स्थानीय र अभियान्ताले अनुसन्धानमा अवरोध गरेको प्रहरीको गुनासो

|

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीय सुजिता भण्डारीको हत्याका विषयमा चितवन प्रहरी पहिलो पटक बोलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहीबार पत्रकार सम्मेलन गरी भण्डारीको हत्याका विषयमा भइरहेको अनुसन्धानका बारे जानकारी दिएको हो।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले अपहरणका विषयमा देखिएको दुई कुराले अनुसन्धान जटिल बनेको बताए। अपहरणमा परेको भनिएको अघिल्लो दिन राति सुजिता, उनकी दिदी कविता र भाइ एउटै बेडमा सुतेका थिए। कविताले प्रहरीलाई बताएअनुसार भोलिपल्ट बिहान असार ११ गते कसैलाई केही नभनी सुजिता घरबाट हिँडेकी थिइन्।

एसपी अधिकारीका अनुसार सुजिताले आफ्नी दिदी कवितालाई असार ११ गते दिउँसो ७ पटकसम्म फोन गरेको तर फोन चार्जमा भएको हुँदा नउठेको देखिन्छ। मिसकल आएको थाहा पाएपछि कविताले बहिनी सुजितालाई फोन गर्छिन्।

सुजिताले फोन उठाएर आँखामा कालोपट्टि बाँधेका तीन जनाले आफूलाई अपहरणमा गरेको र बचाउन आह्वान गर्छिन्। त्यसपछि पनि सुजिताकै फोनबाट डाटा प्याक लिएको अनुसन्धानबाट देखिन्छ।

‘यसले गर्दा अनुसन्धानमा अलिकति जटिलता थपिएको छ’, एसपी अधिकारी भन्छन्, ‘अपहरण केका लागि भन्ने पनि केही कुरा नआएको अवस्था। अपहरण भएपछि केका लागि भन्ने कुरा केही दिनमै थाहा हुन्छ। अर्को जुन वार्तालाप भएको छ। अपहरणमा परेको मान्छेले सहज रुपमा फोन गर्न सक्ने र रिप्लाई गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन भन्ने भएकाले अर्को कुनै प्रमाणित नहुँदासम्म चाँहि हामी पीडित पक्षले दिएकै सूचनालाई आधार मान्छौँ।’

अपहरणबाहेक अरू नै केही कारण भएको भन्नेतर्फ पनि अनुसन्धान गर्नुपर्छ भन्ने लागेको उनले बताए। असार २० गते ब्रम्हस्थानी सामुदायिक वनको झाडीको सुजिताको शव फेला परेको थियो। भण्डारीको शवको पोष्टमार्टम भइसकेर विधि विज्ञान प्रयोगशाला खुमलटारमा भिसेरा परीक्षण हुँदै छ। भिसेराको रिपोर्ट आएपछि मात्रै हत्याको विषयमा थप कुरा भन्न सकिने प्रहरीले बताएको छ।

अनुसन्धानमा स्थानीय र अभियान्ताको अवरोध

सुजिता भण्डारीको हत्याका विषयमा स्थानीय र अभियान्ताहरुले अवरोध गरिरहेको बताए। दुई दिनसम्म प्रहरी कफ्र्यू व्यवस्थापनमै खटिनुपर्दा अनुसन्धान प्रभावित भएको उनले बताए।

‘अनुसन्धानमा खटिने म दुई दिनसम्म कर्फ्यु व्यवस्थापनमा खटिएको छ्’, उनले भने, ‘पीडित परिवारले भेट्न नमानेको होइन। काठमाडौँमा फ्लेक्स प्रिन्ट गरेर पोको पारी प्लेनबाट ओर्लिएर अघिल्लो दिन नै गाउँमा गएर बास बसेर समूह तयार गरिएको हुन्छ। पिडितलाई केहि जानकारी नै हुन्न। पिडित पक्ष नै उहाँहरुका विरुद्ध हामीकहाँ आएर बोल्नुहुन्छ।’

न्याय प्राप्तिका लागि जुन किसिमले प्रकृया अगाडि बढाउनुपर्ने हो त्यसलाई सहज रुपमा अगाडि बढाउन नसकिएको उनले बताए। अवरोधले गर्दा अनुसन्धानमा ढिलाइ हुने सम्भावना रहेको उनी बताउँछन्।

‘आजका दिनमा पनि हामीले पिडित परिवारलाई भनेको समयमा भेट्न पाइरहेको अवस्था छैन’, उनी भन्छन्, ‘अपराध अनुसन्धानमा समाजले त प्रहरीलाई सूचना दिएर विगतका कुरा र सम्बन्धबारे भन्नुपर्नेमा म सूचना लिन जान्छु भन्दा त्यहाँ अवरोध खडा गरिएको छ।’

सुजिता भण्डारीको अपहरण भएको भनी परिवारले उजुरी गर्नेबित्तिकै उनको खोजीमा प्रहरी लागेको एसपी अधिकारी बताउँछन्। अपहरणमा परेको सूचना पाइसकेपछि प्रहरीको धेरै समूह बनाएर ‘डे वान’ देखि नै सम्भावित सबै क्षेत्रमा खोजतलास गरिएको उनले बताए। अहिले अनुसन्धानकै चरणमा भएको थप विस्तृतमा गएर भन्न नसकिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.