|

डडेल्धुरा : पेट्रोलमा कालोबजारी भएको भन्दै विरोध प्रदर्शन गरिएको छ। बोलन्या थली युनिट डडेल्धुराले शुक्रबार पेट्रोलको कृत्रिम अभाव देखाई कालोबजारी गरिएको भन्दै  विरोध प्रदर्शन गरेको हो।

बजारमा कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्न खाजेको भन्दै बोलन्या थलीले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको हो।

डडेल्धुरामा वीर बेताल र उग्रतारा आयल गरी दुई वटा पेट्रोल पम्प रहेका छन्। तर, यी दुवै पम्पले उपभोक्तालाई पेट्रोल नदिएर यहाँका किराना पसलहरूलाई दिँदै आएकोसमेत आरोप लागेको छ। यस्तो महामारीमा पनि यहाँका पेट्रोल पम्पले कालोबजारी गर्दासमेत स्थानीय प्रशासन मौन बसेको भन्दै थलीले प्रदर्शन गरेको हो।

पेट्रोल पम्पमा पेट्रोल नपाइने र बजारमा खुलयाम पाइने गुनासो बढेपछि प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको बोलन्या थली युनिट डडेल्धुराका सहसंयोजक सुरत तमोलीले बताए। उनका अनुसार ‘लाचार प्रशासन काउली गोड, पेट्रोल नदिने लाइसेन्स छोड’लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिएको हो।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन खोज्दा ४ बजे आउनू भनेर प्रशानले आफूहरूलाई गेटबाटै फर्काएको सहसंयोजक तमोलीले बताए। जिल्लामा संचालित पम्पमा पेट्रोल नपाइने गुनासो दिनप्रति बढ्दै गइरहेको छ। बजारमा जताततै बोतलमा पेट्रोल पाइने तर पप्ममा पेट्रोल आएको दोस्रो दिन नै सकियो भन्दै सेवाग्राहीहरूलाई फर्काउने गरेको गुनासो मोटरसाइकल चालकहरूको छ।

पेट्रोल पम्पमा पेट्रोल नपाएपछि सरकारले तोकेभन्दा बढी रुपैयाँमा बजारबाट पेट्रोल हाल्नुपर्ने अवस्था सिर्जना भएको गुनासो उनीहरूको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.