|

जनकपुरधाम : उपचार खर्च तिर्न नसक्दा जनकपुरधामस्थित आर्या केयर अस्पतालमा एक सुत्केरी चार दिनदेखि बन्धक बनेकी छन्। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन बन्धक बनेकी हुन्।

सुत्केरी व्यथा लागेपछि असार १७ मा बेगम अस्पताल भर्ना भएकी थिइन्। शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा शिशु जन्म दिएकी उनलाई अस्पतालले असार २१ मा डिस्चार्ज गरेको थियो। तर, अस्पताललाई उपचार खर्च बापत एक लाख १० हजार रुपैयाँ तिर्न नसक्दा उनी घर जान पाएकी छैनन्।

बेगम अहिले अस्पतालको जनरल वार्ड रहेको उनका ३१ वर्षीय श्रीमान मोहम्मद समीर नदाफले बताए। मोहम्मदले आफन्त र गाउँमा अस्पताललाई तिर्नु पर्ने पैसा खोजे पनि नपुगेको बताए। लकडाउनको कारण देखाएर ऋण नपाउँदा डिस्चार्ज गरे पनि श्रीमती र आफ्ना छोराछोरीलाई अस्पतालबाट लान नपाएको उनले बताए।

मोहम्मदले दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका छन्। ‘न आफ्नो घर छ न त काम,’ उनले भने, ‘दैनिक ज्याला मजदुरी गरी हात मुख जोर्ने गरेको हामी, कोरोनाको लकडाउनको कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाउँ?’ 

उनी अहिले अस्पताललाई दिने रकम जम्मा गर्न चन्दा संकलन गर्न भौतारिहेका छन्। शुक्रबार बिहान थाहाखबरको सम्पर्कमा आएर उपचार खर्च जुटाई दिन गुहार मागे। ‘सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुहरुलाई अस्पतालबाट लैजान खर्च जुटाउनको लागि चन्दा मागे, अहिले ५० हजार जति संकलन भयो तर अझ ६० हजार पुगेको छैन,’ उनले भने, ‘तपाईंको सञ्चार माध्यमबाट उपचार खर्च जुटाउनका लागि सम्पूर्ण मनकारीसँग गुहार मागेको छु।’

मोहम्मद अस्पताललाई तिर्नुपर्ने रकम संकलन गर्न भौतारिरहँदा बिल बढेको बढ्यै छ। ‘एउटा झोला र कापी लिएर हिँडेको छु। कोरोनाको बेला घर नआउनुस् भन्दै केहीले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनु हुन्छ। सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु,’ उनले भने, ‘२० देखि ५०० रुपैयाँसम्म सहयोग प्राप्त भएको छ। तर, यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो!’

उनले अहिलेसम्म उपचाकार लागि करिब करिब ५० हजार रुपैयाँ सकिसकेका छन्। उनले कुनै मनकारी मनले उपचार खर्चका लागि सहयोग गर्न चाहे ९८१८०२६४४० मा सम्पर्क गर्न याचना गरेका छन्।

यता, अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनहा गर्न नसकिने बताएको छ। दुवै बच्चालाई आइसियुमा राखेर उपचार गर्नु परेकाले खर्च बढेको अस्पतालले जनाएको छ। अस्पतालका ती अधिकारीले भने नाम र पद उल्लेख गर्न मानेनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.