपालिकाको वडा नम्बर २ र ३ को फेदीगाउँको करिब २५ घरपरिवार अन्यत्र सरेका  छन्। फेदीखोलाको बहाव बढेको र पहिरोको पनि जोखिम रहेकाले उनीहरु अन्यत्र सरेको नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले जानकारी दिए। 

‘रातभरि पानी परिरहँदा  कुनै पनि बेला खोला बढेर बस्तीमा आउन सक्ने र पहिरो पनि खस्न सक्नने जोखिम रहेको हुँदा हामीले त्यहाँ नबस्न आग्रह गरेका थियौं,’ गोपालीले भने, ‘त्यहाँको करिब २५ परिवार अन्यत्र आफन्तको घरमा सर्नुभएको  छ।’ थाहा नगरपालिकाको २ र ३ नम्बर वडामा २०५० सालमा आएको बाढीले ठूलो मात्रामा जनधनको क्षति गरेको थियो। 

मनहरी गाउँपालिकाको विभिन्न वडाको खेतीयोग्य जमिनहरु बगाएर लगेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताएका छन्। उप्रेतीले गाउँपालिकाको विभिन्न स्थानमा खहरे बढ्दा करिब ५०० घर जोखिममा रहेको बताए। उनले लगातार पानी परिरहे ती घरपरिवारलाई विद्यालयमा सार्नुपर्ने पनि बताएका छन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.