|

धनकुटा : धनकुटामा विपक्षी चार दल र नेकपा एमाले दिनहुँ प्रदर्शन गरिरहेका छन्। पाख्रीबास नगरपालिकाको नगरसभामा भएकाे घटना नै प्रदर्शनकाे मुख्य कारण हाे। 

सत्तापक्ष एमाले र विपक्षी गठबन्धन नारा जुलुससहित दिनहुँ प्रदर्शन गर्दै आएका छन्। एमालेले नगरपालिकामा क्षति पुर्‍याउने १५ जनालाई पक्राउ गर्न दवाव दिन प्रदर्शन गर्दै आएको छ भने विपक्षी गठबन्धनले पक्राउ गरिएकालाई रिहाइ र पक्राउ पुर्जी जारी गरिएकाको मुद्दा फिर्ताको माग राख्दै प्रदर्शन गरेका हुन्। 

गत असार १० गते नगरसभामा एक समूहले तोडफोड र क्षति पुर्‍याएको घटनाले पछिल्लो एक सातादेखि दिनहुँ पाख्रीबास र सदरमुकाम धनकुटामा प्रदर्शन हुँदै आएको छ। 

नगरपालिकाले वडागत बजेट विनियोजन गर्दा विभेद गरेको भन्दै कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी र एमाले (माधव नेपाल समूह) ले नगरसभा चलिरहेको स्थानमा तोडफोड गरी क्षति पुर्‍याएको नगरपालिकाको भनाई छ। तोडफोडमा संलग्न १५ जनाविरुद्ध प्रहरीमा अभद्र व्यवहार सम्बन्धी मुद्दा  दर्ता गरेको नगरप्रमुख वृष बहादुर राईले बताए। 

१५ जना मध्येका वडा नम्बर ४ का वडाध्यक्ष सोभित निरौलाले प्रहरीमा आफै उपस्थित भएर गिरफ्तारी दिएका थिए। उनी एमाले नेपाल पक्षका हुन। दुवै समूहले आलोपालो रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ र प्रदर्शन गर्दै आएका छन्।

भिडियो :

विपक्षी दलले पाख्रीबास नगरपालिका घेराउ र कार्यालय परिसरमा प्रदर्शन गर्दै पक्राउ गरिएका वडाध्यक्ष निरौलाको शिघ्र रिहाइ गरिनु पर्ने र संलग्न अन्यको कारबाही फिर्ता गरिनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएकाे कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले बताए। 

घटनापछिको परिस्थिति न्यूनिकरण गर्नुको सट्टा सत्ताको आडमा बढावा दिएको उनको आराेप छ। ‘पक्राउ गरिएकालाई रिहाइ गरिनुपर्छ’, उनले भने, ‘अन्यलाई पक्राउ गरिए अझ सशक्त आन्दोलन गरिने छ।’ 

यस्तै एमालेको युवा संघले पनि जिल्ला प्रशासनमा घटनामा संलग्नलाई कारवाही गरिनुपर्ने दवाव दिन प्रदर्शन गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णराज पन्थलाई भेटेर संलग्नलाई तत्काल पक्राउ गर्न दवाव दिएको युवा संघका जिल्ला इन्चार्ज बलदिव राईले बताए। प्रशासनले पक्राउ नगरे आफूहरुले नै खाेजी गर्ने  उनले चेतावनी दिए। 

सरकारी पक्षले पहिले हात छोडेपछि तोडफोड भएकाले त्यसको जिम्मा सरकारी पक्षले लिनुपर्ने विपक्षी दलको भनाइ छ भने आफूहरुले कुनै हातपात नगरेको र नगरसभा चलिरहेका बेला हुलहुज्जत गरि सभा हलमा प्रवेश गरेर तोडफोड गरेकाले त्यसको जिम्मा विपक्षी दलले लिनुपर्ने सरकारी पक्षको भनाइ छ।

बजेटका विषयमा विवाद हुँदा ४० वटा कुर्सी, दुई वटा टेबल र चार वटा झ्यालमा क्षति पुगेको थियो। तोडफोड हुँदा सुरुमा एक लाख ६७ हजार बराबरको क्षति भएको बताएका नगर प्रमुख राईले हाल ५ लाख बराबरको क्षति भएको बताइरहेका छन्।

नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगानाले राजनीतिक मुद्दा भएकाले राजनीतिक ढंगले नै समाधान गरिनुपर्ने बताए। उनले जनप्रतिनिधिहरु बाटै जनतामाथि भएको ज्यादती र  दुर्व्यवहारविरुद्ध र न्यायका लागि लड्न जस्ताेसुकै मुल्य चुकाउन तयार रहेकाे बताए।

विपक्षीको उजुरी प्रहरीले दर्ता गरेनन्

विपक्षी दलले शान्तिपूर्ण रुपमा माग राख्न जाने क्रममा जनप्रतिनिधि नै हातपात उत्रिएको बताउँदै घटनामा संलग्न जनप्रतिनिधि माथि कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको बताएका छन्।

विपक्षी दलले ६ जना विरुद्ध प्रहरीमा उजुरी दिन लागेको भएपनि प्रहरीले उजुरी नलिएको नेकपा माओवादी केन्द्र पाख्रीबासका अध्यक्ष मुक्ति बजगाँईले बताए। लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलनमा मार्फत आफ्ना माग राख्न पाउने कानुनी अधिकारलाई जनप्रतिनिधिले कुण्ठित गर्न खोजेको उनले आरोप लगाए। 

आगामी वर्षको बजेट विनियोजन गर्दा टोलटोलमा छलफल गरेर प्राथमिकताका आधारमा विनियोजन हुनुपर्ने र हातपात गर्ने जनप्रतिनिधिलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने विपक्षी गठबन्धनले जनाएको छ।

एउटै प्रकृतिको २ वटा उजुरी दर्ता गर्न मिल्दैन : प्रहरी

जिल्ला प्रहरी कार्यालय धनकुटाले भने घटना भएको र उजुरी अनुसार कानुनी कारबाहीको बाटोमा अघि बढ्ने जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नकुल पोख्रेलले पक्राउ परेकामाथि कानुनी प्रक्रियाबाट अनुसन्धान भइरहेकाे बताए।

एउटा घटना दर्ता भएर काम भइरहेको र परिस्थिती हेर्दा त्यही घटनामा कानुन त अर्को उजुरी दर्ता गर्नुपर्छ भन्ने आधार प्रहरीले नदेखेको कारणले विपक्षीको उजुरी दर्ता नभएको उनले सुनाए। 

पाख्रीबास घटनाको कारणले हुने गरेका प्रदर्शनबाट कार्यालयको दैनिकी प्रभावित बनेको छ। यस्तो परिस्थितिमा घटनाबारे आफूले केहि प्रतिक्रिया नदिने प्रमुख जिल्ला अधिकारी कृष्णराज पन्थले बताए। ‘घटनाबारे म केहि बोल्दिन,’ उनले भने, ‘यस विषयमा पछि कुरा गरौँला।’ उक्त घट्ना पछि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालयमा तानिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.