|

अर्घाखाँची : किसानले धान रोपाइँ गरिरहेका बेलामा ५० प्रतिशत अनुदानमा खेत जोत्नका लागि मिलिटेलर पाएपछि शीतगंगा-११ का किसान खुसीले फुरुंग छन्।  खेत रोपाइँको बेला खेताला नपाएर हैरानी खेप्दै आएका यहाँका किसानलाई पचास प्रतिशत अनुदानमा वडा कार्यालयले मिनिटेलर वितरण गरेपछि उनीहरू खुसी भएका हुन्।

किसानको खुसी

धान रोप्ने समयमा वडा कार्यालयले किसानको मर्म बुझेर मिनिटेलर उपलब्ध गराउँदा खुसी लागेको जन जागरण कृषक समूहका सदस्य लुङग्री आँपखोलाका किसान नुमबहादुर पल्लीले बताए।  ‘जब खेत रोपाइँको बेला आउँछ तब मन भरि चिन्ता पलाउँछ, जोत्ने गोरु गाउँमा कसैले पाल्दैनन्’, उनले दुखेसो पोखे।

गाउँमा भएका सबै युवा जनशक्ति प्रदेसीएका छन्। खेतला नपाएर हैरानी खेप्दै आएका बेला वडाले मिनिटेलर दिएपछि यो वर्ष नसकेर छोडेको बाँझो खेतमा पनि धानबाली लगाउने किसान पल्लीले बताए। उनी मात्र होइनन् मिनिटेलर पाएपछी धौलागिरी कृषक समूह शितगंगा ११ फोर्सलका किसान गुन्ज बहादुर पल्ली पनि उत्तिकै खुसी छन्।

उनले भने, खेत धेरै छ तर काम गर्ने मान्छे पाइँदैनन्। पहिला पहिला गोरूले जोत्नु पर्दा महिनौं दिन लगाएर धान रोप्नु पर्थ्यो तर अहिले पाँच हल गोरूले दिन भरी गर्ने काम मिनिटेलेरले ३ घण्टामै सक्दो रहेछ। अहिले त धान रोप्ने खेतला र केही हिलो सम्याउने बाउँसे खोजे काम सकिने पल्लीको भनाइ छ।

व्‍यक्तिले बजारमा किन्दा मिनिटेलरलाई ८० देखि ९५ हजारसम्म मान्छे हेरेर भाउ गर्दा रहेछन्। तर वडाले खरिद गरेर ५० प्रतिशत अनुदानमा मिनिटेलर उपलब्ध गराउँदा सबै किसान खुसी भएको रानीकुवा कृषि सहकारी संस्थामा आबद्ध शीतगंगा-११ टिक्करीका किसान धनबहादुर कुँवरले बताए।

उनले गतवर्ष नगरपालिकाले दिएको सानो हाते ट्याक्टरभन्दा ५ गुना राम्रो र बलियो भएको बताए। मिनिटेलरले हिलोमा जोत्न सहज हुने र मेलो पनि छिटोछिटो सकिने हुदाँ यो धेरै प्रभावकारी भएको कुँवरले बताए।

‘मिनिटेलरले कम समयमा धेरै काम गर्न सकिने भएकाले खेत रोपाइँको समयमा मिनिटेलर पाउँदा सबै खुसी छौं’,उनले भने।

किसानको मर्म बुझेर मिनिटेलर दियौँ :  वडा अध्यक्ष

कृषि सामग्री नहुँदा वडाका विभिन्न ठाउँमा सयौं रोपनी खेतीयोग्य जमिन बाँझै रहने र ह्रास हुँदै आएको स्थानीय उत्पादनलाई वृद्धि गरी यहाँका किसानलाई कृषिमा आत्मनिर्भर बनाउन पनि वडाले किसानलाई मिनिटेलर दिएको वडा अध्यक्ष कपिल आलेले बताए।

गाउँमा किसानले गोरु पाल्न छोडेपछि जोत्नका लागि गोरु छैनन्। एकापट्टी जनशक्तिको कमी, अर्को जोत्ने गोरु नहुँदा सयौं खेतीयोग्य जमिन बाँझो राखेर युवा जनशक्ति जति खाडीमुलुक वा भारतमा रोजगारीका लागि जानुपर्ने स्थितिको अन्त्य गर्न पनि किसानलाई कृषि सामग्री दिएको अध्यक्ष आलेको भनाई छ।

खेतबारी जोत्न मिनिटेलर दिएपछि उत्पादन बढ्ने र खेतीयोग्य जमिन पनि बाँझो नरहने, किसानले उत्पादन गरेको अन्नबालीले वर्ष भरिलाई खान पुगेपछि अरू समयमा किसानको काम गरी आर्जन गरेको पैसा पनि बचत हुने विश्वास अध्यक्ष आलेको छ।

गत आर्थिक वर्षमा वडा कार्यालयबाट किसानका लागि  पाँच लाख रुपैयाँ  बिनियोजन गरिएको थियो। जसमध्ये गतबर्ष सलहले किसानको गहुँ र मकैबाली नष्ट गरेपछि अन्नबालीको बिउसमेत गुमाएका किसानलाई बीउ बिजन उपलब्ध गराईएको र बाँकी रहेको २ लाख ४० हजार रकमले किसानलाई ६ ओटा मिनिटेलर खरिद गरि ५० प्रतिशत अनुदानमा किसानलाई दिइएको अध्यक्ष आलेले बताए।

शुक्रबार एक कार्यम्रमबीच शीतगंगा ११ का ६ ओटा कृषक समूहलाई मिनिटेलर वितरण गरिएको हो। शीतगंगा ११ ढुङ्गेसेराको गुरू गंगा कृषक समूह, टिक्करीको रानीकुवा कृषि सहकारी संस्था, लुङग्री आँपखोलाको जन जागरण कृषक समूह, खयरभट्टीको लालीगुँरास कृषक समूह ,फोर्सलको धौलागिरी कृषक समुह र मौवाबारी कृषक समुहलाई एक एक ओटा मिनिटेलर वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.