|

कञ्चनपुर : कोरोना भाइरस संक्रमण दर घटेपछि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु अनुगमनका नाममा पश्चिमी सीमा नाका गड्डाचौकी पुग्न थालेका छन्। 

मन्त्रिमण्डल पुनः गठन भएपछि सामाजिक विकासमन्त्री लालबहादुर खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले गत महिना अनुगमनका लागि गड्डाचौकी आएका थिए।

दुई मन्त्रीको आवागमनपछि अहिले पश्चिमी नाकामा प्रदेश सरकारका मन्त्री आउने क्रम बढेको छ। सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले गड्डाचौकी नाका पुगेकी छन्। उनीसँगै भूमि व्यवस्था राज्यमन्त्री सुनार पनि पुगेका थिए। मन्त्री जोशीले नाकामा शान्ति सुरक्षाको अवस्था, होल्डिङ सेन्टर, हेल्थ डेस्कलगायतको निरीक्षण गरेकी छन्। 

उक्त नाकामा अहिलेसम्म स्थायी होल्डिङ सेन्ट बन्न सकेको छैन। भीमदत्त नगरपालिका, नेपाली सेना र गैरसरकारी संस्था निड्सको सहयोगमा अस्थायी होल्डिङ सेन्टर बनाएर भारतबाट आउने नागरिकलाई राख्ने गरिएको छ। होल्डिङ सेन्टर बनाएर भारतबाट फर्किनेहरुको व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारलाई दिइएको थियो।

कोरोनाको दोस्रो लहर सुरु भएपछि चैत दोस्रो सातादेखि गड्डाचौकीबाट भारतबाट घर फर्किने नागरिकहरुको लर्को लागेको थियो। त्यो बेला उनीहरुको व्यवस्थापनमा प्रदेश सरकार उदासिन देखिएको थियो।
 
अघिल्लो वर्ष भने प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी गड्डाचौकी नाका आउने जाने गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.