|

बारा : जीतपुरसिमरा उपमहानगरपालिका–१२ फक्तेपुरका ५० वर्षीय सन्तोष चौधरीको चार बिघा खेतमा बाढी पसेपछि यस वर्ष रोपाइँ गर्न पाएनन्। बाढीले खेत र बिउ सबै पुरेपछि उनलाई चिन्ताले सताएको छ।

‘खोला जताततै बगिराछ, कसैको घर डुबेको छ त कसैको खेत डुबिराछ। सबै बर्बादै भयो,’ चौधरीले भने, ‘पाँच वर्षअघि गहुँ, मकै, धान गरी तीन बाली राम्रो हुन्थ्यो। अहिले एक बाली पनि हुँदैन। एउटा खेत तीनपटक रोप्नुपर्छ। तै पनि बाढी पसेर पुरिदिन्छ।’ 

केही वर्षअघिसम्म करिब ४०० मन धान फलाउने चौधरी अहिले चामल किनेर खान्छन्। ‘पहिले वर्षमा तीन बाली सजिलै हुन्थ्यो,’ उनले भने, ‘बिघामा सय मन धान फल्थ्यो, अहिले सबै खोलाले बगाएर कासघारी भइसक्यो।’

सन्तोषजस्तै फक्तेपुरकी पुनम चौधरीको पनि एक बिघा खेत यस वर्ष खोलाले बगायो। ‘बाढीले खेतमा बालुवा मात्रै छ, रोपाइँ कसरी गर्ने?’ उनले भनिन्, ‘यस वर्ष त बाढी घरसम्म आयो।’

सन्तोष र पुनम चौधरीको जस्तै जीतपुरसिमराको वडा नम्ब १२, १८, १९ र २० का फत्तेपुर, सिमरी, पिपडिया, ईनर्वासिरा, मटरिया तथा कलैया उपमहानगर–२४ मा हजारौं बिघा खेतीयोग्य जग्गा बालगंगा खोलाको बाढी र कटानले बगरमा परिणत गरेको छ।

फत्तेपुरका लक्ष्मीनारायण खाँ थारुले सरकारले खोलामा पक्की ड्याम लगाइदिए खेत जोगाउन सकिने बताउँछन्। ‘केही वर्षअघिसम्म यहाँ असाध्यै राम्रो खेती हुन्थ्यो। उब्जनी पनि हुन्थ्यो,’ उनले भने, ‘अहिले खोला पसेर बर्बाद पारेको छ। तै पनि हुन्छ कि भनेर हामी हरेक वर्ष रोपाइँ गर्छौं।’

बालुवा, ढुंगा निकालिँदै आएको बालगंगा, पसाहा, दुधारौ, बकैया, धन्सारलगायत साना तथा ठूला खोलामा बर्सेनि आउने बाढीले जीतपुरसिमरा, कलैया, प्रसौनी र महागढीमाई नगरपालिकाको हजारौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत गर्दै आएको छ। राजस्व संकलनमा नाममा जथाभावी रुपमा बालुवा तथा ढुंगा निकाल्न खोलाको धार बर्सेनि परिवर्तन गर्दा कहिले बस्तीतर्फ त कहिले खेतीयोग्य जग्गामा नोक्सान पु¥याएको जीतपुरसिमरा–१२ का वडाध्यक्ष लालबाबु चौधरीले बताउँछन्। ‘हातमा लालपुर्जा छ, मालपोत पनि बुझाइरहेका छन्,’ उनले भने, ‘तर, खेती गरेर खान पाएका छैनन।’

तत्कालका लागि अस्थायी ड्याम

दुई साताअघि आएको अविरल वर्षाले बालगंगा खोलाको बहाव बढेपछि जीतपुरसिमरा–१२ मा माटो र बालुवाको अस्थायी ड्याम भत्केपछि पुनः दुईवटा एक्जाभेटरको माध्यमवाट ड्याम लगाउने काम भइरहेको छ। वडा कार्यालयको पाँच लाख र स्थानीयहरुको सहयोगमा अस्थायी ड्याम लगाइएको वडाध्यक्ष चौधरीले बताए। 

‘हजारौं हेक्टर खेतीयोग्य जमिन बालुवाले पुरेर बर्बाद गरेपछि तत्कालका लागि अस्थायी ड्याम लगाएका छौं,’ उनले भने, ‘यसपटक हामीले जसरी तसरी वडाको बजेट, किसानको सहयोग लिएर ड्याम बनायौैं, भोलिका दिनमा प्रदेश वा केन्द्र सरकारले सहयोगमा तारजालीको पक्का ड्याम लगाउन पाए गाउँ पनि जोगिन्थ्यो, उब्जाउ जग्गा पनि जोगिन्थ्यो।’ 

बालगंगा खोलामा बनाइएको निमार्णधीन पुलका कारण ४÷५ वर्षदेखि खोलाको पानी गाउँ पसेर नोक्सान पु¥याएको वडाध्यक्ष चौधरीले बताए।

हामीलाई क्षतिको जानकारी छैन : कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले उब्जनीयुक्त जग्गामा बाढीले पु¥याएको नोक्सानबारे आफूलाई कुनै जानकारी नभएको बताए।

‘बाढीले के कति नोक्सान भयो भन्न स्थानीय तहहरुले हामीलाई कुनै तथ्यांक दिएको छैनन्,’ यादवले भने, ‘विगतका तथ्यांकहरु हेर्ने हो भने बारामा जीतपुरसिमरा, प्रसौनी, कलैया र महागढीमाई नगरपालिका धेरै नोक्सान पु¥याएको थियो, तर यसवर्षको तथ्यांक हामीसँग छैन्।’ 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.