|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘कोभिड फ्रण्टलाइनर’हरूको सम्मानमा बनाइएका भित्तेचित्र नगर प्रमुखले मेटायो भनेर बढी नै प्रचार गरेको बताएका छन्। उनले सर्वोच्च अदालतको आदेश र महानगरपालिकाको कानुन‚ नीतिअनुसार नै भित्तेचित्र मेटाएको प्रष्टीकरण दिए।

शाक्यले अदालतको फैसला र महानगरपालिकाको कानुन‚ नीतिलाई उल्लंघन गर्न नपाइने बताए। ‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोललगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङ बोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु,’ उनले भने‚ ‘त्यसैले मेयरलाई देखाइन्छ भनेर नीति‚ नियमको उल्लंघन गरी योजनावद्ध ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौं।’  

 सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले २०७२ भदौ १६ मा महानगर क्षेत्रका होडिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पलेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो। महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ। 

सर्वोच्चको सोही आदेशलाई कार्यान्वय गर्दै विगतमा पनि त्यस्ता सामग्री हटाउने गरेको प्रमुख शाक्यले बताए। ‘पैसा तिरेर विज्ञापन राख्छौं भन्दा पनि हामीले सर्वोच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो,' उनले भने‚ 'त्यसबाट आयस्रोत त हुन्थ्यो नि‚ हामीले नीति छैन भनेर दिएनौं। त्यसैले सर्वोच्चको आदेश र महानगरको नीति मेयर, उपमेयरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ।’

उनले यसअघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पतालअगाडि, नेशनल ट्रेडिङलगायतका स्थानका भित्तामा लेखिएका सामग्री हटाएको बताए। ‘नीति सबैका लागि बराबर हुन्छ,’ शाक्यले भने, ‘पहिलो पटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भैरहेको छ। त्यो होइन। निषेध गरिएका अन्य ठाउँमा पनि अनुमति नलिई बनाएका त्यस्ता सामग्री हटाएका छौं।’

‘सहकार्यबाट कोभिड फ्रण्टलाइनरको सम्मान’ 

शाक्यले स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरूको मनोवल उच्च बनाउन सहकार्य आवश्यक रहेको प्रष्ट पारे। ‘निषेध गरिएको स्थानमा कोरेको भित्तेचित्रले मात्रै उहाँहरूको सम्मान हुँदैन। उहाँहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्छ,त्यो महानगरपालिकाले गरिरहेको छ,' उनले भने‚ 'स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरूको मनोवल उच्च बनाउनुपर्छ भनेर महानगरपालिकाले सक्दो सहयोग गरेको विदितै छ।’

महानगरपालिकाले महानगरपालिका क्षेत्र बाहिरका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ कार्य गरिरहेको प्रमुख शाक्यको भनाइ छ। उनले सरकारद्वारा सञ्चालित विभिन्न कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरूको मनोवल उच्च बनाउन आवश्यक सहयोग गरेको स्मरण गराए।

‘स्वास्थ्यकर्मीहरूको मनोवल उच्च बनाउन सरकारी र सामुदायिक अस्पतालमा हामीले आर्थिक, भौतिक, प्रविधिगत र प्रणाली विकास गर्ने कार्यमा सहयोग गरेका छौँ,’ उनले भने, ‘महानगर क्षेत्रभन्दा बाहिरका अस्पतालसँग समेत महानगरपालिकाले सहकार्य गरेर त्यहाँका स्वास्थ्यकर्मीहरूको मनोवल उच्च बनाउने कार्य गरेको छ,त्यसैले हामीले कसरी उहाँहरूको सम्मानमा आघात पुग्ने काम गर्‍यौं।'  

शाक्यले महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित विदेशका विभिन्न नगरहरूले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री वीर अस्पताल, कान्तिवाल अस्पताल  र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको स्मरण गराए।

‘त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी क्यान मिसिन खरिदका लागि आर्थिक अनुदान दिएका छौँ, छाउनी अस्पतालमा महानगरपालिकाकै सहयोगमा निःशुल्क डाइलोसिसको व्यवस्था गरेका छौँ, काठमाडौंको कोर–सिटी’मा अवस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कामपाको सहयोगमा ३५ शैयाको विशेष कोभिड अस्पताल सञ्चालनमा छ,' उनले भने‚ 'महानरपालिकाकै सहयोगमा बसुन्धारामा निशुल्क कोभिड आइसोलेशन वार्ड सञ्चालन गरेका छौँ, यीचाँहि चिकित्सकको मनोवल उच्च बनाउन गरेका कार्य होइन?’ 

‘उम्मेदवार हुँदा हामी कसैले भित्तोमा प्रचार गरेनौँ’     

महानगर प्रमुख शाक्यले आफू उम्मेदवार भएकाले बेला कसैले भित्तोमा प्रचार नगरेको दाबी गरे। ‘चुनावका बेला सबै राजनीतिक दलले आफू अनुकूल नारा लेखेर प्रचार गर्न सक्थे नि, उनीहरूले नीति बाहिर जानु हुँदैन भनेर गरेनन्' उनले भने‚ 'म आफैँ पनि मेयरको उम्मेदवार थिएँ। हामी कसैले पनि सर्वोच्च अदालतको फैसला, महानगरपालिकाको कानुन र नीति विपरीत जानु हुँदैन भनेर महानगरपालिकाका भित्तामा चुनावको प्रचार नगरेका हौं।’

महानगर प्रमुख शाक्यले आफू निर्वाचित भएर आएपछिको पहिलो नगरसभाले नै सर्वसम्मत रुपमा महानगरपालिकाको नारा ‘सांस्कृतिक शहर‚ काठमाडौं महानगर’ तय गरेको पनि स्मरण गराए।

‘उक्त नाराले पनि काठमाडौं सहरलाई सांस्कृति शहरका रुपमा विकास गर्नुपर्ने हुन्छ,’ शाक्यले भने, ‘आफू खुशी जे–पाये त्यहि गर्दै जाने हो भने नाराको औचित्य नै समाप्त हुन्छ।’ उनले आगामी निर्वाचनमा पनि भित्तेलेखन गर्न नपाइने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.