नागरिकताको विषय र सीमा छेउमा बाँध बाँध्ने विषय उठान

|

पर्सा : नेपाल भारत सम्बन्ध दूरी बढ्दै जानुमा मुख्यतः भारतले सीमा क्षेत्रमा गर्ने हस्तक्षेप, जेएचआइसिसी रिपोर्टविपरीत सीमा नजिक बाँध (ड्याम) निर्माण गर्नु रहेको औंल्याइएको छ।

मानव अधिकार पत्रकार संघ (हुर्जा) ले बिहीबार वीरगन्जमा गरेको क्रस बोर्डर सिर्जित समस्या र निरुपण प्रयासमा दुवै देशका संचारकर्मीको भूमिका विषयक कार्यशालामा यस्तो औंल्याइएको हो। 

सो कार्यक्रममा ‘रोटी बेटी को गुणगान अब केवल गाएर सीमा क्षेत्रका समस्या समाधान नहुने स्थानीय बुद्धिजीवीहरूले बताए। प्रदेश २ का अगुवा पत्रकार र भारतको बिहार रक्सौलका पत्रकारहरू सहभागी कार्यक्रममा सीमा क्षेत्रमा हुने समस्या दुवैतर्फका पत्रकारहरूले सहकार्य गरी ठोस रुपमा उठाई दुवै सरकारलाई घच्घच्याउनपर्ने उनीहरूको सुझाव छ।  

नागरिकताका लागि सात वर्ष कुर्नुपर्ने असमान कारण 

भारतीय चेली नेपाली बुहारी हुनासाथ नागरिकता पाउने, यहाँका सबै नारीसरह भारतीय नारीको अधिकार सुरक्षित हुने तर नेपाली चेली भारतकी बुहारी भएको सात वर्षसम्म नागरिकताका पाउन कुर्नुपर्ने कुराले पनि स्थानीय स्तरमा समस्या सिर्जना हुन थालेको बुद्धिजीवीमध्ये एक ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक वीरेन्द्र साहले बताए।

सीमा वारिपारि सदियौंदेखि हुँदै आएको सम्बन्ध व्यावहारिक गर्न यसलाई पनि समय सान्दर्भिक गरिनुपर्ने उनको सुझाव छ। 'सीमा क्षेत्रको समस्यामध्ये एउटा टड्कारो समस्या हो,' प्राध्यापक वीरेन्द्र साहले भने, ‘रोटी बेटीको सम्बन्धका कुरा सुन्नमा एकदमै राम्रो छ, तर व्यवहारमा त्यो समान छैन,' उनले थपे।

विश्वमा कहीं सीमा छेउमा बाँध बाँध्ने प्रचलन हुँदैन

दशगजा छेउमा बाँध बाँधी नेपाली भूमि डुबान गराउने भारतको हेपाहा प्रवृत्ति सीमावासीका लागि मान्य नभएको दुवै देशका संचारकर्मीसामु प्राध्यापक साहले बताए।

विश्वमा कुनै पनि देशमा सीमा छेउमा बाँध बाँध्ने प्रचलन छैन। यसको अतिरिक्त विवादित नेपाली भूमि समेटेर पहिले भारतले नक्सा सार्वजनिक गर्नु र पछि नेपालीले आफ्नो भूमि समेटेर नक्सा सार्वजनिक गर्दा बखेडा गर्नु सम्बन्ध सुधारको सकारात्मक संकेत नभएको उनीहरूको तर्क छ। 

स्वतन्त्र राष्ट्रलाई जेठो दाइ र भाइको दृष्टिकोणले हेर्नु गलत 

अखण्ड राष्ट्र भएपछि यहाँ बन्ने संविधानका सवालमा पनि छिमेकी मुलुकले गिजोलिरहनु सही कुरा नभएको ठाकुरराम क्याम्पसका प्राध्यापक साहले बताए। जेठो दाइ र सानो भाइको कुरा त्यो पनि अस्वीकार्य रहेको उनको भनाइ छ।

भारतले यति भन्न हैसियत राख्नुमा नेपाली नेताहरूको पनि उत्तिकै दोष रहेको वीरगन्जका बुद्धिजीवीहरूले बताए। मधेश आन्दोलनको सन्दर्भ जोड्दै आन्दोलनका नाममा वीरगन्ज नाका बन्द गरी यताका आन्दोलनकारीलाई उता भात खुवाएपछि सीमावर्ती नागरिकको पनि भारतलाई हेर्ने दृष्टिकोण केही बद्लिएको भारतीय पत्रकार सहभागी कार्यक्रममा स्थानीय बुद्धिजीवीहरूले कुरा उठाए। 

भारतीय दूतावास पनि सीमा समस्याका रुपमा 

मुलुकको प्रमुख भन्सार नाका रहेको वीरगन्ज क्षेत्रबाट हुने आर्थिक गतिविधिका समस्या सहज गर्न मद्दत पुगोस् भनी वीरगन्जमा स्थापना भएको भारतीय महावाणिज्य दूतावास पनि पछिल्ला दिनमा सीमामा समस्या बढाउन सहायक भएको बुद्धिजीवीहरूले औल्याए।

ट्रेडका समस्या निरुपण गर्नभन्दा राजनीतिक गतिविधिमा हस्तक्षेप गर्न दूतावास अग्रसर हुने गरेको उदाहरणसहित उनीहरूले खुलासा गरे। महावाणिज्य दूतावासको अतिरिक्त हस्तक्षेप नहुनु राम्रो हुने उनीहरूको सुझाव छ। 

जनस्तरबाट समस्याको निरुपण खाजिनु बेस

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने र नम्रता शर्माले कार्यपत्र प्रस्तुत गरेको कार्यशालामा सीमाका समस्या निरुपण गर्न दुवै देशका पत्रकारहरूको संजालले सहकार्य गर्न जरुरी रहेको बताए।

साझा स्वार्थलाई मिलाएर जानुको विकल्प नभएको उनीहरूको भनाइ छ। ‘छिमेकी फेर्न सकिन्न' त्यसैले सीमा क्षेत्रका समस्या जनस्तरबाट नै हल गर्ने प्रयासमा दुवैतर्फको स्थानीयस्तरका विभिन्न तहमा ‘डाइलग' भइरहनु सकारात्मक भएको उनीहरूको तर्क छ।

तस्करी कहिले निर्मूल हुन सक्दैन : नगरप्रमुख सरावगी 

क्रस बोर्डरको मुद्दा व्यवसायसँग जोडिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताए। गैरकानुनी कारोबारको लागत र कानुनी कारोबारको लागत बराबर नभएसम्म यस्ता समस्या रहिरहने उनको तर्क छ।

व्यापारिक क्षेत्रबाट एक्कासि महानगरको नगरप्रमुखमा आएका उनले सीमा क्षेत्रमा हुने तस्करीचाहिँ कहिले नरोकिने दाबी गरे। 'मानव, लागुऔषध वा सामानको तस्करी निमिट्यान्न कहिले हुँदैन,' उनले भने।

विभिन्न बहानामा नेपाल र भारतको सीमावर्ती क्षेत्रमा जनस्तरको सम्बन्ध बिगार्ने प्रयास भने बीच बीचमा हुने गरे पनि त्यो कहिले सफल नहुने उनले अर्को तर्क गरे

'काठमाडाैं र दिल्लीको आँखाबाट हेर्दा समस्या'

कार्यक्रममा भारतीय पत्रकार दीपक अग्निरथले पछिल्ला दिनमा नेपाल भारतबीच हुने विवाहमा कमी आउनुले पनि जनस्तरको सम्बन्धमा समस्या हुन थालेको बताए।

प्रभात खबरका पत्रकार मनोजकुमार गुप्ताले पनि नेपालप्रति भारत सरकारको हेराइ सुधार गर्नुपर्ने बताए। सीमाका समस्या काठमाडाैं र दिल्लीका आँखाले देखेको भन्दा अलि भिन्न रहेकाले स्थानीय तवरमै निरुपण खोजिनुपर्ने भारतीय पत्रकारहरूको पनि भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.