प्रहरी भन्छ : अझै अनुसन्धानमै छौँ

|

चितवन : गैंडाकोटनगरपालिका–४ की २१ वर्षीया विना सापकोटा बेपत्ता भएको शनिवार १२ दिन पूरा भयो । 

अहिलेसम्म पनि उनको कुनै अत्तोपत्तो छैन । उनी कहाँ, कसरी बसेकी छन् भन्ने कुरा न प्रहरीले सुराक पाएको छ, न त परिवारले नै कुनै अनुमान लगाउन सकेको छ ।

छोरीको खोजीमा लागेका विनाको बुबा जयश्वर सापकोटा छोरी भेटिनेमा अझै आशावादी छन्। उनी भन्छन्, ‘आशावादी भएर नै खोजीमा लागिरहेका छौँ, शुक्रबार देवघाटदेखि गौरी घाटसम्मको नदी तटीय क्षेत्रमा प्रहरीसहितको टोलीले खोजी कार्य गर्यो, होटलहरूमा पनि खोजी जारी राखेका छौँ तर अहिलेसम्म कहीँकतै फेला पार्न सकेका छैनौँ ।’

उनका अनुसार कसैले यो ठाउँमा हामीले देखेका छौँ भन्ने जानकारी पनि दिएको छैन ।

छोरी हराएपछि जयश्वरले आफूलाई सम्हाल्दै खोजीमा जुटिरहेका छन्। घरमा जो कोही आए पनि छोरी खोजिदिन परिवारले आग्रह गरिरहेको छ। सापकोटा असार १४ गतेदेखि चौबीसकोठीबाट बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । 

नवलपरासी प्रहरीसँगको सहयोग लिएर विनाको व्यापक खोजी गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा बताउँछन् । यस विषयमा अहिलेसम्म कति जनालाई सोधपुछ गरेर सकियो भनेर उनले बताउन चाहेनन् ।

‘नवलपरासी र चितवन प्रहरी भएर संयुक्त रुपमा खोजी तथा अनुसन्धान गर्ने काम गरिरहेका छौँ’, उनले भने । 

विना पाँच वर्षदेखि भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेलसँग प्रेम सम्बन्धमा थिइन्। हराएको दिन पनि प्रवेशले विनाकै घरबाट उनलाई स्कुटरमा राखेर आफ्नो घर ल्याएका थिए । प्रवेशले विनालाई आफ्नो घरमा ल्याउँदा प्रवेशको अर्की युवतीसँगको सम्बन्ध थाहा पाएपछि विना केही समय बेहोस भएकी र होसमा आएपछि उनी त्यहाँबाट निस्केको बताइएको छ ।

भरतपुरको चौबीसकोठीमा आएपछि विनालाई बाहिर छोडेर प्रवेश बैंकको एटिएममा पसेपछि विना बेपत्ता भएको भनाइ प्रहरीको छ । प्रहरीले विनाको प्रेमी प्रवेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

दाइको विवाहका लागि प्रवेश वैशाखको दोस्रो साता बेलायतबाट आएका थिए । विना गैँडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

यसअघि पूर्वी चितवनको राप्ती नगरपालिकाकी २३ वर्षीया सुजिता भण्डारी ९ दिन बेपत्ता भएपछि मृत फेला परेकी थिइन् । उनको के कारणले मृत्यु भयो भनेर प्रहरीले अझै पुष्टि गर्न सकिरहेको छैन । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.