|

काठमाडौं : करिब डेढ महिनाभित्र पशुपतिनाथ स्थित शवदाह स्थलमा कोभिड-१९ संक्रमणबाट मुत्यु भएका चार हजारभन्दा बढिको शव अन्त्येष्टि गरिएको छ। पशुपति क्षेत्र विकास विद्युत शवदाह गृह प्रमुख सुवास कार्कीका अनुसार जेठ १ गतेदेखि असार २१ गतेसम्म चार हजार २०० शव अन्त्येष्टि भएको छ। 

पछिल्लो समय कोरोना संक्रमण दरमा कमी आएसँगै शव अन्त्येष्टिमा पनि कमी भएको उनले बताए। उनले भने, ‘पहिला जेठ महिनाभित्रमा १६ सयको अन्त्येष्टि गरिएको थियो,अहिले धेरै कम छ।’ 

उनका अनुसार गत वैशाख महिनामा दैनिक सरदर १७५ संक्रमितको अन्त्येष्टि गरिएको थियो। विद्युत शवदाह गृहले नधानेपछि बागमती किनारमै चिता बनाएर नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो। ‘पहिला शव जलाउन लाइनमा राखिनु पर्थ्यो, अहिले केही समस्या छैन,’ काकीले भने। 

विद्युत शवदाहमा शव व्यवस्थापन

शवदाह गृह प्रमुख कार्कीले अहिले दैनिक १० जनाको शव मात्रै पशुपतिमा अन्त्येष्टि हुँदै आएको बताए। उनले भने‚ ‘मृतकको संख्या ह्वात्तै घटेर अहिले दैनिक सरदर १० जना कोभिड शव यहाँ जल्ने गरेकाे छ।’

मृतकको संख्यामा कमी आएसँगै अहिले विद्युतीय शवदाह गृहमै व्यवस्थापन हुने गरेको पशुपतिको दाउरा डिपोका प्रमुख द्रोण पोखरेलले बताए। ‘अहिले शव कम भएकाले दाउराबाट जलाइँदैन, विद्युत शवदाह गृहमै जलाउने गरिएको छ,' उनले भने, 'त्यसैले अहिले कुनै दाउरा खपत भएको छैन।’ 

उनका अनुसार वैशाख र जेठ महिनामा दैनिक दाउराको खपत झण्डै चार गुणाले बढेको थियो। त्यस बेला दैनिक २० हजारदेखि ३२ हजार किलोसम्म दाउरा खपत हुने गरेको उनले बताए। गत फागुन महिना अघिसम्म दैनिक सरदर नौ हजार किलोसम्म दाउरा खपत हुने गरेको थियो। एउटा शव जलाउन २५० किलोभन्दा बढी दाउरा खपत हुन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ तथ्यांकमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको देखाएको छ। कुनै दिन मृतकको संख्या बढेर दुई सय नाघेको बेला अहिले घटेर २४ घण्टाभित्र सरदर १९ देखि ४२ जनाको मृत्यु हुने गरेको छ। सोमबार कोभिड संक्रमणबाट २३ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.