|

काठमाडौ :  विदेशिने हरेक व्यक्तिको चाहना हुन्छ,‘छाना,नाना र खानाको जोहो गर्ने,परिवारलाई सुखमा राख्ने।’ यस्तै सपना बोकेर विदेशिएका थिए नितेश श्रेष्ठ। नुवाकोटका श्रेष्ठ घरमा दुई सन्तानसहितको परिवार छोडेर २०७६ सालमा मलेसियाका लागि उडे।

पारिवारिक अबस्था सामान्य भएका निकेश देशमा रोजगारीको कुनै विकल्प नदेखेर मजदुरी गर्न विदेशिए। विदेशमा पैसा कमाएर चुहिने घरको छाने फेर्ने, छोराछोरीलाई राम्रो स्कुलमा पढाउने सपना देखेका थिए। यतिधेरै सपनासहित विदेशिएका निकेशका सबै सपना बाकसमा फर्किए। 

सिन्धुपाल्चोकका भएका राम बहादुर कार्की २०७५ मा विदेशिए। बृद्ध आमाबुबालाई घरमा छोडेर साउदी अरब गए। छाेराले अरबबाट पैसा पठाउला भन्ने आशमा बसेका आमाबुबाले छोराले कमाएकाे पैसा त के शवसमेत हेर्न पाएनन्। कोरोना भाइरसले उनको साउदी अरबमा नै मृत्यु भयो। कोभिडका कारण मृत्यु भएकाको शव विदेशमै अन्त्येष्टि गरिएकाले घर परिवारले मरेकाे अनुहार पनि हेर्न पाएनन्। 

माथिका दुई घटना प्रतिनिधि घटना मात्र हुन्। पहिलो चरणको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञादेखि हालसम्म ९ सय ५२ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन्।

नेपालीहरुको मुख्य श्रम गन्तव्य मुलुक साउदी अरब, कतार, मलेसिया लगायतका देशमा वर्षेनी हजारको संख्यामा ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाएको छ।  

रोजगारीको शिलशिलामा  विदेशिएर ज्यान गुमाउनेमा सबै भन्दाबढी मलेसियामा २ सय ८३ ,साउदी अरबमा २ सय ६२,कतारमा १ सय ५५, कुवेतमा ३६, युनाइटेड अरबमा ६४, कोरियामा ५ जना, जोडनमा ३, जापानमा २, बहराइनमा १ जनाले ज्यान गुमाएका छन्। यी मध्ये १ सय ३१ जनाले कोरोना भाइरसका  कारण ज्यान गुमाएका छन्।  

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको परिवारलाई सरकारले ७ लाख रुपियाँ दिँदै आएको छ। स्वदेशमा अन्त्येष्टि गरिएकालाई ७ लाख दिइने गरिएको  वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए।

७९ नेपालीको शव अलपत्र

वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया र साउदी अरबमा मृत्यु भएका ७९ जना नेपाली कामदारको शव उतै अलपत्र परेको छ। हवाई उडानका कारण गन्तव्य मुलुकबाट नेपाली कामदारको शव ल्याउन समस्या भएको हो।

मलेसियामा ५२ जनाको शव अलपत्र रहेकाे मलेशियामा रहेका श्रम सहचारी दिपक ढकालले बताए। यस्तै साउदी अरबमा पनि २५  जना र बहराइनमा २ जनाको शव ल्याउन बाँकी रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ। 

गत वर्षको तुलनामा यस वर्ष शव ल्याउन सहज भए पनि निषेधाज्ञाका कारण वाइडबडी उडान नहुँदा शव ल्याउन समस्या भइरहेकाे वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए। 

मलेसियाका लागि श्रम सहचारी ढकालका अनुसार अहिले ५२ वटा शव रहेका छन्। हवाई समस्याका कारण शवको क्यू लागिरहेको छ। अहिले सातामा ३ वटा उडान हुने र न्यारोबढी जहाज भएकाले एक पटकमा १ वटा मात्रै शव नेपालमा पठाउन सकिएको उनले सुनाए।

वाइडबढीले उडान भर्ने हो भने एक पटकमा १६ देखि १७ जनाको शव ल्याउँदा करिब ४ उडानमा सबै शव नेपालमा फर्काउन सकिन्छ। मलेसियामा १ वर्षमा १ सय ५० जना भन्दा बढीको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.