लामो दूरीका यातायात चलाउन पाउनुपर्ने यातायात व्यवसायीकाे माग

|
फाइल तस्बिर

काठमाडौं : रत्नराज्य क्याम्पसमा अध्ययनरत निश्चल क्षेत्री अहिले ताप्लेजुङमा छन्। उनको घर त्यहीँ हो। काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएका कारण गाउँ गएका उनी अहिले धेरै चिन्तित छन्। कारण हो–वार्षिक परीक्षा नजिकिँदै जानु। 

त्रिभुवन विश्वविद्यालय (त्रिविले) कोरोनाले रोकिएको सबै त्रिविको स्नातक तहकाे प्रथम, दोस्रोलगायत वर्षको वार्षिक परीक्षा आगामी साउन ५ र १० गतेबाट क्रमश : सञ्चालन गर्ने भनी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।

परीक्षा भौतिक उपस्थितिमै हुने त्रिविले जनाएको छ। तर,उनी निषेधाज्ञाका कारण काठमाडौं आउन सकिरहेका छैनन्। भन्छन्, ‘त्रिविले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसक्यो,परीक्षा काठमाडौं​मै दिनुपर्ने छ, म भने गाउँमा छु, लामो दूरीका सवारीसाधन चलेका छैनन्, बाटो पनि पानी परेर कतिपय ठाउँमा अवरुद्ध छ, कसरी काठमाडौंमा परीक्षा दिन आउनु सरकार?।’ 

त्रिविले छोटो समयमा परीक्षाबारे निर्णय गर्दा मानसिक रुपमा समस्यामा पनि पर्दै गएको उनी बताउँछन्। ‘पहिला पढेको बिर्सिँदै गयो,अहिले तयारी गर्ने समय नै छैन,’क्षेत्री भन्छन,‘काठमाडौंमा आएर कोठामा पढ्ने वातावरण पनि मिल्दैन।’ 

भौतिक उपस्थितिमा परीक्षा दिँदा कोरोना संक्रमणको जोखिम हुने उनी सुनाउँछन्। भने, ‘भौतिक उपस्थितिमा परीक्षा दिँदा भोलि फेरि हामीलाई केही भयो भने यसको जिम्मेवार को? त्यसैले निश्चित समय मिलाएर अनलाइन परीक्षाको व्यवस्था हुनुपर्छ।’

ताप्लेजुङकै हेमराज निरौला पनि सार्वजनिक सवारीसाधन नचलेका कारण काठमाडौं आउन नपाएको दुखेसो पोख्छन्। ‘म अहिले गाउँमा छु,काठमाडौं आएर मास्टरको भर्ना हुनुपर्ने बस नै चलेका छैनन्,त्यही भएर धेरै चिन्तित छु,’ निरौलाले भने।

यी दुई मात्रै होइनन्। लामो दूरीको सवारीसाधन चल्न नसक्दा लोकसेवा आयोगका परीक्षार्थी पनि उत्तिकै चिन्तित छन्। धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका-१२ का सावित्री थापामगर यतिखेर काठमाडौंमा छिन्।

तर उनी साउन १६ गते धनकुटा जिल्लामा पुगेर आयोगकाे परीक्षा दिनुपर्ने छ। त्यसो त अहिलेदेखि नै कसरी परीक्षा केन्द्रसम्म पुग्ने होला भन्ने चिन्ताले उनलाई सताइरहेको छ। भन्छिन्,‘खरिदारको दोस्रो र तेस्रो पत्रको परीक्षा दिन धनकुटा जानु छ,लामो दूरीको कुनै सार्वजनिक सवारीसाधन चलेका छैनन्, कसरी जाने हो अन्योलमा छु।’

लामो दूरीका यातायात चलाउन माग गरेका छौँ : यातायात व्यवसायी

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारसँग लामो दूरीको सवारीसाधन सञ्चालन गर्न दिनुपर्ने माग गरिरहेको बताउँछन्।

‘कोरोना संक्रमण कम हुँदै गएको छ, दुई महिनाभन्दा बढी समयदेखि लामो दूरीका सवारीसाधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन, परीक्षा पनि नजिकिँदै छ, त्यसैले सवारी सञ्चालनको माग गर्दै सरकारलाई पत्र बुझाएर चल्न दिने आशामा बसिरहेका छौँ,’ उनले भने। 

एकतर्फी सवारी सञ्चालन गर्न सिसिएमसीमा छलफल 

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का प्रमुख बालानन्द शर्माले लामो दूरीको सवारीसाधनका लागि एकतर्फी  सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको बताए।

‘यो अवस्थालाई खुल्ला नगरी परीक्षार्थीलाई सहज होस् भनी एकतर्फी सवारीसाधन सञ्चालन गर्न दिने विषयमा छलफल भएको छ,’उनले भने,‘निर्णय भने असार ३१ सम्ममा आउँछ।’

उनका अनुसार यो लागु भएमा लामो दूरीका सार्वजनिक यातायातले गाउँका परीक्षार्थी होस या सर्वसाधारण काठमाडौं वा अन्य जिल्लासम्म लान पाउने छ। तर पुन: फर्किँदा सवारीसाधनले कुनै यात्रु बोक्न पाउने छैनन्।  

यसो भन्छन् सिडियो

परीक्षाको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले परीक्षा दिने विद्यार्थीलाई सहज वातावरण मिलाइदिने आश्वासन दिन्छन्।

भने,‘अहिले पनि परीक्षार्थीलाई  पास लिएकाे आधारमा आवतजावत गर्न जिल्लाले दिइरहेको छ, रोकटोक छैन, कसरी सहज वातावरण मिलाउने भनी ३१ गतेसम्ममा छलफल गरी निर्णय लिन्छौँ,जे भए पनि परीक्षार्थीलाई सहज वातावरण मिल्छ।’ 

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएको थियो। अहिले पनि निषेधाज्ञा काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाहरूमा  पनि कायमै छ। उपत्यकाभित्र भने सरकारले सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.