|

काठमाडाैं : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका छन्। 

उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने उद्घोष गरे। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए।

तेरो र मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी उनले गरे। नेता पुत्र त्रयको भेटघाट गुट उपगुटको अन्त्य गरि पार्टीलाई एकढिक्का बनाई सहमतिका साथ सभापतिको उम्मेदवार चयनका लागि आवश्यक वातावरण बनाउने कार्यमा केन्द्रित भएको उनले स्पष्ट पारे।

तीन नेताको भेटघाट पार्टी भित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभई एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रुपमा बुझ्न पनि उनले सबैलाई आग्रह गरेका छन्। 

नेपाली कांग्रेसको आसन्न महाधिवेशन, क्रियाशील सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालासँग न्युज एजेन्सी नेपालले गरेको अन्तरवार्ताको सम्पादित अंश

आसन्न महाधिवेशनको तयारी कस्तो छ ?

अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको छैन। यो अन्त्यसम्म आइपुगेको छ। मलाई लाग्छ यो महिनाको अन्त्यसम्म क्रियाशील सदस्यताको अन्तिम टुंगो लाग्छ र एउटा खाका तयार हुन्छ त्यसपछि हामी अधिवेशनतर्फ जान्छौं।

अहिले पार्टीको ध्यान नै क्रियाशील सदस्यतर्फ छ। क्रियाशील सदस्य टुंगो नलगाई त हामी महाधिवेशनमा जान सक्तैनौँ। त्यही नै अवस्था हो।

क्रियाशील सदस्यता तत्काल टुंगो लाग्न सक्ने अवस्था देखिएको छैन। यसले महाधिवेशनलाई पो प्रभाव पार्छ कि भन्ने आशंका पैदा भएको छ। कि त्यो आशंका गलत हो ?

यो महिनाभित्र क्रियाशील सदस्यता टुंगो लगाउन सकिएन भने त आशंका त भइहाल्यो नि! यति जटिल नि क्रियाशील सदस्यको बारेमा, हरेक जिल्लामा केही न केही छ। भन्छन् ४६ जिल्लामा भइसक्यो।

त्यसमा पनि उजुरीहरू आएको छ, त्यसलाई पनि हेर्नुपर्यो। तसर्थ अहिलेको अवस्थामा भन्न सकिँदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुँदैन। प्रश्न चिन्ह चाहिँ छ। तर हाम्रो ध्यान त्यतैतिर गएको छ। र हामी क्रियाशील सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौँ।

अहिले संस्थापक नेताका तीनजना पुत्र नेताहरुको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन्। अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रीत गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन्। खासमा के हो?

खासमा विमलेन्द्र निधिले नै इनिसियट गरेको हो। सबैभन्दा पहिले उहाँको बैबाहिक सम्बन्धको ३५ बर्ष भएको थियो। त्यो दिन प्रकाशमान सिंह र मलाई बोलाउनुभयो। दोश्रो पटक मेरैमा मिटिङ गर्यौं र तेश्रो पल्ट प्रकाशमान जीको मा।

हाम्रो भनाई के थियो भने, हामी पनि एकै ठाउँमा उभिनुपर्यो। सभापतिका लागि हामी ३ जना मध्ये कोही लड्छ भने ठिकै भयो। हामी मध्ये एकता हुनुपर्यो भन्ने कुरा आयो। यसमा धेरै कुराहरु उत्पन्न छन्।

कि विमलेन्द्र निधिले शेर बहादुरजीलाई छाड्नुभयो भने पनि संकेत देखिन्छ। दोश्रो कुरा हामी तिनै जना मध्ये एकजना लड्ने, तर त्यतिले पुग्दैन। रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ, प्रकाशमान र म त छँदै छु। विमलेन्द्र निधि हुनुहुन्छ।

मैले के भनेँ भने, हामी तीन जनाबाट ५ जना गरौं, ५ जनाबाट ७ जना गरौं, ताकि हामी एउटै सुत्रमा बाँधिन सकौँ भन्ने धारणा हाम्रो थियो। तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन।

हामी तीनजना एक ठाउँमा उभियौ भने वेभ पनि आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ विमलेन्द्र निधिले। राम्रो पनि भयो। नकारात्मक पक्षहरू पनि छन् तर त्यो भन्दा भन्दै पनि हामीले तीनैजना एकै ठाउँमा (नेता पुत्रहरु) एकै ठाउँमा उभियो भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत चाहिँ प्रष्टै रुपमा दिएको छ।

मुलुकको राजनीतिक अवस्था प्रतिकुल भएकाले नेतृत्व परिवर्तन नगरौं भन्ने आवाज पनि छ, फेरि यता नेतृत्व परिवर्तनका लागि तपाईंहरुको पहल पनि भईरहेको छ। ठ्याक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको ?

समय त आएको छ। मेरो भनाई के हो भने। अधिवेशन आउँदै छ। हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ। किनभने हाम्रो दुर्दशा भएको छ अहिलेको अवस्थामा।

यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौं। कसरी हुन्छ परिर्वतन ? कसले गर्छ परिवर्तन ? त्यो प्रश्न त आजसम्म यथावत नै छ। तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुँदै समूहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने संभावना हुन्छ।

त्यसले पार्टीलाई  पनि मजबुत पार्छ। एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेदवार भयो भने हामी सजिलैसँग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो।

तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ, कि त व्यवस्थापन गर्न पर्यो, कि त तिनै जना लड्नुपर्यो। व्यवस्थापन गर्न सकिन्छ ? कुनै उपायहरु छन् ?

यो त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ। होइन भने त तीनै जनाले लड्नुपर्यो। वार्तामा बसेर कुनै टुंगोमा त पुराउनुपर्यो नि ! हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं भनेर त एकजना मात्रै उभिनु पर्यो नि!

तीनै जना उभियौँ भने त फेरि परिर्वतन हुँदैन। त्यसैले हामी तीन जनाले यति चाहिँ के भन्नुपर्यो भने हामी मध्ये एक जना उभियौँ भने चाहिँ सजिलोसँग हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ भन्ने मलाई लागेको छ।

अनि त्यो समयमा रामचन्द्र र शेर बहादुर जीको व्यवस्थापन कसरी गर्नुहुन्छ  ?

शेरबहादुरजीको त धेरै उमेर पनि भइसक्यो। रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ। उहाँको राजनीति धेरै उतारचढाव भयो। तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रुपमा लिनुपर्ने हो ठाउँ तर उहाँ पनि प्रत्यासी त हुनुहुन्छ। उहाँलाई हामीले सम्झाउन सक्नुपर्यो कि तपाई अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस्।

मलाई लाग्छ शेरबहादुरजीको पनि त्यही नै अवस्था देखिन्छ। धेरै बुढो भइसक्नुभयो। उहाँहरु कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरु आफैं लड्ने विचार गर्दै हुनुहुन्छ। यसरी चाहिँ अप्ठयारो हुन्छ।

अहिले महामन्त्री हुनुहुन्छ, तपाईको आफ्नो तयारी कस्तो छ ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ ?

सबैभन्दा पहिले त मैले देशभरिका कांग्रेस कार्यकर्ताहरुसँग भेटघाट गरिरहेको छु। उनीहरुको राय, सल्लाह, सुझाव एउटा त्यो भयो। दोश्रो कुरा नेताहरुबीचमा पनि संवाद हुनु जरुरी छ।

हुन त कुरा भईरहेको छ नभएको होइन। शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्रजीसंग पनि कुरा त भईरहेको छ। हामी यही आधारमा अगाडि बढ्यौं भने हामी एउटा टुंगोमा पुग्छौं। म हुन्छु वा को हुन्छ। जो सुकै होस् एकजना उभिनुपर्दछ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो।

आफ्नो कार्यकालमा शशांक कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, जुन बेला नबोल्नुपर्ने थियो धर्मनिरपेक्षता लगायतका विषयमा त्यसबेला बोले भन्ने आरोप छ नि ?

म भन्न चाहन्छु,एउटा त शेरबहादुरजी हाम्रो सभापति हाम्रो यत्रो हार भयो चुनावमा हारेकाले उहाँलाई विरोध गरेँ। म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेण्ड गरें। मैले के भनेँ भने उहाँको मात्रै गल्ति होइन। हामी पनि पदाधिकारीहरु हौ। हाम्रो पनि उत्तिकै गल्ती हो।

मैले ढाल बने शेरबहादुरजीको। मैले उहाँलाई धेरै सेभ गरेको हो र मैले नै विरोध गरिदिएको भए त पार्टी एक त छिन्नभिन्न छन् झन बिग्रेर जान सक्ने अवस्था देखेर मैले उहाँलाई प्रोटेक्ट गरेको हुँ। नत्र त मैले पनि त बोल्न सक्थेँ नि।

तपाईले भन्नुभयो किन बोलिनस् भनेर ? त्यही उत्तर म तपाईँलाई दिँदै छु। मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपर्थ्यो। विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टी भित्र ? त्यो हिसाबले मैले नबोलेको।  

तर पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहिँ ? एक पटक होइन तीन-तीन पटक धर्मको बारेमा बोलिदिनुभयो। 

हाम्रो संविधान बन्दै थियो। त्यो बेला मैले सुशीलदा लाई भनेँ ‘हेर्नुहोस् सुशील दा, यो वीपी कोइरालाले बनाएको पार्टी यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो।

तपाईले धर्मनिरपेक्षता किन गर्दैहुनुहन्छ ? उहाँ हतारमा हुनुहुन्थ्यो। ५ ,७ दिन मात्रै बाँकी थियो। उहाँले भन्नुभयो ‘यो प्रेसर छ मलाई के गर्छस्। पछि यो चेञ्ज गरौंला ’। त्यो भनिसकेपछि  मैले बोल्ने कुरा आएन। किनभने संविधान नै दिनुभएन भने त सुशील कोइराला पनि फेलियर भएर जानुहुन्छ।

उहाँले अन्तमा संविधान दिन त सफल हुनुभयो नि। यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि। त्यो उपलब्धि पनि जान सक्ने संभावना देखेँ। त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई।

सभापतिको उम्मेदवारी दिँदै गर्दा यहाँका मुद्दाहरु के-के हुनेछन् ?

सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ। हाम्रो धरासायी हुने प्रथम कारण के हो भने टुक्रा टुक्रा भएको, गुट उपगुटहरूले ध्वस्त पारेको छ। सभापति आजको मितिमा पनि तेरो मान्छे, मेरो मान्छे भन्नुहुन्छ।

उहाँ  त सबैको सभापति हो नि! उहाँले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँ नै सफल सभापति हुनुहुन्थ्यो तर उहाँले आजको मितिसम्म ‘उसको मान्छे ,मेरो मान्छे’ भन्नुहुन्छ। म के चाहन्छु भने पार्टीलाई एक बनाऔँ।

पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन। वीपी कोइरालाले सभापतीय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरु चाहिँ मनोनित हुनुपर्छ किनभने प्रेसिडेन्सियल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनुपर्यो तर ऊ आइसकेपछि उसले आफ्नो  शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्यो।

यस्तै गरेर उसको पार्टीप्रतिको पकड बलियो हुनुपर्यो। सबैले लडेर हुँदैन। अधिवेशन भइसकेपछि महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु।

शासकीय स्वरूपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ। यसमा तपाईको टिप्पणी के छ ?

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै बर्षदेखि उठिरहेको छ। म चाहिँ वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु। पहिले दलको नेता हुन्छ। हाउसमा आफ्नो बहुमत ल्याउँछ। त्यही अनुसार हामी जानुपर्छ। प्रेसिडेन्सियल सिस्टम, डाइरेक्ट चुनाव प्रेसिडेन्टको , त्यो हाम्रो लागि राम्रो हुँदैन।

अन्त्यमा, अब महाधिवेशनकै प्रसंग, क्रियाशील सदस्यको छिनोफानो, उम्मेदवारको लगायत टुंगो लागेर महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला ?

सबैभन्दा पहिला त क्रियाशील सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनु पर्छ। त्यसमा हामी लागिरहेका पनि छौं। समिति बनाएर जिम्मा पनि लगाएका छौं। अरु पार्टीबाट आएका पनि समावेश हुनुपर्यो।

बिजय गच्छदारको पार्टी, सुनिल थापाजीको पार्टीको क्रियाशीलहरू पनि समावेश हुनुपर्यो र त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्यो। मलाई लाग्छ यो शिघ्र नै सम्पन्न हुन्छ। त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.