|

चितवन : चितवनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ। एक हजार १४ मा झरेको सक्रिय संख्या एक हजार २७१ पुगेको हो।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार पछिल्ला केही दिनमा संक्रमितको संख्या बढ्दै गएको छ। त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय संक्रमितको संख्या निकै बढी थियो। कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय संक्रमितको संख्या चार हजार ७०० नाघेको थियो। जेठ १० गते चार हजार ७१३ पुगेको थियो।
 
असार लागेसँगै घट्दै गएको संक्रमितको संख्या पुनः बढ्न थालेको छ। असार १ गते एक हजार ५४८ रहेका सक्रिय संक्रमितको संख्या घट्दै गएर असार १३ गते एक हजार १४ मा झरेको थियो। जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते एक हजार ८७, १६ गते एक हजार १९८ र १८ गते एक हजार २२० हुँदै यो संख्या एक हजार २७१ पुगेको छ।

सक्रिय संक्रमितको प्रतिशत पनि बढ्दै गएको छ । असार ५ गते यस वर्षकै कम दुई दशमलव एक प्रतिशत संक्रमित भएकामा असार १५ गते १७ दशमलव ९६ प्रतिशत, १८ गते २३ दशमलव २४ प्रतिशत, १९ गते २७ दशलमव २४ प्रतिशत, २० गते २७ दशमलव २४ प्रतिशत, २१ गते १९ दशमलव ६९ प्रतिशत र २२ गते १८ दशमलव ४३ प्रतिशत रहेको छ।
 
कार्यालय प्रमुख तिवारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमित बढ्दै गएको बताउँछिन्। उनले भनिन्, ‘राम्रोसँग संक्रमितको संख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि खतरा बढेको छ।’ मानिसलाई खुकुलोपना बढी चाहिएका कारण पुनः संक्रमण थपिएर जाने हो कि भन्ने चिन्ता बढेको उहाँको भनाइ छ। उनले भनिन्, ‘निषेधाज्ञा खुकुलो भए पनि उच्च सावधानी अपनाउनुपर्‍यो।’

भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका फिजिसियन डा. भोजराज अधिकारी गम्भीर प्रकृतिका संक्रमित नभएर मध्यम र सामान्य प्रकृतिका संक्रमित बढेको बताउँछन्। निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको आशङ्का हुँदा पनि घरमा बसेकाहरु परीक्षण गर्न आएर पनि संख्या बढेको हुनसक्ने उनको अनुमान छ। वर्षतको समयमा पानीमा भिजेर, खेतीपातीको कामले थाकेर भन्दै सामान्य लक्षण देखिएका पनि घरमै रहेको उनले बताए।

उनले भने, ‘यस्ता कारणले गाउँघरमा संक्रमितको संख्या झन् बढ्न सक्छ।’  कोरोनाको मिल्दोजुल्दो लक्षण देखिँदासाथ परीक्षण गर्न पनि उनले सुझाव दिए।
 
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापीरूपमा भन्दा जिल्लामा केही कमी भए पनि बढ्दै गएकामा चिन्ता व्यक्त गरे। उनले भने, ‘हामी सबै सजग भएनौँ भने संक्रमण झन् बढ्न सक्छ । सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्‍यो।’ निषेधाज्ञा खुकुलो भए पनि संक्रमण छ भन्ने सोचेर आफ्ना दैनिक क्रियाकलाप गर्न उनले सुझाव दिए।

जिल्लाका अस्पतालमा २१९ संक्रमितको उपचार भइरहेको छ। तीमध्ये ६६ सघन उपचारकक्षमा, १७ भेन्टिलेटरमा, ४३ एचडीयुमा र ११० जना सामान्य शय्यामा उपचाररत छन्। जिल्लामा हालसम्म २८७ जनाको मृत्यु भएको छ। कुल संक्रमितको संख्या १६ हजार ८६३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.