|

धनकुटा : पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ। यसै क्रममा साँगुरीगढी गाउँपालिका ३ कुशेटारका २१ परिवारले सामूहिक बाख्रापालन गरिरहेका छन्। 

पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका उनीहरुले अहिले सामूहिक रुपमा उन्नत जातका बाख्रापालन गरिरहेका छन्। २१ घरपरिवारले भिन्दाभिन्दै कृषि फर्म दर्ता गरेर उन्नत जातका बाख्रापालन गरिरहे पनि ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन्। 

बाख्रापालन व्यवसायमा अधिकांश युवा छन्। वैदेशिक रोजगारबाट फर्केका उनीहरुले विदेशमा भन्दा बाख्रापालनमा राम्रो कमाइ भइरहेको बताएका छन्। कुशेटारका देवी नेम्बाङ आजकाल प्रायः बाख्राको खोरमै भेटिन्छन्। बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो। उनीसहित गाउँका २१ परिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ नामको सामूहिक बाख्रा समूह खोलेपछि उनीहरुको दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ। नेम्बाङको खोरमा ६० वटाभन्दा बढी बाख्रा छन्। गाउँमै व्यावसायिक बन्न बाख्रापालन रोजेको उनी बताउँछन्।

चितवन र मकवानपुरबाट उन्नत बोयर जातका बाख्रा खरिद गरेर ल्याएको नेम्बाङले जानकारी दिए। बाख्रापालनका लागि उनले ६० लाख रुपैयाँ भन्दा बढी लगानी गरिसकेका छन्। २२ वर्षसम्म शिक्षक पेशामा आवद्ध नेम्बाङले माछापालन, लेयर्स कुखुरा र सुँगुर पालन पालन पनि गरेको बताउँछन्। माछापालन र सुँगुर पालन व्यवसायमा सोचेजस्तो आम्दानी नभएपछि बाख्रापालनमा लागेको उनले बताए।

६ वर्ष अगाडि शुरु गरेको बाख्रापालनकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको नेम्बाङले बताए। उनको गोठमा खरी, जमुनापारी, बोयर बाख्रा पालन गरिरहेको बताउँछन्। ‘बाख्रापालनबाट परिणाम आइसक्ने बेला भएको छैन’, नेम्बाङले भने, ‘२१ घरमा बाख्रा पालन गरिरहेका छौँ, समूहमा मिलेर काम गरेका छौँ। राम्रो परिणाम आउनेमा विश्वस्त छौँ।’ नेम्बाङले युवापुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए। 

कुशेटारकै ४३ वर्षीय अशोक याक्खाको फर्ममा अहिले ४० वटा बाख्रा छन्। उनी बाख्रापालनमा लागेको सात वर्ष भयो। रोजगारीको सिलसिलामा नौ वर्ष मलेसिया र डेढ वर्ष बहराइन बसेका उनले गाउँ फर्किएपछि सुँगुरपालन गरेका थिए। त्यसपछि बाख्रापालन गरे। बाख्रापालनका लागि चार रोपनी जग्गामा घाँस खेती गरिरहेका छन्। बाख्रापालनबाट वार्षिक साढे पाँच लाख रुपैयाँभन्दा बढी कमाइ भइरहेको याक्खाले बताए। उनले बाख्रापालनका लागि खोरमा मात्रै तीन लाख रुपैयाँ लगानी गरेको बताए। आफ्नै ठाउँमा बसेर केही गर्दा आनन्द आउने उनको भनाइ छ।

‘विदेशमा अर्काको अधीनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ,’ याक्खाले भने, ‘अब यही पेशालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो। घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्ने रहेनछर आफूसँग भएको ज्ञान र सीपलाई राम्रोसँग प्रयोग गर्नुपर्ने रहेछ।’

कुशेटारमा बाख्रा पालनका लागि ठाउँ पनि उपयुक्त भएकोले त्यहाँका मानिसले यो पेशा रोजेका हुन्। पुर्ख्यौली रुपमा बाख्रापालन गर्दै आएका यहाँका किसान व्यवसायिक बनेका छन्। २१ परिवारले प्रतिपरिवार मासिक ५० हजारदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गरिरहेको समूहका अध्यक्ष झप्टमान अधिकारी बनाउँछन्। उनले विदेश जानेलाई रोक्न सकिन्छ कि भन्ने हेतुले समूहमा बाख्रापालन सुरु गरेको र सरकारी अनुदानभन्दा आफैँ सक्षम बन्ने तर्फ लागेको बताए। अहिले २१ घरको बाख्रा फर्ममा करिब एक हजार वटा बाख्रा छन्।

कुशेटारका केही युवा विदेश जाने सोचलाई त्यागेर र विदेशबाट फर्केर बाख्रापालनमा लागेको अध्यक्ष अधिकारी बताउँछन्। ‘केही युवा विदेश जाने सोच त्यागेर बाख्रापालनमा लागेका छन्,’ अधिकारीले भने, ‘आर्थिक अवस्था कमजोर भएकालाई समूहका एक सदस्यबाट १० देखि १५ हजार रुपैयाँ सहयोग गरेर खोर बनाउने काममा सहयोग गर्दै आएका छौं।’

कुशेटारका बाख्रा फार्ममा अहिले तीन लाख रुपैयाँसम्म पर्ने बोयर बोका छ। ‘यहाँको कमाइले हरेक सदस्य पूर्णरुपमा सन्तुष्ट भएको पाएको छु,’ अधिकारीले भने, ‘आम्दानीलाई दोब्बर बनाउने गरी थप काम गर्ने तयारीमा रहेका छौँ।’ २१ घरले बाख्रापालनका लागि करिब दुई करोड रुपैयाँ लगानी गरेको उनले बताए। बाख्रापालनका लागि यस आर्थिक वर्षमा साँगुरीगढी गाउँपालिकाले समूहलाई १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.