सहजपुर–बोगटान सडकको ४१ प्रतिशत मात्रै प्रगति !

|

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना सहजपुर– बोगटान सडकको २०७५ साल फागुन ७ गते डोटीको विपीनगरमा  शिलान्यास गरे। उनले शिलान्यास गर्दै निर्धारित समयमै सडक निर्माणको कामले पूर्णता पाउने दाबीसमेत गरेका थिए।

‘आज शिलान्यास भएको छ, भोलि नै पिच हुन्छ भनेर नसोच्नु होला। भोलिदेखि धुलो उड्यो भने प्रधानमन्त्रीले शिलान्यास गरेको सडकमा धुलो उड्यो भनेर आलोचना नगर्नु होला। ३० महिनाभित्र पिच भइसक्छ, अनि सररर गुड्छ गाडी। ३० महिना पर्खिनुहोला।’  यो फागुन ७ गते डोटीको विपीनगरमा सहजपुर–बोगटान सडकको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषणको अंश हो यो।

शिलान्यासको क्रममा प्रधानमन्त्री ओलीले तोकिएको समयमै कालोपत्रे सम्पन्न हुने ठोकुवा नै गरेका थिए। तर, ठेक्का सम्झौता भएको ३० महिना अर्थात् तोकिएको समयमा ४१ प्रतिशत मात्रै प्रगति भएको छ।

सहजपुर–बोगटान सडकखण्डअन्तर्गत सहजपुरदेखि विपीनगर हुँदै बोगटानसम्म ५० किलोमिटरको सडक कालोपत्रे गर्ने सम्झौता अवधि यही असारमा सकिएको छ। तर तीन किलोमिटर मात्र हाफ पिच भएको छ। २ अर्ब २५ करोडमा ठेक्का सम्झौता भएको सो सडकखण्डको काम रूख कटानीमा ढिलाई हुँदा प्रभावित भएको निर्माण कम्पनी पिआरएल कुमार जेभीले बताएको छ।

२७ किलोमिटर खण्डमा पर्ने ३ हजार ३ सय रुख कटानीको काम भने अहिले सम्पन्न भइसकेको छ। पीआरएल कुमार जेभीका कन्ट्र्याक्ट म्यानेजर तेजराज भट्टले रूख कटानीमा ढिलाई, कोरोना महामारी र वर्षाले काम प्रभावित भएको बताए। ’काम सुरू गरेको ३० महिनामध्ये २८ महिनासम्म रूख कटानीको निर्णय नै भएन। जसका कारण ढिलाइ भएको हो,’ उनले भने, ’अहिले रूख कटानको काम सम्पन्न गरी वन कार्यालय र उपभोक्ता समितिलाई बुझाएका छौँ। अब स्पिडमा काम हुन्छ।’ ३० महिनाको समयावधिमा काम सम्पन्न नभएपछि ६ महिना म्याद थप गरिएको छ।

रूख कटानीको आदेश नपाउँदा २८ महिना काम गर्न नसकिएको भन्दै निर्माण कम्पनीले थप तीन महिना म्याद मागेको योजना कार्यालयले बताएको छ। हुन त सहजपुर–बोगटान सडकको काम झण्डै चार दशकदेखि सुरू भएको थियो। चार दशकपछि कालोपत्रेका लागि ठेक्का सम्झौता भएकोमा निर्धारित समयमा तीन किलोमिटर मात्र सडक कालोपत्रे भएको छ। १० किलोमिटर सडकमा बेस लेवलको काम सकिएको सहजपुर–बोगटान सडक योजना कार्यालयले जनाएको छ।

यस्तै, कैलालीतर्फको जङ्गल क्षेत्रमा सडक चौडा गर्ने काम सम्पन्न भएको छ भने,  डोटीतर्फको जङ्गलमा सडक चौडा गर्ने र वाल लगाउने काम भइरहेको छ। सहजपुर–बोगटान सडक योजना कार्यालयका प्रमुख उज्वल श्रेष्ठले सहजपुर–बोगटान सडकअन्तर्गत थप ३६ किलोमिटर सडक डिजाइनको काम भइरहेको बताए।

’अहिले ५० किलोमिटरको काम जारी छ,’ उनले भने, ’थप ३६ किलोमिटर सडक डिजाइनको काम सम्पन्न भएको छ। यी सडकखण्डको काम सम्पन्न भएपछि थप ट्र्याकको लागि अध्ययन गरिनेछ।’

सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै बोगटान गाउँपालिकाको सिमचौर भएर दिपायल जोड्ने यो सडकको २०४२ सालमा पहिलो पटक शिलान्यास गरिएको थियो। २०७५ फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सडकको दोस्रो पटक शिलान्यास गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.