तीन वर्षदेखिको स्थानीयको माग बेवास्ता, जग्गा मूल्यांकनप्रति मरुवाबासी असन्तुष्ट

|

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा तालाबन्दी गरिएको छ। सोलु करिडोर विद्युत् प्रसारण लाइनको रुट परिर्वतन माग राख्दै आन्दोलनरत स्थानीयले तालाबन्दी गरेका हुन्।

बिहीबार कटारी नगरपालिका ४ मरुवास्थित मरुवाका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका हुन्। विद्युत प्रसारण लाइनको टावर मरुवा सामुदायिक वनमा निर्माण गर्नुपर्ने र बस्तीमा टावर निर्माण गर्न नदिने अडान लिएर उनीहरूले तालाबन्दी गरेका हुन। 

निर्माणाधीन रहेको प्रसारण लाइनको विवादित क्षेत्रमा सयौँ संख्यामा प्रहरी परिचालन गरेर काम सुरु गरिएको छ। प्रसारण लाइनको टावर गाउँमा राख्न दिए अन्य आयोजनाले पनि गाउँबाट टावर राख्न सक्ने भएकाले अन्यत्र सार्नुपर्ने मागलाई यथावत् राख्नुपर्ने आन्दोलनरत पक्षको माग छ।​

तीन वर्षदेखि यो प्रसारण लाइनको रुट परिवर्तन गर्न मरुवाबासीले माग गर्दै आएका छन्। रुट परिवर्तन गर्न प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्री, विद्युत् प्राधिकरण कार्यकारी निर्देशकलाई भेटेरै माग राख्दै आएको कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए। 

सोलु करिडोर विद्युत प्रसारण लाइनको विषयलाई लिएर तालाबन्दी गरेको मेयर श्रेष्ठले बताए। एक पटक हैन पटक पटक स्थानीयले ऊर्जा मन्त्रालय र प्रधानमन्त्रीसमक्ष मरुवाबासीको समस्याबारे जानकारी गराउँदा पनि सरकार मुआब्जा दिने मनस्थितिमा पुगे पनि मुआब्जा मूल्यांकन समितिले कम मूल्यांकन गरेकाले समस्या उत्पन्न भएको मेयर श्रेष्ठले बताए।

कटारी नगरपालिकाले कोरिडोरको रुटमा पर्ने मरुवा क्षेत्रका १६ घर परिवारलाई उनीहरूले चर्चेको जग्गाको प्रतिधुर २ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा दिन सिफारिस गरेको थियो। तर प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले प्रतिधुर १ लाख मात्र दिने निर्णय गरेकाले कुरा नमिलेको मेयर श्रेष्ठको भनाइ छ।

यता बल प्रयोग गरेर टावर निर्माणको काम अघि बढाउने जिल्ला प्रमुख अधिकारी तुलसीराम सेढाईंले बताए। उनका अनुसार प्रतिकठ्ठा ४ लाख पर्ने जग्गालाई २० लाख मूल्याकन गर्दा पनि अवरोध नहटेपछि बाध्य भएर प्रहरी परिचालन गरेर काम सुचारु गर्न लागिएको बताए। केही समयअघि करिडोर प्रसारण लाइनबारे बुझ्न आएका ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई स्थानीयले लखेटेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.