|

कोभिड १९ को कारण सबैभन्दा बढी चलेको र बजारमा माग भइरहेको वस्तु मोवाइल तथा ल्यापटप नै हुन्। अनलाइन कक्षामा सहभागी हुन्, बालबालिकालाई गेम खेल्न, देशविदेशमा रहेका आफन्तसँग मनका कुरा साट्न पनि यही चाहिन्छ।

प्रेमी प्रेमिकालाई एकछिन भए पनि तनाव बिर्सजन गर्न र आफन्तहरूको सुख दुःखका कथा व्‍यथा सुन्‍ने सुनाउने कामका लागिसमेत मोबाइल तथा ल्यापटपले ठूलो बजार ओगटेको छ। कोरानो कहरले विश्वमा बन्दाबन्दी सुरु भएयता यसको माग कति भयो भन्नेकुरा हाल पनि बजारमा रहेको यसको अभावले जनाउछ। 

नागरिकको अधिकारको संरक्षणका लागि लगाइएको निषेधाज्ञाको कारण नागरिक नै पीडित पनि भएका छन्। त्यस्मा पनि अठार वर्षमुनिका बालबालिका अझ झन् पीडित भएका छन्। जसलाई कामको प्रकृति र परिणाम थाहा हुँदैन। उनीहरू निषेधाज्ञाबाहेक अभिभावकबाट पटकपटक पिटाई खानु परेको अवस्था गाउँ समाजमा विद्यमान छ।

कोभिड १९ को कारणले दुई वर्षयता विश्व जगत नै थिलोथिलो भएको अवस्थामा छ। दिनैपिच्छे विश्व बजारमा कोभिडका सम्बन्धमा नया नयाँ विचार, अवधारणा, अनुसन्धान, तथा उत्पादनहरू भइरहेका छन्। विश्वमा बालक युवा वृद्ध कोही पनि यसबाट अछुतो रहन सकेन।

स्वास्थ्य मन्त्रालयले तेस्रो लहर बालबालिकाका लागि बढी खतरा हुन सक्छ भनेपछि अबका केही महिनामा के हुने हो के के देख्नुपर्ने हो भनी आम नागरिकमा भय, डर तथा त्रासको वातावरण सृजना भएको छ।

नागरिकको अधिकारको संरक्षणका लागि लगाइएको निषेधाज्ञाको कारण नागरिक नै पीडित पनि भएका छन्। त्यस्मा पनि अठार वर्षमुनिका बालबालिका अझ झन् पीडित भएका छन्। जसलाई कामको प्रकृति र परिणाम थाहा हुँदैन। उनीहरू निषेधाज्ञाबाहेक अभिभावकबाट पटकपटक पिटाई खानु परेको अवस्था गाउँ समाजमा विद्यमान छ।

बालबालिका भन्नाले अठार वर्षमुनिकालाई जनाउछ भनेर बालअधिकारसम्बन्धी महासन्धि १९८९ को धारा १ मा उल्लेख गरिएको छ। वि.सं. २०६८ मा भएको जनगणनाअनुसार नेपालको कुल जनसंख्याको लगभग आधा हिस्सा बालबालिकाले ओगटेको छ।

बन्दाबन्दीको समयमा केही सीमित परिवारसँग सम्बन्धित बालबालिकाहरूले अनलाइन कक्षामा सहभागी भएर शैक्षिक अवसर प्राप्त गरेका छन्। विपन्नता र गरिबीको रेखामुनि रहेका परिवारसँग सम्बन्धित बालबालिकाहरू ती अधिकारको उपभोग गर्न सक्ने अवस्थामा छैनन्।

केही दिन पहिला सार्वजनिक गरिएको एक तथ्यांकले २५ प्रतिशत बालबालिकाले मात्रै अनलाइन शिक्षाको उपभोग गरेको पाइएको थियो। अनलाइन कक्षा बालबालिकाको लागि कति घातक छ भन्ने सरकार, विद्यालय संचालक तथा अभिभावक कसैले बुझेका छैन।

बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन कक्षा र दुई बजेदेखि रातिसम्म मोबाइलमा नै गृहकार्य गर्नुपर्ने बाध्यता छ।  बालबालिकामा मानसिक थकान, आँखामा पर्ने असर, शिक्षक शिक्षिकाका डरले दिशा पिसाब थुनी राख्नुपर्ने बाध्यता छ।

एकहोरा बसाई तथा बीचबीचमा आइलाग्ने नेट तथा बिजुलीको समस्याका कारण बालबालिका पीडित छन। बिछ्यौना वा भित्तामा अडेस लगाएर बस्दा कतिपय बालबालिकाको भने शरीर नै बांगो भएको, जिउ कुप्रो परेको भन्ने समेतका कुरा अभिभावकबाट सुन्न पाइन्छ।

अनलाइन कक्षाको कारण बालबालिका मात्र हैन अभिभावकसमेत पीडित भएका छन्। अभिभावकलाई पनि साना नानीलाई बैलैमा तयार पारि मोबाइल समात्दै कक्षामा बस्नुपर्ने बाध्यता छ। खाने सुत्ने कुनै ठेगान। सबै काम त्यागेर नानीहरूसँगै कक्षामा सहभागी हुनु परिरहको अवस्था छ।

निषेधाज्ञाको समयमा विद्यालय बन्द भएपछि हजुरबा, बुवा वा आफन्तबाट नै घर गाउँ समाजमा बालिका माथी विभिन्न प्रकारका हिंसा, दुर्व्यवहार तथा यौन हिंसा भइरहेका छन्।

पठनपाठनका लागि भनेर आमाबुवाले नै बालबालिकालाई पिट्ने, दाजुदिदीबाट पिट्न लगाउने, ट्वाइलेटमा थुन्ने, समयमा खाना नदिने, टिभी हेर्न नदिने, झर्केर जवाफ दिने जस्ता भौतिक तथा शारीरिक कारबाही गरी बाल अधिकारको गम्‍भीर उल्लंघन भई रहेका घटना बाहिर आइरहेका छन्।

साना अबोध कलिला नानीहरूलाई निषेधाज्ञाले घरबाहिर जान नपाएको दुई महिना हुन लागि सक्यो। उनीहरूले बजारिया खेकुरा खान र साथीभाइसँग मनलागेका कुरा सेयर गर्न पाएका छैनन्। भने अर्कोतर्फ बुवाआमा छोराछोरी तह लगाउन भनी सजाय दिइरहन्छन्।

बालबालिकालाई आफूले गरेको कामको प्रकृति र परिणाम नै थाहा हुँदैन। त्यसैले उनीहरू नगर्नु भनेको काम गर्ने, नखानु भनेको खाने, नजानु भनेको ठाउँमा जाने, शान्त र संयमित हुनु भनेकोमा चन्चलता प्रकट गर्ने जस्ता काम गर्दछन्। हुने विरुवाको चिल्लोपात भने जस्तै स्वस्थ्य र तन्दुरुस्त बालबालिका लक्षण हुन्। तर, यस्तो लक्षणयुक्त बालबालिकालाई घरमा पिटेर मात्र तह लगाउन सकिँदैन।

कोरोना भाइसको महामारीबाट शिशुदेखि १८ वर्षका नागरिकसम्म सबै उमेर समूहका व्‍यक्तिहरू पीडित भएका कुराहरू पढ्न सुन्न र देख्न पाइयो। कोरोना भाइरसको पहिलो लहरको तुलनामा दोस्रो लहरमा धेरै बालबालिकाहरू बढी संक्रमित भइरहेका छन्। अब तेस्रो लहर बालबालिकाको लागि निक्कै भयावह हुने कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले औँल्याइरहेका छन्।

स्वास्थ्य मन्त्रालयले अब आउने कोरोनाको तेस्रो लहर बालबालिकाको लागि खत्तरनाक हुने भएकाले प्रत्येक अस्पतालमा २० प्रतिशत शैय्‍या बालबालिकाको लागि छुट्याउने भनेपछि बालबालिकाको स्वास्थ्य तथा मानसिक अवस्थाका सम्बन्धमा अभिभावकहरू चिन्तित बनेका छन्।

चन्द्रमामा बस्ती बसाउन तयारी गरिरहेको बेला यसले विश्वजगतलाई पछाडि फर्केर सोच्न बाध्य पारिदियो। ठूला ठूला सपना बोकेका राष्ट्र र मान्छेलाई थाङ्ग्नामा सुताइदियो। कोरोनाले काम गर्नेलाई नगर्ने, नगर्नेलाई गर्ने, धर्म कर्म नगर्नेलाई धर्मकर्म गर्ने, लोभीलाई दानी र दानीलाई लोभी बनाई दियो

विश्व जगतमा धेरै जसो बयस्क मानिसहरू पहिलो र दोस्रो लहरमा कोरोना संक्रमित भइसकेका तथा कोरोनाविरुद्धको खोपको डोज प्राप्त गरिसकेको हुँदा तेस्रो लहर बालबालिकाको लागि खतरा हुने भनि भनिएको हुनसक्छ। तर हाम्रो देशमा भने अग्रपंक्तिमा काम गर्ने, ठूलाबडा जनप्रतिनिधि तथा केही ज्येष्ठ नागरिकहरूले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन्।

१३ लाख ज्येष्ठ नागरिक पहिलो डोज खोप लगाएर दोस्रो डोज खोपको आसै आशामा फागुनदेखि असार गुजार्दै छन्। उनीहरूमा खोप लगाएर दोस्रो डोज नपाउँदा तनाव सृजना भएको अवस्था छ। कतिपय ज्येष्ठ नागरिक भने यही तनावका कारण बिमारीसमेत भएका छन्।

नेपालमै पनि पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिकाहरू बढी संक्रमित देखिएका छन्। बालबालिकालाई कामको प्रकृति र परिणामको बारेमा ज्ञानको अभाव भए जस्तै उनीहरू सानोतिनो रुघाखोकी लागेर, ज्वरो आए पनि बयस्क जस्तो थला पर्दैनन्। 

बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूको नेपाल पक्षराष्ट्र बनेको छ। थुप्रै संघ संस्थाले यस क्षेत्रमा काम पनि गरिरहेका छन्। तर, बालबालिकालाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ भएको छ।

बालबालिकाको रोग प्रतिरोधी क्षमता उच्च हुने भएका कारण कोरोना भाइरसले आक्रमण गर्दासमेत गम्‍भीर बिमारी हुँदैनन्। कोरोना संक्रमणको हिसाबले उनीहरू पनि अन्य जतिकै जोखिममा हुन्छन्। अन्यहरूमा देखिएका लक्षण ज्वरो, खोकि तथा झाडापखाला उनीहरूमा पनि देखिन्छन्।

कोरोना नसर्ने ओखती भनेको भौतिक दूरी, साबुन पानी, मास्क तथा सेनिटाइजरको व्‍यावहारिक प्रयोगलाई मानिएको छ। तर बालबालिकाको हकमा यो एकदमै गारो छ। बालबालिका आमा बुवा तथा आफन्तलाई देख्दा काखमा बस्न रुचाउँछन्।

अभिभावक कार्यालयबाट वा अन्यत्रबाट आउँदा छुने अंगालो हाल्ने, काँधमा बस्ने, पिठ्युँमा बस्ने र गालामा म्वाईखाने जस्ता गतिविधी उनीहरूका लागि दैनिकी भए पनि हाल उक्त कार्य  गर्नु भनेको उनीहरूलाई जोखिममा पार्नु हो।

घरमा बस्दाको समयमा सबै जना मास्कको प्रयोग गर्ने र परिवारका सदस्य र बालबालिकाको बीचमा ६ फिटको दूरी कायम गर्ने कुरा श्रीमान श्रीमती छोराछोरीबीच लगभग असम्भव हुन्छ।

बालअधिकारको संरक्षण एवं सम्‍वर्द्धनका निमित्त नेपालमा विभिन्न ऐन, नियम, कानुन, संवैधानिक प्रावधानलगायतको व्‍यवस्था गरिएको छ। बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूको नेपाल पक्षराष्ट्र बनेको छ। थुप्रै संघ संस्थाले यस क्षेत्रमा काम पनि गरि रहेका छन्। तर, बालबालिकालाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ भएको छ।

निषेधाज्ञाको समयमा बन्दकोठामा बसि रहँदाको बालबालिकाको पीडाका सम्बन्धमा कागजमा जति कोरे पनि अधुरै रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.