व्यवसायीको प्रश्न : सिने क्षेत्र कोरोना उत्पादन केन्द्र हो ?

|

काठमाडौं : गत वर्षदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले देशका सम्पूर्ण आर्थिक गतिविधि ठप्प भए। सरकारले कोभिड रोकथाम तथा नियन्त्रण लागि लगाएको निषेधाज्ञा खुकुलो बनाएसँगै अन्य क्षेत्र चलायमान बन्दै गएका छन्। 

यतिबेला कोरोनाले सबैभन्दा बढी संकटमा नेपाली सिनेमा क्षेत्र परेको छ। विगत १५ महिनादेखि सिनेमा हलहरू बन्द छन्। गत वर्ष सरकारले करिब ८ महिनाको बन्दाबन्दीपछि विस्तारै अन्य क्षेत्र सञ्चालनमा आए पनि सिनेमा हल भने खुलाउन सकेन।   

यसरी लामो समय बन्द हुँदा हलहरू सधैंका लागि बन्द हुन थालेका छन्। यति लामो समय सिने क्षेत्र बन्द हुँदा यस क्षेत्रमा आबद्ध रहेकाहरू खुल्ने दिनको प्रतीक्षामा छन्। पहिलो चरणको लकडाउनले थला परेको सिनेमा क्षेत्र दोस्रो चरणको निषेधाज्ञाले बन्द हुने अवस्थामा पुगेका हुन्। सरकारले दोस्रो चरणको लकडाउन खुकुलो पार्दा पनि सिनेमा क्षेत्रलाई सम्बोधन गर्न सकेको छैन।

सिने क्षेत्र रोजगारी सिर्जना गर्ने ठूलो क्षेत्र हो। यो क्षेत्र बन्द हुँदा धेरै कला कर्मी र चलचित्र प्राविधिकहरू विस्थापित हुने अवस्थामा पुगेको चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारीले बताए।

यस क्षेत्रमा प्रतिक्ष्य रुपमा  ३५ हजार मानिस आबद्ध रहेका छन्। सरकारी कार्यालय, सार्वजनिक बस सञ्चालन भइसक्दा पनि सिने क्षेत्रका विषयमा कुनै पनि निर्णय गर्न सकेको छैन। चलचित्र कुर्मीहरूले सरकारले सिने क्षेत्रलाई आफ्नो प्राथमिकतामा नराखेको बताइरहेका छन्। 

१५ महिनाको अन्तरालमा नेपाली सिने क्षेत्रले निकै क्षति बेहोरिरहेको भन्दै अधिकारीले अब भने सरकारी मापदण्ड पूरा गरेर सिनेमा हल संचालन गर्न नसकिए कलाकार तथा हल संचालक हरू विस्थापित हुने अबस्था आएको अधिकारीले बताए। सरकारले सिने क्षेत्रलाई कुनै पनि समयमा प्राथमिकतामा नराख्नु दुखद् कुरा भएको अध्यक्ष अधिकारीले बताएका छन्।

यतिवेला ८५ सिनेमा  बनिसकेका छन्। २८ वटा सिनेमाले त रिलिजको मितिसमेत तोकिसकेका थिए। सरकारले फिल्म निर्माणका लागि लोनको व्यवस्था गरेको छैन। आफ्नो घर जग्गा धितो राखेर निर्माण गरेको फिल्म चल्न पाएको छैन। अध्यक्ष अधिकारीका अनुसार फिल्म निर्माताहरूले १ अर्ब ७५ कारोड लगानी गरिसकेका छन्। उनी भन्छन्, ‘सिनेकर्मीहरू शान्तिपूर्ण रुपले सहमतिमा हल संचालनको प्रक्रियामा बढ्न चाहेका छन्।’

सिने क्षेत्रलाई कोरोना उत्पादन केन्द्र ठान्दै सरकार अन्याय गरेको हल संचालक प्रदीपकुमार उदयले बताए। सरकारसँग पटकपटक छलफल गरे पनि सरकारले यस क्षेत्रलाई हल्का रुपमा लिएर कुनै कदम नचालेको हल सञ्चालक उदयले बताए। 

२८ वटा सिनेमा हल  बन्द 

१६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन्। यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यका बाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन पाठकले जानकारी दिए। 

हल सञ्चालकको संस्था (नेपाल चलचित्र संघ) को तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्ने गरी सधैंका लागि बन्द भएका हुन्। सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डिसिएन, क्युबाजस्ता सर्भरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गर‍िसकेका छन्। 

कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चित देखेर काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिजले सात वटामध्ये चारवटा सिनेमा हल भत्काएको छ। गोपीकृष्ण मुभिजअन्तर्गत गोपी, कृष्ण, राधा र मीरा गरी चारवटा सिनेमा हल भत्काइएको छ। हल भत्काएर सो ठाउँमा गोपी कृष्णले यतिबेला गोपीकृष्ण मल निर्माण सुरु गर्दै छ। 

गोपी कृष्णले अब ओम, नम र शिवा य गरी तीन वटा सिनेमा हल मात्र सञ्चालन गर्ने भएको छ।  यस्तै सो समूहका तीन वटा सिनेमा हल बन्द गरेको छ। काठमाडौंको हात्तीसारस्थित जय नेपाल सिनेमा घर र कमलपोखरीस्थित कुमारी सिनेमालाई  बन्द गरेको हो। 

जय नेपाल सिनेमा घर नेपालकै जेठोमध्येको सिनेमा घर हो। कुमारी सिनेमाले पनि चार दशकभन्दा लामो इतिहास बोकिसकेको छ। यसरी लामो इतिहास बोकेका सिनेमा घर कोरोनाको महामारीकै कारण बन्द गर्नुको विकल्प नरहेको संघका अध्यक्ष पाठकले बताए। 

काठमाडौंको बालाजुमा रहेको गंगा चलचित्र मन्दिर पनि कोरोना महामारीकै कारण सधैंका लागि बन्द भएको छ। यो सिनेमा हलमा गंगा ‘क’ र गंगा ‘ख’ गरी दुई वटा फिल्म हल थियो। यी हलहरू कोरोनाका कारण धरापमा परेर बन्द भएका संघका अध्यक्ष पाठकले  बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.