|

विराटनगर : सुनसरीकी सानु खत्री पाँच वर्षदेखि ब्युटी पार्लर व्यवसायमा छिन्। काठमाडौंमा पार्लरसम्बन्धी सीप सिकेर इटहरीमा व्यवसाय सञ्चालन गर्दै आएकी उनको आम्दानीको श्रोत नै ब्युटी पार्लर हो।

सानुको व्यवसाय राम्रैसँग चलिरहेको थियो। कमाइले परिवारको आर्थिक भरथेग गररहेको थियो। तर‚ कारोना महामारीका कारण गरिएको लकडाउनले उनको व्यवसाय नै संकटमा पर्‍यो। लगातार लामो समयसम्म बन्द हुँदा कमाइको बाटो बन्द भयो। उनलाई भाडा तिर्न नै सकस भएको उनले सुनाइन्।

‘पोहोरको वर्ष लामो समय लकडाउन भयो। त्यसले व्यवसाय नै ठप्प भयो। भएको पैसा घर खर्चमा सकियो,' उनले सुनाइन्, 'लकडाउन खुलेपछि केही होला कि जस्तो हुँदै थियो। फेरि उस्तै अवस्था सुरु भयो। धन्न व्यवसाय नचलेको कारण घरधनीले भाडा लिनुभएको छैन।’ उनले आफूसँगै प्रशिक्षण लिएर व्यवसाय सञ्चालन गरेका केही साथी भने व्यवसायबाट नै विस्थापित भएको बताइन्। 

मोरङको विराटनगर महानगरपालिका-९ की शान्ताले पनि ब्युटी पार्लर सञ्चालन गरेको वर्षौं भयो। तर‚ लामो समयदेखि पार्लर बन्द गर्नु पर्दा व्यवसाय नै संकटमा पर्ने चिन्ताले उनलाई सताउन थालेको छ। पछिल्लो समय लकडाउन खकुलो भएसँगै अन्य पेसा, व्यवसाय  खुल्न थाले पनि पार्लर खोल्न नदिएकाले आफूहरु थप मारमा परेको उनको गुनासो छ। 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पहिलो लहरको लकडाउनको समयदेखि थलिएको पार्लर व्यवसाय उठ्न नसक्ने गरी थलिएको अन्य सौन्दर्यकमीहरुको गुनासो छ। 

सरकारले बेवास्ता गरेको गुनासो

पहिलो लहरको कोरोना महामारीको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै बन्द रहेको पार्लर व्यवसायले गति लिन नसक्दा कतिपय व्यवसायीहरु विस्थापित भएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटीकी अध्यक्ष अमिता पोखरेल पौडेलले बताइन्उ। आफ्नै घरमा व्यवसाय गर्नेलाई केही सहज भए पनि भाडामा व्यवसाय चलाउनेहरु मारमा परेको उनको भनाइ छ।  

‘आफ्नो घरैमा व्यवसाय सञ्चालन गर्नु हुने दिदीबहिनीहरुलाई केही सहज होला,' उनले भनिन्, ‘तर कोठा भाडा लिएर व्यवसाय चलाइरहनुभएका कतिपय दिदीबहीनीहरुलाई धेरै समस्या परेको छ। कतिपय त पहिलो लहरको लकडाउनपछि नै पार्लर बेचेर व्यवसायबाट नै विस्थापित भइसक्नुभएको छ।’

महिलाहरुलाई आत्मनिर्भर बनाउने पेसा लकडाउनपछि संकटमा परे पनि सरकारको ध्यान नगएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटीकी सचिव भली सुब्बाको गुनासो छ। आफूहरुको पेशमा सरकारको ध्यान नगएकाले प्रदेश १ को सामाजिक विकास मन्त्रालयमन्त्री उषाकला राईलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाई ध्यानाकर्षण गरेको सुब्बाले बताइन्। स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुजस्तै आफूहरुलाई पनि खोपको व्यवस्थापन हुनुपर्ने, सौन्दर्यकर्मीलाई राहत प्याकेज उपलब्ध गर्नुपर्नेलगायतका माग राखेको उनले जानकारी दिइन्।

‘ब्युटी पार्लर व्यवसायले कतिपय महिलाहरुलाई आत्मनिर्भर बनाएको छ, घर गृहस्थ चलायमान बनाएको छ,' उनले भनिन्, 'तर, यही व्यवसायतर्फ सरकारको ध्यान नगएको कारण हामीले सामाजिक विकासमन्त्री उषाकला राईलाई ज्ञापनपत्र बुझाएका छौं।मन्त्रीज्युले आश्वासन दिनुभएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.