थामिनसक्नुको भीड, तर पाउन सकेनन् खोप

|

काठमाडौं : दिउँसो ३ बजेको चर्को घाम। त्यही घाममा कोभिडविरुद्ध खोप लगाउनेको लाइन। सिभिल अस्पतालदेखि झण्डै नापी विभाग कार्यालयसम्म तातो घाममा ज्येष्ठ नागरिक खोपको आशमा लामबद्ध थिए। त्यही लाइनमा थिइन् लक्ष्मी अधिकारी। 

कपाल सेतै फुलिसकेकी बबरमहलकी लक्ष्मी उमेरले ६५ वर्ष पार गरिसकिन्। सकी नसकी १२ नबज्दै खोपको लागि लाइनमा थिइन्। तर चर्काे घाममा तीन घण्टा लाइनमा बसे पनि उनले खोप लगाउन पाएकी थिइनन्। 

‘तीन घण्टा भयो लाइनमा बसेको बल्ल खोप दिइने ठाउँमा आइपुगेको छु,’ सकिनसकी लक्ष्मी बोलिन्,‘सरकारले एक थोपा खोप लगाउन नसक्ने रहेछ, लाइनमा बस्दा बस्दा थाकिसकें, अझै कति बस्नुपर्ने हो।’ 

उनले जेठ २७ गते चाइनिज खोप भेरोसेलको पहिला मात्राको  डोज खोप लगाएकी थिइन्। ‘ज्येष्ठ नागरिकलाई खोप भनेका छन्, तर बीचमा अन्य उमेरका व्यक्ति छिरेर खोप लगाए, सरकारले खोप आयो, जाऊ लाउन भन्छ, लाए लाउन् नलाए नलाउन्। तिमीहरू भन्ने हिसाबले हामीलाई पठायो,’ उनले गुनासो गरिन्। 

समय तालिकामा खोप लगाउने भन्ने पनि केही जानकारी पनि स्थानीय तहले नगरेको उनले गुनासो गरिन्। ‘मजस्तै सबै ज्येष्ठ नागरिकलाई जनप्रतिनिधिहरूले यसबारे जानकारी दिए हुन्थ्यो,’ आक्रोशित हुँदै लक्ष्मीले भनिन्, ‘तर दिएन। यो त खाए खाऊन्, नभए घिच भनेजस्तै हो।’ 

लक्ष्मीकै छेउमा तीन घण्टादेखि लाइनमा बसिरहेका सोम तिमिल्सिना पनि यस्तै गुनासो गर्छन्। खोप लगाउन व्यवस्थित नगरिँदा समस्या भोग्नुपरेको उनले बताए। ६३ वर्षका सोम भन्छन,‘ज्येष्ठ नागरिकलाई खोप दिने भनिएको छ, तर स्वयंसेवकहरूले पनि लगाएका छन्, कमसेकम ज्येष्ठ नागरिक र स्वयंसेवकको बेग्लाबेग्लै लाइन राखेको भए सहज हुन्थ्यो तर, राखिएन।’

सामाजिक दूरी कायम नहुँदा जोखिम बढेको पनि उनी बताउँछन्। ‘भीडभाड छ, सामाजिक दूरी कायम छैन, भ्याक्सिन लगाउन आएको त, कोरोना पो लिन आएजस्तो देखियो।' पहिलो चरणमा खोप दिँदा योभन्दा निकै व्यवस्थित भएको उनले बताए। भन्छन्, 'सबैलाई एक ठाउँमा राखिदिएका छन्।’ खोप लाउन आएकालाई लाइनमा व्यवस्थित गरिनुपर्ने उनले माग गरे। 

त्यहाँ लाइन र भीडभाड मिलाउन प्रहरीलाई निकै सकस परेको थियो। त्यही बेला एक प्रहरीले सानो माइकमा फुक्दै थिए-तपाईंहरू लाइनमा नबस्नुस् खोप सकिन लाग्यो रे’ प्रहरीले यति जानकारी दिन नपाउँदै घण्टौँ लाइनमा बसेकाहरू आक्रोशित भए। 

‘दुई पटक लाइनमा बसिसक्यो,अगाडि किन केही जानकारी भएन, हामी लाइनमै बस्छौं,’आक्रोशित हुँदै कोटेश्वरबाट आएका ६० वर्षीय भगवती शर्माले भनिन्। खोप पाए पनि नपाए पनि लाइनबाट नहट्ने भएपछि प्रहरी पछि हटे। उनीहरू खोप पाउने आशामै लाइनमा बसिरहे।

 

सबै तस्बिर : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.