०४८ यताका संसदीय निर्वाचनमा अपराजित नेता

|

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौंपटक देशको प्रधानमन्त्री बन्ने भएका छन्। सर्वोच्च अदालतले परमादेश जारीपछि सभापति देउवालाई प्रधानमन्त्री बन्ने पक्का भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रोपटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो।

अदालतले नेपालको संविधानको धारा ७६(५) अनुसार दुई देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।

सर्वोच्चले देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न भनेको छ। अर्थात् फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ। अदालतले साउन ३ गते बेलुका ५ बजेसम्म संसद् बैठक बोलाउन समेत आदेश दिएको छ।

पटक-पटक गरी ९ वर्ष जेल

शेरबहादुर देउवा विस २००३ जेठ ३१ गते डडेल्धुराको साबिक असिग्राम गाविस–५ र हालको गन्यापधुरा गाउँपालिका–१ मा जन्मिएका हुन्।

उनले प्राथमिक शिक्षा गाउँकै असिग्राम प्राथमिक विद्यालय र एलएसली सीताराम मावि डोटीबाट पूरा गरेका हुन्। देउवा २०२० सालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय भए। उनी बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा लागेका हुन्।

देउवाले स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालेका थिए।​ एलएसलीपछि देउवा उच्च शिक्षाको लागि भारत नगई ०२१ मा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भए।

यसपछि उनी नेविसंघभित्र राजनीतिमा सक्रिय भए। यसक्रममा उनी विभिन्न समयमा पटक-पटक पक्राउसमेत परे। विद्यार्थी जीवनमा देउवाले निडर र निर्भिक स्वभावका थिए।

नेविसंघमा सक्रिय भएर काम गरिरहेका देउवा विसं २०२८ सालमा पहिलोपटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए। नेविसंघको नेतृत्वमा आएपछि उनले आफ्नो राजनीतिलाई झन् सशक्त रूपमा अगाडि बढाए। राजनीतिका सिलसिलामा देउवाले पटक–पटक गरी करिब ९ वर्ष जेलजीवन बिताएका छन्।

विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बिपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाए। त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेल्धुरा पुगेका थिए।

जब ०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाइ गर्‍यो त्यतिबेला देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गरिरहेका थिए। त्यसपछि ०४७ मा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं आए।

०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बने। गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बने।

राजनीतिको धेरै उतारचढाव खेपेका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले कृष्णप्रसाद भट्टराई (किशुनजी) र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाएका थिए।

देउवा २७ भदौ २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौँ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिए। ०५७ मा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापति पदमा उम्मेदवारी दिएका थिए तर उनी पराजित भए।

पहिलोपटक प्रधानमन्त्री बनेको ६ वर्षपछि ०५८ साउन ११ मा देउवा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। दोस्रो पटक प्रधानमन्त्री बनेपछि भने देउवाको जीवनमा धेरै उतारचढाव आएका छन्।

माओवादी सशस्त्र द्वन्द्व (जनयुद्ध) उत्कर्षमा पुगेका बेला संकटकाल लम्ब्याउने विषयमा निर्णय गरेको भन्दै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ०५९ जेठ १९ मा प्रधानमन्त्री भएकै बेला देउवालाई साधारण सदस्यताबाटसमेत निकालिदिए।

कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो भने एमालेले ५७ दिनसम्मको संसद् घेराउ गरेको थियो। जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले ०५८ असारमा राजीनामा दिएका थिए।

यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उनले पुनः कांग्रेस संसदीय दलको उम्मेदवार बन्‍ने मौका पाए। उनी सुशील कोइरालालाई हराएर नेता बनेका थिए। संसदमा पार्टीको बहुमत भएकाले उनी दोस्रोपटक प्रधानमन्त्री बने।

दलहरूले निरन्तर आन्दोलन गरेपछि ०६१ साल जेठ २९ मा राजाले पुनः देउवालाई तेस्रोपटक प्रधानमन्त्री बनाए। तर, तेस्रो पटकको प्रधानमन्त्री काल ८ महिनाभन्दा अघि बढ्न सकेन।

राजनीतिक घटना सँगसँगै विंस ०६१ माघ १९ गते ज्ञानेन्द्रले ‘शाही कू’ मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए। त्यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्रविरुद्ध जनआन्दोलनको तयारीमा थिए।

संसद् पुन: स्थापनापछि गिरिजाप्रसाद पुनः एकपटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आए। त्यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किए।

०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भए। २३ जेठ ०७४ मा देउवा चौथोपटक प्रधानमन्त्रीमा निर्वाचत भए। देउवा ०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट निर्वाचत भएका थिए।

०४८ देखि लगातार विजयी

०४८ देखिका संसदीय निर्वाचनमा अपराजित रहँदै आएका छन्। विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भए।

०६४ र ०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर ४ र कैलाली ६ बाटसमेत विजयी भए।

डडेल्धुरामा देउवाले ०७४ मा छैटौंपटक चुनाव जितेका हुन्। उनले ०४८ सालयताका सबै चुनाव जितेका छन्। देउवा नेतृत्वको सरकारले ०७४ मा स्थानीय तह, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको थियो।

देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्। देउवाले लण्डन स्कुल अफ इकोनोमिक्सबाट राजनीतिशास्त्र र त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेका छन्।

०७२ फागुनदेखि नेपाली कांग्रेसको सभापति रहेका देउवा नेपाल विद्यार्थी संघका संस्थापक सदस्य र पूर्व-सभापतिसमेत हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.