|

काठमाडाैं : नेपाली चलचित्र क्षेत्रमा लागेर आफ्नै अलग्गै पहिचान बनाएका केही कलाकारले आत्महत्याको बाटो रोजेका छन्।

धेरैजसो नेपाली चलचित्रका नायिकाले आत्महत्या गरेका छन्। कसैले अश्लील तस्वीर या भिडियो बाहिरिएका कारण त कोही डिप्रेसनका कारण आत्महत्या गर्न बाध्य भए।

पछिल्लो समय बिहीबार मात्र चलचित्रकी नायिका एवं निर्मात्री जेनी कुँवरले झुन्डिएर आत्महत्या गरिन्। कुँवरअघि पनि नायिका श्रृषा कार्की  र जेसीका खड्काले पनि तनावकै कारण आत्महत्या गरेका थिए।

नाम र दाम दुबै कमाएका नेपाली सेलिब्रेटीहरू डिप्रेसनको शिकार हुँदै इहलीला समाप्त गर्नसम्म पछि परेनन्। संचारकर्मी एवं निर्देशक आलोक नेम्बाङले पनि २०७१ सालमा झुण्डिएरै आत्महत्या गरेका थिए।

चलचित्रको माध्यमबाट अरूलाई जनचेतना जगाउने र अरूलाई जस्तो परिस्थितीमा पनि जुधेर अगाडी बढ्न सिकाउनेहरू आफू स्वयं भने जिन्दगीदेखि नै वाक्क भएर आत्महत्या गर्न बाध्य भए। 

जेनि कुँवर

नायिका जेनि कुँवरले काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन्। विगत १ वर्षदेखि डिप्रेशनमा रहेकी जेनीले आत्महत्या गर्नुको कारण सोही समस्या हुनसक्ने प्रहरीले जनाएको छ।

केही वर्षदेखि पाशुपत क्षेत्रमा अवस्थित विश्वरुप मन्दिर आसपास उनी साधुको अवतारमा बस्दै आएकी थिइन्। उनको जीवन र जगतका वाणी युट्युवमा समेत आइरहने गरेको थियो। तर, पशुपतिकै बाबा तथा जोगीहरूसँग लफडा हुने हुँदा उनी विवादमा समेत आउने गरेकी थिइन्‌।

​चलचित्र जिन्दगानीबाट नेपाली रजतपटमा छिरेकी उनले  बज्रपात , मैदान, घायल, हलचल, धुम, मिस्टर डन, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, बिन्तीपत्र, अभिमन्यु लगायतका चलचित्रमा अभिनय गरेकी थिइन्।

नायिका जेनीकुँवरको ‘छाइदेउ श्री हजुर मनमा‘’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको थियो। ​

श्रृषा कार्की

नेपाली चलचित्र क्षेत्रमा आत्महत्या गर्ने नायिकाको सूचीमा सबैभन्दा पहिलो नम्बरमा श्रृषा कार्कीको नाम आउँछ।

घामछाया, मोहनी लाग्ला है, माया बैगुनी , अंशवण्डा,  धर्ती , माया गर्छु म, लगायतका चलचित्रमा अभिनय गरेर चर्चा बटुलेकी कार्कीको आत्महत्याको रहस्य अहिलेसम्म खुल्नसकेको छैन।

१९ वर्षअघि आत्महत्या गरेकी अभिनेत्री कार्कीले एक पत्रिकामा छापिएको नग्न तस्वीरका कारण अपमानित भएको महसुस गरेर आत्महत्या गरेको मानिन्छ।

पत्रिकामा छापिएको तस्वीरमा नग्न श्रृषा त्रसित अबस्थामा रहेको देखिएको थियो। त्यही फोटो प्रकाशित भएको तेस्रो दिनमा उनले आत्महत्या गरेकी थिइन्‌। उनको मृत्युपछि चलचित्र 'बाचाबन्ध' रिलिज भएको थियो।

श्रृषाको आत्महत्यामा नेपाल  प्रहरीका तत्कालीन सई उद्धव भण्डारी र जनआस्थाका सम्पादक किशोर श्रेष्ठको नाम जोडिएको थियो। 

जेसिका खड्का

नेपाली चलचित्र क्षेत्रमा आत्महत्या गर्नेको सूचीमा जेसिका खड्को नाम पनि कसैले भूल्न सक्दैनन्।

ज्योति खड्काको नामले सिनेपर्दामा उदाएकी उनले पछि जेसिका नाम राखेकी थिइन्। जंगल क्वीन, जंगल लभ, मेरो माया तिमीलाई , गहिराइ, लक्की सेभेन लगायत चलचित्र अभिनय गरेकी उनको एक टेलिभिजनको हास्य कार्यक्रममा अभिनय गरिरहँदा यौन भिडियो सार्वजनिक भएको थियो।

गायक प्रकाश ओझासँगको सेक्स भिडियोले उनी केही समय गुमनाम भएपनि पछि जेसिका खड्काबाट चलचित्रमा हिम्मत गरेर अगाडी बढेकी थिइन्। तर, केही वर्षमै उनले आत्महत्याकै बाटो रोज्न पुगिन्।

विष सेवन गरी आत्महत्याको प्रयास गरेकी उनले ३ वर्षपछि झुन्डिएर आत्महत्या गरिन्। आत्महत्याको रहस्य पनि खुल्न सकेको छैन। 

आलोक नेम्बाङ

आलोक नेम्बाङले ३ वटा नेपाली चलचित्र निर्देशन गरेका थिए। सानो संसार, कोही मेरो र अझैपनि उनले निर्देशन गरेका चलचित्र हुन्।

'अझैपनि' चलचित्र उनको मृत्यु पछि रिलिज भएको थियो। एउटै ढर्रामा गइरहेको नेपाली सिने जगतमा उनको सानो संसार चलचित्रले कोसेढुङ्गा सावित गरेको थियो। हिन्दी चलचित्रको मार्केट बढिरहेका बेला उनले पस्केको यो फिल्मले नयाँ पिँढीलाई नेपाली चलचित्रप्रति आकर्षण पैदा गराइदिएको थियो।

नले लिम्बु भाषाको चर्चित 'नुमाफुङ' चलचित्रमा अभिनय गरेका थिए। करिब ५ सय वटा गीतको म्युजिक भिडियो निर्देशन गरेका उनले सानो संसार चलचित्रको 'ढलढल' बोलको गीतमा बेजोड नृत्य प्रस्तुत गरेका थिए।

४३ वर्षको उमेरसम्म पनि उनी अविवाहित नै रहे। उनका सहकर्मीका अनुसार विवाहको उनमा चाहना थिएन। आत्महत्या अघिका केही समय उनी जीवनदेखि निराश थिए।

२०७१ कार्तिक २० गते चर्चित निर्देशक आलोक नेम्बाङ आफ्नै अपार्टमेन्ट भर्‍याङमा झुन्डिएको अवस्थामा फेला परे। आत्महत्याको कारण भने अझैं पनि रहस्यमय नै छ।

गायक-गायिका पनि आत्महत्याकै बाटोमा

चलचित्र क्षेत्रमा लागेका मात्र होइनन्, गायक तथा गायिकाले पनि आत्महत्या गरेका छन्।

चर्चित युवा पप गायक कुल पोखरेल, र्‍याप गायक यम बुद्ध (अनिल अधिकारी), गायिका योगिता मोक्तान, गायिका भगवती दंगाल लगायतका गीत-संगीतका कलाकारले जीवनको अन्त्य गर्न आत्महत्याकै बाटो रोजे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.