मन्त्रालय भन्छ : तत्काल उपलब्ध गराउन सकिँदैन

|

काठमाडौं : सरकारले आफ्ना नागरिकका लागि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन नसक्दा वैदेशिक रोजगारमा जाने श्रमिक समस्यामा परेका छन्। मुख्य श्रम गन्तव्य मुलुकहरुले  कामदार लिन कोरोनाविरुद्धको खोपलाई अनिवार्य बनाएसँगै ३५ हजार भन्दा बढी नेपाली श्रमिक अलपत्र गरेका  हुन्।  

भिसा आइसकेका र श्रम स्वीकृति लिइसकेका श्रमिकले खोप लगाउन नपाएका कारण वैदेशिक रोजगारीमा जान पाएका छैनन्। जसका कारण ३५ हजार भन्दा बढी श्रमिकको रोजगारी गुम्ने देखिएकाे छ।

सरकारले समयमै खोप उपलब्ध गराउन नसक्दा भिसा आएका र श्रम स्वीकृति लिइसकेका कामदारको रोजगारी गुम्ने अबस्था आएको रोजगार व्यवसायी संघका महासचिव सुजात कुमार श्रेष्ठले बताए। उनले भने,‘सरकारले रोजगारी त दिन सकेन, श्रम गर्न जानेको लागि खोप पनि दिन नसक्नु दुखद् कुरा हो।’  

नेपालीको मुख्य श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, संयुक्त अरब,इमिरेट्स, मलेसिया, कुवेत, साउदी अरब, कतार, बहराइन लगायतका देशले नेपाली कामदार लिने मुख्य सर्त नै कोरोनाविरुद्धको खोप बनाएका छन्।

सरकारले खोप उपलव्ध गराउन सकेको छैन। यस अघि कोभिडविरुद्धको खोप उमेर समूहलाई लक्षित गरेर लगाएकाले धेरै मानिस खोप पाउनबाट वञ्चित भएका छन्। फ्रन्टलाइनमा काम गर्ने, स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अन्य पेसाका मानिसलाई खोप लगाइ सकिएको छ।

चीनबाट नेपाल ल्याउन लागिएको ४० लाख डोज खोप पनि पहिलो चरणमा ५५ वर्ष माथिकालाई लगाउने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

वैदेशीक रोजगारले देशको अर्थतन्त्र धानेको छ। वार्षिक झन्डै अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिन्छ। वैदेशिक रोजगारीलाई सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्ने युवाहरुको माग छ।

कोरिया रोजगारी अनिश्चित 

विश्वभरी  महामारीको रुपमा फैलिएको  कोरोना भाइरसका कारण नेपालीको आकर्षक श्रम गन्तब्य मुलक दक्षिण कोरियाको रोजगारी अनिश्चित बनेको छ। २१ फागुन २०७६ देखि कोरिया रोजगारी रोकिएको थियो।

कोरिया सरकारले नेपाललाई कोरोनाको अति संवेदनशील मुलुकको सूचीमा राखेको छ। जसका कारण करिब आठ हजार कामदार अलपत्र परेका छन्। कोरियाबाट मात्रै वार्षिक झन्डै तीन अर्ब रुपैयाँ रेमिट्यान्स भित्रने गरेको छ। 

कुवेतले साउन १७ देखि लैजाने

कुवेत सरकारले कोरोना संक्रमणको पहिलो लहर देखिएलगत्तै नेपालबाट कामदार लगेकाे छैन। साउन १७ गतेदेखि भने खोप लगाइसकेका कामदार आफ्नाे  देशमा आउन पाउने सूचना जारी गरेको छ।

कुवेतले पहिला नै भिसा भएका तर नेपालमा रोकिएका कामदारले अनलाइनबाट नै नवीकरण गर्न पाउने बाटो खोलिदिएको छ। कुवेत सरकारले मान्यता दिएका खोप लगाएका कामदारलाई मात्र लैजाने भएको छ। 
 
साउदी अरबमा खोप वा १० दिन क्वारेन्टाइन 

सबैभन्दा बढी नेपाली कामदारको माग भइरहेको साउदी अरबले खोप लगाएका कामदारलाई पहिलो प्राथमिकता दिएको छ। साउदी अरब जाने नेपाली कामदारले खोप वा १० दिन क्वारेन्टाइन बस्नु पर्ने शर्त राखेकाे छ।

कतारले भने खोप नलगाएका कामदारलाई पनि प्रवेश अनुमति दिएको छ। कतार पुगेपछि १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ। क्वारेन्टाइन बसेकाहरुलाई कतार सरकारले नै खोप लगाउने व्यवस्था गर्ने जनाएको छ। ओमान र बहराइनले नयाँ भिसा जारी गरेका छैनन्।

तत्काल खोप उपलब्ध गराउन सकिँदैन : स्वास्थ्य मन्त्रालय 

सरकारले चीनबाट ४० लाख डोज खोप नेपाल ल्याउने तयारी गरिरहेको छ। चीनबाट ल्याउने खोपको पहिलो प्राथमिकतामा ५५ वर्षमाथिका नागरिकलाई राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

राेजगारदाता देशले वैदेशीक रोजगारीमा जाने श्रमिकका लागि खोप अनिवार्य बनाएको छ। तर नेपाल सरकारको खाेपकाे प्राथमिकतामा भने श्रमिक परेका छैनन्।

पौडेलले भने,‘यस विषयमा छलफल भएको थियो तर निर्णय हुन सकेको छैन।’ उमेर समूह र फ्रन्टलाइनमा काम गर्नेका लागि पहिलो प्राथमिकता दिने तयारी भएको पौडेलले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.