पतचाः फहराउँदै बुसादाँ मनाइयो

|

भक्तपुर : विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिर बनाइएको ३२० वर्ष पुगेको अवसरमा आइतबार पतचाः(झण्डा) फहराएर बुसादाँ पर्व मनाइएको छ। प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन ङातापोल्हँको बुसादाँ पर्व मनाइने परम्परा रहेको छ।

बुसादाँ गर्नुअघि मन्दिरभित्र पतचाःलाई राखेर आचाजु, जोशी, राजोपाध्य र ताल्चाभडेल पुजारीहरूले विधिवत रुपमा पूजा गरी बोका बलि दिइन्छ। पूजापछि सबै पुजारीहरूले समेबजी खाइ पतचाः लाई भक्तपुर तुछिमलाका अवाल समुदायलाई हस्तान्तरण गरिदिन्छन्‌। 

मन्दिरमा पतचाः फहराइनका लागि तुछिमलाको अवालबाहेक अरूलाई मन्दिरमाथि प्रवेश नदिने परम्परा रहिआएको छ। प्रत्येक वर्ष झैं यो वर्ष पनि करिब एक दर्जन अवालहरू मन्दिरमाथि गएर पतचाः फहराएका थिए। साथै, पतचाःलाई गजुरको चार कुनामा बसेर बाँधेका थिए।

करिब ३० फिट हाँगा सहितको बाँसमा ६६ इन्च लम्बाइ र ४४ इन्च चौडाइको कपडाको पतचाः फहराइएको थियो। 

नेपाल सम्बत ८२२ मा राजा भुपतेन्द्र मल्लले असार शुक्लपक्ष प्रतिपदाका दिन पहिलो वर्षको बुसादाँ पूजा शुरू गरी पतचाः फहराएको इतिहासमा उल्लेख छ।

ङातापोल्हँ नेपाली वास्तुकलाको अनुपम उदाहरण भएको मन्दिर हो। यो मन्दिरको उचाइ करिब १०८ फुट छ । मन्दिरको गर्भगृहमा सिद्धीलक्ष्मीको मूर्ति छ। यो मन्दिर दशैँका बेलामा मात्र खुल्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.