भेरोसेलको दोस्रो मात्रा असार २२ देखि

|

बैतडी : कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएका बैतडीका ज्येष्ठ नागरिकलाई खोपको दोस्रो मात्रा दिने विषयमा अझै पनि अन्योल रहेको छ।

जिल्लामा देशभरी जस्तै ६५ वर्ष माथिका नागरिकलाई कोभिसिल्ड खोपको पहिला मात्रा लगाएको भए पनि दोस्रो मात्रा कहिले लगाउने भन्ने विषयमा अनिश्चितता कायमै रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

उनले भने,‘कोभिसिल्ड खोपको आयात नै नभएकाले कहिले दोस्रो मात्रा लगाउने भन्ने विषयमा यकिन छैन।’ बैतडीमा गत फागुन २३ देखि चैत २ गते सम्म ज्येष्ठ नागरिकलाई कोभिसिल्डको पहिलो मात्रा लगाइएको थियो।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएको १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाई सक्नुपर्ने हुन्छ। बैतडीमा १२ हजार ९५३ जना ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए। ‘कोभिसिल्डको दोस्रो मात्रा कहिले आउँछ भन्ने विषयमा अहिलेसम्म यकिन भएको छैन। त्यसैले पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा कहिले लगाउने विषयमा टुंगो छैन’, उनले भने ।

दशरथचन्द नगरपालिकामा १ हजार ८१७ जना, पाटन नगरपालिकामा २ हजार ४१७ जना, मेलौली नगरपालिकामा ९०७ जना, पुर्चौडी नगरपालिकामा १ हजार ९६० जना र सिगास गाउँपालिकामा १ हजार ५० जना ज्येष्ठ नागरिकले खोपको पहिलो मात्रा लगाएका थिए।

यस्तै, सुर्नया गाउँपालिकामा ८ सय, दोगडाकेदार गाउँपालिकामा १ हजार ४६३ जना, डिलाशैनी गाउँपालिकामा १ हजार ८९, पञ्चेश्वर गाउँपालिकामा ८ सय जना र शिवनाथ गाउँपालिकामा ६ सय ५० जना ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन्।

भेरोसेल खोपको दोस्रो मात्रा असार २२ देखि

यसैबीच बैतडीमा असार २२ गतेदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ। गत जेठ २८ देखि जिल्लामा सञ्चालन भएको कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई पालिकाअनुसार दोस्रो मात्रा लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

बैतडीमा करीब ३ हजार नागरिकले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा दिने तयारी भएको हो।

खोपको पहिलो मात्रा लगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा खोप कार्डसहित आउन आग्रह गरिएको छ। दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका नागरिकलाई असार २२ गते भेरोशेल खोपको दोस्रो मात्रा दिइनेछ।

यस्तै, मेलौली नगरपालिकाका नागरिकलाई असार २३ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ। पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई असार २५ गते खोप लगाइनेछ भने सिगास र सुर्नया गाउँपालिकाका नागरिकलाई असार २६ गते खोप लगाइनेछ।

यसैगरी, पुर्चौंडी नगरपालिकाका नागरिकलाई असार ३१ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ। प्रत्येक वडाका स्वास्थ्य संस्थाहरूमा खोप केन्द्र तोकिएको र तोकिएका ठाउँमा खोपको दोस्रो मात्रा लगाइने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.