|

मलाई कोरोना संक्रमण भएपछिको 'डेल्टा अनुभव' फेरि साझेदारी गर्न मन लाग्यो।

पढ्न पाँच–सात मिनेट जति लाग्ला। शुरूका एक–दुई लाइन पृष्ठभूमिका लागि राखिएका गन्थन हुन्। त्यसपछि केही लाइन अघिल्लो स्टेटसबाट परेका छन्।

यसअघिको 'डेल्टा अनुभव' नपढेका लागि पनि काम लाग्नसक्छ भनेर दोहोर्‍याएँ। ध्यान दिएर पढ्दा फाइदै होला। सबै पढ्न मन लागेन भने पनि अन्तिम तीन/चार लाइन चाहिँ पढिदिनुहोला।

...अपवादबाहेक राम्रो कुरा पढेर बिग्रिएको मान्छे मैले देखेको छैन।

डाक्टर–बिरामी वार्ता

झण्डै डेढ महिनाअघि कोभिड–१९ ले च्याप्यो। गम्भीर बिरामी भएँ।

परिवारका सदस्य र शुभचिन्तकहरूलाई केही भएको छैन जस्तो भान पारेपनि अन्तिम दुई दिन मैले आफूलाई सम्हाल्न सकिरहेको थिइनँ।

अनि, एउटा मध्यरातमा सबै सुतिरहेका बेला 'मेरो जीवन यति नै रैछ' कि क्या हो भनेर हरेस खाएको थिएँ।

जे होस्! त्यो एक साताको कठिन संघर्ष, चिकित्सक र परिवारका सदस्यका निरन्तर सेवा र 'अहिले नै कहाँ मर्छु हो!' भन्ने आत्मविश्वासका कारण कठिन दिन टरेर गए। चौथो दिन नै म अस्पतालबाट फर्किएँ।  

उनले थप्दै गए, 'हामी नेपालीको बानी के छ भने हामी बीचमा बस्नै जान्दैनौँ। कित्ताकाट गरिहाल्छौँ। राम्रो कुरा सबै राम्रो नै हुन्छ। त्यसलाई विज्ञानसम्मत छ/छैन भनेर पो हेर्नुपर्छ। राजनीतिको कित्ताकाट गर्ने बानी अरूतिर पनि सरेको छ हामी नेपालीको। ' उनले पटक पटक हामी नेपालीको थेगो प्रयोग गरे।

खासमा बिरामीको अत्यधिक चापका कारण र अत्यास लाग्दो खर्च देखेर अस्पतालभन्दा घर नै उपयुक्त लाग्यो। खतरा टर्‍यो जस्तो लागेपछि कुरुवा र शुभचिन्तकहरूलाई 'मलाई ठीक भयो' भन्ने भान पारियो। आखिर अस्पतालमा को चाहिँ बस्न चाहन्छ?

बिरामी सामान्य अवस्थामा फर्कन थालेपछि विस्तारै सेवकहरू आफ्ना काममा लाग्छन्। शुरूमा पाएको स्याहार बिरामीले पाउन छाड्छ। त्यसपछि बिरामी अर्को दुःखमा फस्दो रहेछ। नकारात्मक भाव बेस्सरी आउँछन्।

मान्छेअनुसार उसले पीडा र दुःख पोख्न थाल्छ। चिकित्सकहरू भन्छन्, यस्तो बेलामा बिरामीले आफूलाई रोक्नुहुन्न। मनका पीडा, आक्रोश, दुःख र विरह पोख्दा अरूलाई दुःख भए पनि बिरामीलाई असर गर्दैन।

बरू, बिरामीको पुरानो पीडा पनि निस्कन्छ र भित्रदेखि उसलाई हलुको महसुस हुन्छ, चाँडै रिकभर हुन्छ। मैले पनि ती कुराहरू अनुभव गरेँ। केही कुराहरू पोखेँ। त्यसमध्ये एउटा आक्रोश योग, ध्यान, प्राणायाम र आयुर्वेदतिर थियो।

खासमा लामो समयदेखि म योग, ध्यान, प्राणायाम र प्राचीन चिकित्सा पद्धतिका राम्रा पक्ष अनुशरण गर्थेँ। यसले मलाई थोरै समयमा धेरै काम गर्नसक्ने हिम्मत दिन्थ्यो।

साहित्यपोस्टमा नयाँ नयाँ शैलीमा रचना प्रस्तुत गर्ने र पाठकलाई खुसी कसरी दिन सकिन्छ भनेर कलाको विकास गर्ने गरिएको थियो। यसले चौतर्फी फाइदा दियो। तर, यो जीवनशैलीका कारण कोभिड–१९ को महामारीले मलाई केही हुन्न भन्ने आत्मविश्वास, अझ भनौँ-अन्धविश्वास चाहिँ मज्जाले पलाएको रहेछ।

यही अतिविश्वासका कारण मबाट लापरवाही भयो। सुविधामा पाएको खोप लगाइनँ। बरू, खोपका कमजोरी के-के छन् भनेर गुगल र सामाजिक सञ्जालमा खोजेर खोप नलगाएर ठीक गरेँ भनेर आफूलाई फुर्क्याइरहेँ।

जब कोभिडले च्याप्यो-मेरो पहिलो आक्रोश यही प्राणायाम, योग, ध्यान र आयुर्वेदतिर सल्कियो। ध्यान र प्राणायाम पूरै छाडेँ। आयुर्वेदसँग सम्बन्धित केही आवश्यक र प्रयोग गर्नेपर्ने सामग्रीको पनि प्रयोग गरिनँ।

सञ्चोबिसञ्चो सोध्ने क्रममा कसैले मलाई आयुर्वेद र योगसम्बन्धी सल्लाह दियो भने उसलाई उल्टै थर्काएँ।

डा. योगी विकासानन्द र डा. हरि पोखरेलजस्ता विद्वानहरूलाई मेरो पूर्वीय दर्शन प्रतिको रुचि थाहा थियो। शायद त्यसैले उहाँहरूले सञ्चोबिसञ्चोका लागि फोन गर्नुभयो। सोधपुछका क्रममा उहाँहरूले यो बेला गर्नुपर्ने योग, ध्यान, प्राणायाम र आयुर्वेदका केही सल्लाहहरू थपिदिनुभयो। उहाँहरूजस्ता उच्च कोटिका विद्वानलाई जवाफ त फर्काइँन, तर उहाँहरूका कुरालाई एक कानले सुनेँ र अर्को कानले उडाइदिएँ।

डा. पोखरेलले म्यासेज गरेर पठाउनुभएका औषधिका नामहरू डिलिट हानिदिएँ। बरू, गुगलमार्फत आधुनिक विज्ञानले भनेको कुरालाई अलि ध्यान दिएँ। तर, विज्ञानका लागि कोभिड–१९ विल्कुलै नयाँ भएकाले यसका निष्कर्षहरू आइसकेका छैनन्। उसको अवस्था पनि सुझाव दिनेसम्ममात्र रहेछ। ती सुझावमा पनि मलाई खासै चित्त बुझेन।

अब म न यताको कुरा पालन गर्ने भएँ, न उताको। एक महिना बितिसक्दा पनि 'पोस्ट कोभिड'को समस्याबाट उठ्न नसकेपछि ठिमीस्थित कोरियन अस्पताल गएँ।

डाक्टरले छातीको सिटी स्क्यान र अन्य केही जरुरी रिपोर्ट हेर्नुपर्ने सुझाव दिए। यसका लागि बी एण्ड बी अस्पताल पुगेर आवश्यक रिपोर्टहरू जम्मा गरेँ। त्यसपछि बी एण्ड बी र कोरियन अस्पतालका एक-एक जना डाक्टरलाई भेटेँ।

ती मध्ये कोरियन अस्पतालका एकजना डाक्टरले भनेका कुरा लेख्न नै मैले यति लामो भूमिका बाँधेको हुँ।

डाक्टर : 'अहो! फोक्सोमा निकै दाग देखिन्छ। कति दिन अस्पताल बस्नुभयो?'

म : 'चार दिन।'

डाक्टर : 'कति दिन अक्सिजन लिनुभयो?’

म : 'लिइँन। अक्सिजन स्टाण्डबाइ त थियो। तर, दुई दिनसम्म गाह्रो नभएपछि मेरो छेउको अक्सिजन सिलिण्डर अरू कसैका लागि लगियो।'

डाक्टर : 'अनि कति दिन लिनुभयो अक्सिजन?'

म : 'एकपल्ट पनि लिइँन। तेस्रो दिन अलि गाह्रो भएको थियो। त्यो बेला घोप्टो परेर सुत्थेँ। एकपल्ट मध्य रातमा घोप्टो पर्दा पनि गाह्रै भइरह्यो। आत्तिएर अक्सिजनको माग गर्न बिर्सिएछु।

बरू, त्यो बेला लगातार भष्त्रीका, नाडी सोधन र अनुलोम बिलोमजस्ता प्राणायाम प्रयास गरिरहेँ। राम्ररी त गर्न त सकिनँ। मलाई रातभर सास फेर्न त्यसले सहयोग गर्‍यो। भोलिपल्टदेखि जब-जब अप्ठ्यारो पर्दथ्यो, त्यही प्राणायामहरू गरिरहेँ।'

डाक्टर : '(छक्क पर्दै)अहो, तपाइँ लक्की! मलाई देखाउनुस् त, कसरी गर्नुभयो?'

मैले भष्त्रीका, नाडी सोधन अनि अनुलोम बिलोमका प्रक्रियाहरू गरेर देखाएँ।

डाक्टर : 'यो राम्रो क्रिया हो। हामीलाई पनि सास लामो लामो तान्न सिकाइन्छ। तर, तपाइँले गरेको निकै राम्रो हो। तपाइँको छातीमा दागहरू छन्। यसले त्यो बेला तपाइँलाई सास फेर्न निकै गाह्रो भएको बताउँछ। धेरै मानिस अक्सिजन नपाएर बिते।'

त्यसपछि डाक्टरले केही औषधिहरू लेखिदिए। त्यसपछि च्यावनप्रास पनि खाँदा राम्रो हुन्छ भने।

छक्क परेँ। एलोपेथिक डाक्टरले च्यावनप्रासजस्तो आयुर्वेदिक औषधिलाई अनौपचारिक रूपमा सिफारिस गरिरहेका थिए।

म : 'एलोपेथिक डाक्टरहरू त आयुर्वेद र योगको विरोध गर्छन् नि?'

डाक्टर : 'कुनै पनि अतिवादतिर जानुहुन्न।'

उनले थप्दै गए : '...हामी नेपालीको बानी के छ भने हामी बीचमा बस्नै जान्दैनौँ। कित्ताकाट गरिहाल्छौँ। राम्रो कुरा सबै राम्रो नै हुन्छ। त्यसलाई विज्ञान सम्मत छ/छैन भनेर पो हेर्नुपर्छ। राजनीतिको कित्ताकाट गर्ने बानी अरूतिर पनि सरेको छ हामी नेपालीमा।'

उनले पटक-पटक 'हामी नेपाली'को थेगो प्रयोग गरे।  

अस्पताल बाहिर निस्कँदा मेरो दिमाग शून्य भएको महसुस भयो। एलोपेथिक डाक्टरले मेरो आँखा खोलिदिए। म जस्तो अलिकति पढेलेखेको व्यक्ति त एउटा सानो घटनाबाट विचलित भएर कित्ताकाट गर्ने अवस्थामा पुग्दो रहेछु भने सामान्यजनको अवस्था के होला?

एकछिन, उनले अहिलेको राजनीतिको कित्ताकाटबारे दुखेसो गरे। हामी जस्तै यी डाक्टर पनि राजनीतिबाट विरक्त रहेछन्। मैले उनको राजनीतिक अर्तीलाई छल्दै कुरा अघि बढाएँ।

म : 'मलाई योग ध्यानप्रति विश्वास थियो। रोग लागेपछि मलाई विश्वास हट्यो। त्यसैले फेसबुकमा मैले त आयुर्वेद, योग र ध्यानको विरोधमा स्टेटस लेखेँ। खोपबाहके यो रोगको अरू विकल्प छैन भनेर अर्ती दिएँ। त्यो धेरैपटक सेयर भएको थियो। अहिले अप्ठ्यारो लागेको छ।'

डाक्टर : 'फेसबुकमा लेखेको कुरा कसले पढ्छ र? चिन्ता नगर्नुहोला। सबै ठीक हुन्छ। खोप त अनिवार्य नै हो। तर, खोप मात्रै समाधान होइन। तपाइँको शरीरले वर्षौंदेखि जे गरिरहेको छ, त्यो उसले चिनेको हुन्छ। त्यसैले तपाइँले आर्ट अफ लिभिङका राम्रो कुरालाई छाड्नुहुन्न। नमस्कार! अब जानू।'

म : 'हस् त धन्यवाद!'

अस्पताल बाहिर निस्कँदा मेरो दिमाग शून्य भएको महसुस भयो। एलोपेथिक डाक्टरले मेरो आँखा खोलिदिए। म जस्तो अलिकति पढेलेखेको व्यक्ति त एउटा सानो घटनाबाट विचलित भएर कित्ताकाट गर्ने अवस्थामा पुग्दो रहेछु भने सामान्यजनको अवस्था के होला?

आफू पोस्ट कोभिडबाट अझै पनि निस्कन नसकेको कारण बुझेँ। मेरो शरीरले खोजेको कुरा त अर्कै पो रहेछ।

अब भोलिदेखि म योग शुरू गर्दैछु। आफूले जानेका कुरा र डा. योगी विकासानन्द एवम्‌ डा.हरि पोखरेलले बिरामी अवस्थामा चिन्ता गरेर दिएका सुझावहरू अनुसरण गर्नेछु।

मुख्य कुरा-मलाई गुदी कुरा बताइदिने ती डाक्टरलाई प्रमाण गर्दछु। उनको नाम मैले सोध्न बिर्सेछु। अग्ला र हँसमुख यी डाक्टर कोरियन अस्पतालबाहेक कहाँ काम गर्छन्, थाहा छैन। उनलाई भेट्नुभयो भने मेरो सन्देश र नमस्कार सुनाइदिनुहोला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.